खोप सुविधा पनि पाउँदैनन् उपल्लो डोल्पाली

जाजरकोट– शहर र सुविधासम्पन्न ठाउँका बालबालिकाले बाह्रै महिना खोप पाए पनि उपल्लो डोल्पाका बालबालिकाले भने ६ महिना पनि मुस्किलले खोप सेवा पाउने गरेका छन्।

भौगोलिक विकटता र अत्यधिक चिसोका कारण उपल्लो डोल्पाका चार स्थानीय तहका बालबालिका ६ महिना खोपबाट वञ्चित हुनुपरेको छ। वैशाखदेखि असोजसम्म मात्र उपल्लो डोल्पाका बालबालिकाले खोप सेवा पाउने गरेको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ।

गर्मी मौसममा मात्र खोप ढुवानी गर्न सकिने भएकाले ६ महिना मात्र खोप उपलब्ध गराउन सकिएको र चिसो मौसमका ६ महिना यसै रहने गरेको उक्त कार्यालयको भनाइ छ। उच्च भूगोल रहेको ठाउँमा चिसो मौसममा भारी हिमपात हुने भएकाले खोप ढुवानी कार्य नहुँदा उपल्लो डोल्पासम्म यो सेवा पुर्‍याउन नसकिएको हो।

हुने खानेहरु तल्लो डोल्पा तथा देशका अन्य ठाउँमा गएर पनि खोप लगाउने गर्छन् तर आर्थिक अवस्था कमजोर भएका सबैले खोप सेवा लिन नपाउने अवस्था उक्त रहेको कार्यालयको दाबी छ।

हेलिकप्टर बाहेक अन्य माध्यमबाट उपल्लो डोल्पामा खोप र अन्य औषधि पुर्‍याउन नसकिने स्वास्थ्य सेवा कार्यालय जनस्वास्थ्य शाखाका प्रमुख अमरसिंह शाहीले जानकारी दिए।

उपल्लो डोल्पामा स्वास्थ्य संस्थाको सङ्ख्यसमेत अत्यन्तै न्यून रहेको छ। भौगोलिक विकटतामाथि पनि मौसमी चुनौतीका कारण यहाँका स्थानीयवासी स्वास्थ्य सेवाबाट पनि वञ्चित भइरहेका छन्।

तीन स्थानीय तहमा बर्थिङ सेन्टर छैन


उपल्लो डोल्पाका तीन स्थानीय तहमा सुरक्षित सुत्केरी गराउनका लागि बर्थिङ सेन्टर नै नभएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ।

उच्च हिमाली क्षेत्रमा पर्ने फोक्सुण्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकामा बर्थिङ सेन्टर नै नभएको शाखा प्रमुख शाहीले जानकारी दिए।

त्यस्तै तल्लो र मध्य डोल्पाको ठूलीभेरी नगरपालिकामा दुई वटा, त्रिपुरासुन्दरी नगपालिकामा चार, काइके गाउँपालिकामा दुई, जगदुल्लामा दुई र मुड्केचुला तीनवटा बर्थिङ सेन्टर रहेका छन्। बर्थिङ सेन्टर भएको ठाउँमासमेत सुत्केरी सेवा लिनेको सङ्ख्य कम रहेको छ। उपकरण नहुँदा हातैले छामेर जाँच हुँदै आएको छ।

त्यस्तै शे फोक्सुण्डोमा तीन वटा स्वास्थ्य संस्था, डोल्पोबुद्ध गाउँपालिकामा दुई, छार्का ताङसोङमा दुई र काइके गाउँपालिकामा दुई वटा मात्र स्वास्थ्य संस्था रहेका छन्। प्राथमिक स्वास्थ्य केन्द्र भने डोल्पा जिल्लाभरि नै नरहेको स्वास्थ्यसेवा कार्यालयले जनाएको छ।

