सुदूरपश्चिमका थप ७९ जनामा कोरोना पुष्टि

धनगढी– बुधबार कैलालीका ३५ सहित सुदूरपश्चिम प्रदेशमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका सेती प्रादेशीक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा गरिएको परीक्षणमा थप ७९ जनामा संक्रमण पुष्टि भएको हो।

यी तीन वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा सात सय ५३ जनाको कोरोना परीक्षण गरिएको छ। सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा चार सय ३८ जनाको कोरोना परीक्षण गरिएकोमा ३६ जनामा संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर २ का ८ जना र धनगढी उप–महानगरपालिका वडा नम्वर १३ का ८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै धनगढीकै वडा नम्वर १, ३ र ५ का दुई/दुई जना, वडा नम्वर ४ , ११, १४ र १८ का एक/एक जनामा संक्रमण पुष्टि भएको छ।

कैलालीको गोदावरी नगरपालिकाका ८ जना, भजनीका एक र कञ्चनपुरको कृष्णपुरका एक जनामा पनि कोरोना पुष्टि भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बुधबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ४३ जनाको कोरोना परीक्षण भएकोमा ८ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार संक्रमण पुष्टि भएका ८ जना अछाम जिल्लाको तुर्माखाद गाउँपालिकाका हुन्।

यसैगरी जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ७२ जनाको कोरोना परीक्षण भएकोमा ३५ जनामा संक्रमण पुष्टि भएको छ। डोटीको आदर्श गाउँपालिकाका १३, दिपायल सिलगढीका चार, अछामको रामारोशनका १६ र मेल्लेखका दुई जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए।

असोज ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्