प्रदेश-२ का सामाजिक विकास मन्त्रीका छोरालाई भेन्टिलेटर अभाव भएपछि काठमाडौँ रिफर

जनकपुरधाम- कोरोना संक्रमण पुष्टि भएका प्रदेश-२ को सामाजिक विकास मन्त्रीका छोरालाई भेन्टिलेटरको अभावमा थप उपचारको लागि काठमाडौँ रेफर गर्न लागिएको छ।

सामाजिक विकास मन्त्री नवल किशोर साहका छोरा तथा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख समेत रहेका शैलेशकुमार साहलाई थप उपचारका लागि काठमाडौँ रेफर गर्न लागिएको हो।

मंगलबार कोरोना संक्रमणको पुष्टि भएको साहलाई जनकपुरधामस्थित कोभिड १९ अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। तर उनलाई भेन्टिलेटरको आवश्यकता पर्न सक्ने भएकोले उनलाई रिफर गर्न लागिएको छ।

नगरप्रमुख साहमा श्वास प्रश्वासको समस्या देखिएपछि काठमाडौँ रेफर गर्न लागिएको कोभिड १९ विशेष अस्पतालका फोकल पर्सन डा. रामदेव चौधरीलले बताए । उनका अनुसार नगर प्रमुख साहमा निमोनियाको समस्या समेत देखिएको छ ।

यहाँ भेन्टिलेटरको अभाव रहेकोले नगरप्रमुख साहलाई काठमाडौँस्थित हैम्स अस्पतालमा रेफर गर्न लागिएको उनले बताए।

‘अहिले नगर प्रमुख साहको अवस्था सामान्य छ तर भेन्टिलेटरको आवश्यक्ता पर्न सक्ने भएकोले उनलाई काठमाडौँ रेफर गर्न लागेका हौँ ।’ डा. चौधरीले बताए । नगरप्रमुख साहलाई काठमाडौँ लैजानका लागि भेन्टिलेटर सहितको एम्बुलेन्स मगाउन लागिएको छ।

नगर प्रमुख साहसंगै उनको ३२ वर्षीय चालकमा समेत कोरोना संक्रमणको पुष्टि भएको जनाइएको छ।

भेन्टिलेटरको अभावमा सामाजिक विकास मन्त्रीका छोरा समेत रहेको हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख साहलाई काठमाडौँ रेफर गर्न लागिएको छ तर केहि दिन पहिला मात्र मन्त्री साहले भेन्टिलेटर फेसन भएको सार्वजनिक रुपमा ब्यान दिएका थिए।

असोज ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्