अमेरिकाको केन्टकीमा प्रदर्शनः दुई प्रहरीलाई गोली लाग्यो

अमेरिकामा ब्रिओना टेलरको मृत्युका सम्बन्धमा कुनै पनि प्रहरी अधिकारीलाई अभियोग नलगाउने बृहत जुरीको फैसलाविरुद्ध भएको प्रदर्शनमा दुई प्रहरीमाथि गोली प्रहार भएको छ ।

बृहत जुरीको फैसलापछि केन्टकी राज्यको लुइजभिलमा हजारौँ मानिस प्रदर्शनमा उत्रिएका हुन् ।

गएको मार्च १३ मा प्रहरी अधिकारी २६ वर्षकी टेलरको घरमा खानतलासीका लागि गएका थिए । प्रहरीले उनलाई धेरै पटक गोली प्रहार गरेका थिए ।

प्रहरीको गोली लागेर मृत्यु भएकी टेलरका लागि न्यायको माग गरी प्रदर्शन भएको हो । गोली प्रहार गर्ने प्रहरी अधिकारी ब्रेट हान्किन्सनमाथि अभियोग दर्ता भएको छ र हत्या अभियोग होइन । यस्तै अरु दुई अधिकारीमाथि भने अभियोग दर्ता भएन ।

प्रदर्शनको क्रममा गोली लागेका दुई प्रहरी अधिकारीको अवस्था खतरामुक्त रहेको लुइजभिलका प्रहरी प्रमुख रोबर्ट शोर्डरले बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । गोली प्रहार गरेको अभियोग लागेका व्यक्ति नियन्त्रणमा रहेको उनले बताए ।

लुइजभिलमा आपतकालीन अवस्था घोषणा गरिएको छ र नेशनल गार्ड तैनाथ गरिएको छ । मेयर ग्रेग फिशरले शहरमा तीन दिनका लागि कर्फ्यू जारी गरेका छन् ।

कर्फ्यूका बाबजुद पनि प्रदर्शनकारी सडकमा छन् । केन्टकीका गभर्नर एण्डी बेशरले प्रदर्शनकारीलाई घर फर्किन भनेका छन् ।

असोज ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्