समुद्री किनारमा फसेका कम्तीमा ३८० ह्वेल मरे

तास्मेनियाको पश्चिम तटीय क्षेत्रमा फसेका ह्वेलहरु । तस्बिर : पार्क एण्ड वाइल्डलाइफ

अस्ट्रेलियाको तास्मेनियाको तटमा फसेका मध्ये कम्तीमा ३८० ह्वेल मरेका छन्।

अस्ट्रेलियाको इतिहासमै सबैभन्दा धेरै ह्वेल समूद्रको किनारमा फसेको घटनामा अहिलेसम्म ३८० वटा मरेका पुष्टि भएको अधिकारीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

गएको सोमबार तास्मेनियाको पश्चिमी तटीय क्षेत्रमा सयौँ ह्वेल फसेको थाहा भएको थियो । उद्धारकर्मीले अहिलेसम्म ७० वटा ह्वेललाई बचाउन सफल भएका छन् ।

तटीय क्षेत्रमा अझै करिब २० वटा ह्वेल फसेको र उनीहरुलाई उद्धार गर्ने प्रयासमा भइरहेको अस्ट्रेलियाका सञ्चारमाध्यमले जनाएका छन् । ह्वेलहरु जीवित रहेसम्म नै उद्धारको प्रयास जारी रहने तास्मेनिया सरकारले जनाएको छ ।

उद्धारकर्मीले कठिन प्रयास गरी केही ह्वेललाई पुनः समुद्रमा फर्काएका छन् । तस्बिर: एपी

गएको सोमबार समद्री छालसँगै किनारमा पुगेर त्यहिँ फसेका झण्डै २७० ह्वेल देखिएको थियो। त्यसपछि हेलिकप्टर मार्फत गरिएको निरीक्षणको क्रममा नजिकै अर्को स्थानमा अरु २०० ह्वेल फसेको देखिएको हो । दुवै स्थानका ह्वेल एकै समूहका रहेको अनुमान छ ।

अस्ट्रेलियामा पाइने मध्ये ८० प्रतिशत भन्दा बढी ह्वेलहरु तास्मेनियामा छन् ।

यसअघि सन् १९३५ मा २९४ तथा सन् २००९ मा झण्डै २०० ह्वेल तास्मेनियाको समुद्री किनारमा फसेका थिए ।

फसेका ह्वेललाई समुद्रमा फर्काउनका लागि ६० जना भन्दा बढी उद्धारकर्मीले प्रयास गरेका छन् । किनारको बालुवामा फसेका ह्वेल पानीमा फर्किन नसक्दा धेरै मरेका हुन् ।

असोज ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्