सीमामा हुने अपराध र कोरोना नियन्त्रणबारे नेपाल-भारतका सुरक्षा-अधिकारीबीच छलफल

मोरङ-कोराना महामारीसंगै सीमा क्षेत्रमा बढ्दो अपराध, तस्करी तथा लागु औषध ओसारपोसार लगायतका विषयमा भारत र नेपालका सुरक्षा अधिकारीबीच छलफल भएको छ।

भारतको जोगबनीस्थित भन्सार कार्यालयमा बुधबार दिउँसो करिब साढे दुई घण्टा दुवै राष्ट्रका सुरक्षा अधिकारीबीच बैठक भएको हो।

बैठकमा सहभागि मोरंग प्रहरीका प्रमुख सन्तोष खड्काले बैठकमा कारोनाको संक्रमण नियन्त्रण, सीमा अपराध, सीमा स्तम्भ, अवैध मुद्रा, लागुऔषध र मदिराको अवैध ओसारपसार, साना हतियारको कारोबार, मानव बेचबिखन, रोक्ने विषयमा छलफल भएको जानकारी दिए।

प्रहरी उपरीक्षक खड्काले दुवै देशका अधिकारीबीच मिलेर र सहकार्य गरेर अघि बढेमात्रै कोरोना नियन्त्रण सम्भव भएको निस्कर्ष बैठकबाट निस्किएको जानकारी दिए। उनका अनुसार दुवै राष्ट्रका सुरक्षा अधिकारीले सीमाको रेखदेख र सीमा स्तम्भको संरक्षणमा एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन्।

यससंगै बैठकमा सीमा क्षेत्रको पछिल्लो सुरक्षा अवस्था र चुनौतीका बारेमा पनि छलफल भएको थियो।बैठकमा भारतबाट नेपालतर्फ हुने विभिन्न तस्करी, हतियार र लागुऔषधको ओसारपसार नियन्त्रणमा सहयोग गर्न भारतीय सुरक्षा अधिकारीसँग आग्रह गरिएको थियो।

सोक्रममा भारतीय सुरक्षा अधिकारीहरुले नेपाली पक्षलाई भारततर्फ हुने न्यून गुणस्तरको र अवैध मदिरा ओसारपसार नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका थिए।

विहारमा मदिरा प्रतिबन्ध भएपनि भारतीय नागरिक मदिराका सेवन गर्न नेपाल पुग्ने र अवैध रुपमा मदिरा भारततर्फ ओसारपसार हुने गरेको भारतीय पक्षको भनाई छ।

बैठकमा भारतका तर्फबाट बिहारको पूर्णियाका डीआईजी विनोदकुमार, सीमा सुरक्षा बलका सञ्जयकुमार सारंगी, अररिया जिल्लाका एसपी हृदयकान्त लगायतको सहभागिता रहेको थियो।

नेपालका तर्फबाट प्रहरी प्रमुखहरु मोरङका एसपी सन्तोष खड्का, सुनसरीका कमल थापा, सशस्त्र प्रहरी बल मोरङका प्रमुख तीर्थ पौडेल सहभागी थिए।

असोज ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्