नेरदल्याण्डसको नयाँ प्रशिक्षकमा अजाक्सका पूर्व प्रशिक्षक फ्र्यांक डी बोएर नियुक्त

अजाक्सका पूर्व प्रशिक्षक फ्र्यांक डी बोएर नेरदल्याण्डसको राष्ट्रिय टिमको नयाँ प्रशिक्षकमा नियुक्त भएका छन् ।

५० वर्षका फ्र्यांकले राष्ट्रिय टिमसँग दुई वर्षको सम्झौता गरेका छन् । नेदरल्याण्डस अब उनकै प्रशिक्षणमा सन् २०२२ को कतार विश्वकपमा सहभागी हुनेछ ।

अजाक्स तथा बार्सिलोनाका पूर्व डिफेन्टर फ्र्यांकले राष्ट्रिय टिमबाट ११२ खेलमा सहभागिता समेत जनाएका छन्।

उनले बार्सिलोनाका प्रशिक्षक बनेका रोनाल्ड कोएम्यानको स्थान लिने छन् । कोएम्यानले छोडेपछि नेदरल्याण्डसले उनलाई प्रशिक्षक बनाएको हो ।

उनी सन् २०१० देखि २०१६ सम्म अजाक्सको प्रशिक्षक रहँदा चारपटक टिमलाई डच लिगको उपाधि दिलाएका थिए।

उनले इन्टर मिलान र क्रिष्टल प्यालेसमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका छन्। त्यसपछि उनले सन् २०१८ देखि गएको जुलाईसम्म एमएलएस क्लब एट्लान्टा युनाइटेडको नेतृत्व गरेका थिए ।

असोज ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्