वालिङ्गमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजनाको मृत्यु, चारजना बेपत्ता

फाइल तस्बिर

स्याङ्जा – पहिराेमा पुरिएर स्याङ्जाको वालिङमा एकै परिवारका पाँचजनाको मृत्यु भएको छ।

बिहीबार बिहान ६ बजे वालिङ–१४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँचजनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।

प्रवक्ता अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा वालिङ–१४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् । अहिलेसम्म तीन महिला र दुई पुरुषको शव निकालिएको छ । अन्य चारजना अझै बेपत्ता छन् ।

एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्धार गरी गह्रौं प्राथमिक अस्पताल वालिङ पठाईएकोमा थप उपचारका लागि पोखरा पठाइएको अस्पतालले जनाएको छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयले बिहानैदेखि उद्धार कार्यलाई जारी राखेका छन् । माथिबाट निरन्तर पहिरो खसिरहेकाले उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ।

असोज ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्