उपल्लो डोल्पाभन्दा तल्लो र मध्य डोल्पामा स्वास्थ्य संस्थाको सङ्ख्य बढी रहेको छ। त्रिपुरासुन्दरी नगरपालिकामा पाँचवटा स्वास्थ्य संस्था, सदरमुकाम रहेको ठूलीभेरी नगरपालिकामा स्वास्थ्य सेवा कार्यालयसहित चार वटा, मुड्केचुला गाउँपालिकामा तीन, जगदुल्ला गाउँपालिकामा तीन वटा रहेका छन्।

आर्थिक वर्ष २०७६/७७ मा मुड्केचुला गाउँपालिकामा ८३ जना, त्रिपुरासुन्दरी नगरपालिकामा १३५ जना, ठूलीभेरी नगरपालिकामा १६८ जना काइके गाउँपालिकामा २३ जना र जगदुल्ला गाउँपालिकामा २२ जना महिला सुरक्षित रुपमा स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका स्वास्थ्य सेवा व्यवस्थापक सिजन रावलले जानकारी दिए। उपल्लो डोल्पामा स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने सङ्ख्य भने शून्य रहेको छ।

उपल्लो डोल्पाभन्दा तल्लो र मध्य डोल्पामा बढी स्वास्थ्य संस्था रहेका छन्। घरमै सुत्केरी हुने दर उपल्लो डोल्पामा शतप्रतिशत रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। आम्ची चिकित्सा विधिको भरमा मात्र सुत्केरी सेवा उपलब्ध हुँदै आएको छ।

अहिले पछिल्लो समयमा सुरक्षित मातृत्व नवराज शिशु तथा बाल स्वास्थ्य र परिवार नियोजना लागू भएदेखि केही सुधारका लागि पहल गर्न खोजिएको छ। यस वर्ष हवाई मार्गमार्फत १७ जना गर्भवतीको उद्धार गरिएको छ।

राष्ट्रपति उद्धार कोषमार्फत् सबै गर्भवतीको उद्धार भएको हो। उद्धार भएकामध्ये अधिकांश उपल्लो डोल्पामा रहेका छन्। पहुँच नहुने अधिकांश गर्भवती गाउँमै असुरक्षित रुपमा सुत्केरी हुन बाध्य हुने गरेको फोक्सुण्डो गाउँपालिका–३ का सीतार गुरुङले बताए।

अधिकांश सुत्केरी घरमै


डोल्पाका अधिकांश सुत्केरी घरमै असुरक्षित रुपमा सुत्केरी हुने गरेका छन्। पहुँचमा स्वास्थ्य संस्था नहुँदा घरमै सुत्केरी हुन बाध्य भएको स्वास्थ्यसेवा कार्यालय नै बताउँछन्। स्टेचरसमेत नभएका कारण डोकोमा बोकेर केहीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याएर सुत्केरी गराउने गरिएको स्थानीयवासी बताउँछन्।

धामी, झाँक्रीको विश्वासमा यहाँका अधिकांश गर्भवती स्वास्थ्य संस्था जान पनि मान्दैनन्। अर्कातर्फ गर्भवती अवस्थाका महिलालाई बोकेर स्वास्थ्य संस्थामा लैजान पनि समस्या हुने गरेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए।

नियमित गर्भजाँच गर्ने गर्भवतीको सङ्ख्यसमेत कम रहेको उनको भनाइ छ। बर्थिङ सेन्टरमासमेत आवश्यक उपकरणको अभावमा सबै सेवा दिन नसकेको स्वास्थ्यकर्मीको भनाइ छ।

उपल्लो डोल्पाका गाउँमा के भइरहेको छ भन्नेसम्म सदरमुकामस्थित दुनैमा महिना दिनपछि मात्र सूचना प्राप्त हुने गर्दछ। स्वास्थ्य संस्थामा सुत्केरीका लागि आउन आग्रह गरे पनि कसैले नमान्ने गरेको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङले बताए।

