प्रदेश-१ का ६ सय शिक्षकलाई सूचना प्रविधि सम्बन्धि तालिम दिइने

मोरङ-प्रदेश-१ को सामाजिक विकास मन्त्रालयले ६ सयजना शिक्षकलाई पहिलो चरणमा सूचना प्रवीधि सम्बन्धी तालिम दिने भएको छ।

बुधबार कार्यक्रमका लागि सामाजिक विकास मन्त्रालय र झापाको अर्जुनधारा नगरपालिकाबीच सम्झौता भएको छ।

सम्झौतामा पहिलोचरणमा ६ वटा स्थानीय तहका एक-एक सय शिक्षकलाई तालिम दिनेगरि मन्त्रालयले कार्यक्रम अघि बढाएको हो।

सम्झौताका क्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले बदलिएको परिवेशसंगै शिक्षण क्षेत्र कक्षाकोठामा मात्र सिमीत नराखी सूचना प्रवीधिको उपयोग गरि बृहत रुपमा शिक्षा दिन आवश्यक भएको बताए।

प्रदेश सरकारको विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भइ शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा संवन्धि शिक्षकहरुमा क्षमता विकास तालिम सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ।

यसअघि मन्त्रालयले इलामको सुर्योदय नगरपालिका, झापाको मेचीनगर नगरपालिका, मोरंगको पथरीशनिश्चरे नगरपालिका, सुनसरीको इटहरी उपमहानगरपालिकासँग सम्झौता गरिसकेको छ।

त्यसैगरी बिहीबार उदयपुरको त्रियुगा नगरपालिकासँग सम्झौता हुने मन्त्रालयले जनाएको छ।

असोज ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्