वेष्ट ह्यामका प्रशिक्षकसहित दुई खेलाडीमा कोरोना संक्रमण

इंग्लिस प्रिमियर लिग क्लब वेष्ट ह्याम युनाइटेडका प्रशिक्षक डेविड मोयज र टिमका दुई खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

लिग कप फुटबल अन्तर्गत मंगलबार रातिको हल सिटीसँगको खेलको तयारी गरिरहेका बेला संक्रमण पुष्टि भएको बारे जानकारी गराइएको थियो । सो खेलमा वेष्ट ह्याम ५–१ ले विजयी भएर चौथो चरणमा प्रवेश गरेको छ ।

५७ वर्षका मोयज तथा २३ वर्षका डिफेन्डर इसा डिओप र २४ वर्षका मिडफिल्डर जोश कुलेन संक्रमित भएका हुन् । उनीहरु तीनैजना हाल सेल्फ आइसोलेशनमा गएका छन् ।

संक्रमण पुष्टि भए लगत्तै प्रशिक्षक तथा खेलाडी रंगशालाबाट बाहिरिएर घर गएको क्लबले जनाएको छ।

तीनैजनामा कुनै पनि लक्षण देखिएको थिएन । प्रशिक्षक मोयजको अनुपस्थितिमा एलन इरविनले जिम्मेवारी सम्हालेका छन् ।

असोज ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्