जो बाइडेनसँग पराजित भएमा शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न प्रतिवद्ध छैनन् ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो नोभेम्बरमा हुने चुनावमा आफू पराजित भएमा शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण नगर्ने संकेत पुनः गरेका छन् ।

ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘के हुन्छ हामीले हेर्नुपर्छ । त्यो तपाईँहरुलाई थाहा छ ।’

ट्रम्पले चुनावको नतिजाको निर्णय सर्वोच्च अदालतमा पुग्न सक्ने पनि बताएका छन् । हुलाक मार्फत हुने मतदानमा उनले शंका व्यक्त गर्दै आएका ट्रम्पले पराजित भएमा सत्ता सहजरुपमा हस्तान्तरण गर्ने सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।

कोरोना भाइरसको महामारीका कारण यो पटक अधिकांश राज्यले हुलाक मार्फत हुने मतदानमा प्रोत्साहन गरेको छ ।

स्थानीय समय अनुसार बुधबार बेलुका भएको पत्रकार सम्मेलनमा एक रिपोर्टरले जो बाइडेनसँग पराजित वा बराबरी भएमा सत्ता शान्तिपूर्ण रुपमा हस्तान्तरण गर्न प्रतिवद्ध रहे–नरहेको स्पष्ट पार्न भनेका थिए ।

जवाफमा उनले भने, ‘मैले मत पत्रका सम्बन्धमा गम्भीर रुपमा आपत्ति जनाउँदै आएको छु । हुलाक मार्फत हुने मतदान विपद हो । हुलाक मार्फत मतदान बन्द गरिएमा सत्ता हस्तान्तरणको आवश्यकता नै पर्दैन अति शान्त हुनेछ ।’

यसअघि सन् २०१६ को चुनावमा पनि ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनसँग पराजित भएमा चुनावको नतिजा स्वीकार नगर्ने बताएका थिए । त्यो बेला हिलारीले ट्रम्पको अभिव्यक्तिलाई अमेरिकन प्रजातन्त्रमाथिको आक्रमणका रुपमा व्याख्या गरेकी थिइन् ।

चार वर्षअघि उनी इलेक्ट्रोल कलेजमा विजयी भए । तर उनी पपुलर मतमा भने हिलारी भन्दा ३० लाख मत पछि परेका थिए ।

असोज ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्