३९ वर्षीय युवाको कोरोना संक्रमणका कारण मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा बर्दिया जिल्लाका ३९ वर्षीय कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, बर्दिया बारबर्दिया नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनको दुवै फोक्सोमा निमोनिया थियो । स्वास्थ्यमा समस्या भएपछि भदौ २९ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । त्यही दिन कोरोना परीक्षण गर्दा ३० गते पोजिटिभ रिपोर्ट आएको थियो ।

ती व्यक्तिको आज (बुधबार) बिहान साढे दश बजे मृत्यु भयो । बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि अछाम, कैलाली, अर्घाखाँची र बर्दियाकै संक्रमितको मृत्यु भइसकेको छ । बाँके जिल्लाका ११ जनाको मृत्यु भएको छ ।

यसैबीच, बुधबार बाँकेमा ७३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा अदालत र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरु छन् ।

जिल्लामा अहिलेसम्म एक हजार तीन सय ३७ जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा तीन सय २६ जना बसिरहेका छन् ।

जिल्लामा एक हजार ६ सय ७४ जनालाई कोरोना लागेको छ ।

असोज ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्