लाखौँ कार्यकर्ता र ठूलो जनमत हुँदा पनि पार्टी जीवनहीन भयो: प्रचण्ड

प्रचण्ड

काठमाडौँ– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले आशा जगाउन नसकेको गुनासो गरेका छन्।

सहाना प्रधान स्मृति प्रतिष्ठानले छैठौँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीसँगै लाखौँ कार्यकर्ता, जनमत र सरकार हुँदा पनि अपेक्षाकृत रुपमा आशाको सञ्चार गराउन नसकिएको बताएका हुन्।

जमुमार्फत गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भने, ‘पार्टी सरकारमा छ, लाखौँ कार्यकर्ता छन्, यति ठूलो जनमत पाएका छौँ। तर पनि पार्टी जीवन हराए जस्तो, ऊर्जा नभए जस्तो भविष्यप्रतिको आशा हराए जस्तो भएको छ।’

उनले केही नयाँ गर्न खोज्दा नमिले जस्तो, भन्न खोजेको कुरा बुझाउन नसके जस्तो भएको गुनासो गरे। नेपाली कम्युनिष्ट आन्दोलनको एक शिखर व्यक्तिका रुपमा सहाना प्रधान रहेको उल्लेख गर्दै उनले पार्टी र देशलाई गति दिन युवाहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।

प्रधानले असज परिस्थितमा पनि आन्दोलनलाई कठिनतापूर्वक ढंगले अघि बढाएको स्मरण गरे। आफू मदन भण्डारी र सहाना प्रधानले युवा अवस्थामा नै कम्युनिष्ट आन्दोलनलाई गति दिएको उनको दाबी थियो।

‘कम्युनिष्ट आन्दोलन आफैंमा युवा आन्दोलन हो। युवाहरुको पालो आयो, युवाले गरिरहेको कामबारे हामीले हेरिरहेका छौँ, तपाईंहरु अघि बढ्नुहोस्’, दाहालले भने।

उनले पार्टीमा विवाद हुनु सामान्य कुरा भएको उल्लेख गरे। विवादबाट नै गतिशिलता जन्मिने उल्लेख गर्दै उनले नेकपामा पछिल्लो समय भएको वादविवाद पनि त्यसकै कडी भएको बताए। उनले भने, ‘विवाद क्लाइमेक्समा पुगेपनि त्यसले गतिशिलता नै प्रदान गरिरहेको हुन्छ।’

दाहालले अब नेकपा पछाडि फर्किन नसक्ने ठोकुवा गरे। जडसुत्रताबाट अझै पनि केही नेता बाहिर निस्कन नसकेको उनको विश्लेषण थियो।

‘अब नेकपा पछाडि फर्किन सक्दैन। केही साथीहरुमा नयाँ पनि केही छैन, मौलिकता केही देखिन्न। व्याख्या त गर्नुहुन्छ तर, व्यवहारिकता छैन, उहाँहरु देख्दा माया पनि लाग्छ’, प्रचण्डले भने।

असोज ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्