उपचारका लागि जडीबुटीकै भर


उपल्लो डोल्पामा गर्भवतीलाई सुत्केरी गराउनेदेखि अन्य रोगबाट बिरामी भएमा सबैलाई स्थानीय जडीबुटीबाट उपचार गरिँदै आएको छ। स्वास्थ्य संस्थामा पहुँच नहुँदा अधिकांश सर्वसाधारण जडीबुटीको माध्यमबाट स्थानीयवासीको उपचार गर्न बाध्य भएको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङ नै बताउँछन्।

उपल्लो डोल्पाका तीन वटा स्थानीय तहका सर्वसाधारण जडीबुटीकै भरमा उपचार गर्दै आएका स्थानीयवासी निकायका जनप्रतिनिधिको भनाइ छ।

६ महिना बन्द खोपहरु


क्षयरोगविरुद्धमा विसीजी, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बि, हेमोफिलस इन्फ्लुएन्जा बिको विरुद्धमा डिपिटी, हेप बी, हिब लगाउने गरिन्छ। यिलगायत आवश्यक सबै खालका खोप उपल्लो डोल्पामा ६ महिनासम्म लगाउन पाइँदैन।

उपल्लो डोल्पामा कति खोप लगाइन्छ र समयमा नै ती उपलब्ध नहुँदा के गरिन्छ भन्ने कुरा आफूसम्म कहिल्यै पनि तथ्याङ्क नआउने गरेको स्वास्थ्य कार्यालय डोल्पाका खोप स्रोत व्यक्ति टेकबहादुर गुरुङले जानकारी दिए।

‘मन लाग्यो भने स्थानीयवासी बच्चा लिएर खोप लिन आउँछन्, मन नलागे आउँदैनन्, यस्तै छ के गर्नु’, गुरुङले भने।

देखिन थाल्यो खोपको असर


उपल्लो डोल्पामा प्राणघातक रोग हेपाटाइटिस बिको समस्या बढ्दै गएको देखिएको छ। डोल्पोबुद्ध गाउँपालिकामा २०७६ असोज १३ गते गरिएको वृहत् स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका ३४३ मध्ये ७० लाई हेपाटाइटिस बी पोजेटिभ देखिएको स्वास्थ्यसेवा कार्यालय डोल्पाका चिकित्सक मेलिना हमालले जानकारी दिए।

शिविरमा जाँच गराएका ३० प्रतिशतमा हेपाटाइटिस बी पोजेटिभ देखिनु समस्या बढी नै भएको उनको भनाइ छ। बच्चा जन्मने वित्तिकै लगाइने हेपाटाइटिस बी विरुद्धको खोप नलगाइनुले पनि रोगको प्रकोप बढ्दै गएको स्वास्थ्यसेवा कार्यालय डोल्पाले जानकारी दिएको छ।

उपल्लो डोल्पाको धो गाउँमात्रै नभएर, साल्दाङ, भिजेर, छार्का, फोक्सुण्डोलगायतका गाउँका सर्वसाधारणलाई समेत सङ्क्रमण भएको पाइएको थियो।

विसं २०७६ माघमा उपल्लो डोल्पामा झाडापखाला फैलिँदा यहाँको स्थानीय बस्तीका नागरिक निकै नै हैरान भएका थिए। पछि बल्ल सदरमुकामबाट गएको टोलीले उपचार गर्दा समस्याको निदान भएको थियो।

बेलाबेलामा समस्य आए पनि सरोकारवाला निकाय गम्भीर नहुँदा समस्या भएको पीडितहरु बताउँछन्। कुन ठाउँमा के हुन्छ भन्ने कुरा सञ्चार असुविधाका कारण सबै कुरा सदरमुकामसम्म पनि आइपुग्दैनन्।

तर पछि ती प्रकोप या रोगले ग्रस्त भएपछि मात्र समाचार बाहिर आउने गर्छ। त्यसपछि जनशक्ति खटाइए पनि प्रकोपलाई समयमै नियन्त्रणमा लिन समस्यापर्ने गर्दछ।

असोज ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्