बहराइनका राजपरिवारको टोली हिमाल आरोहणका लागि लुक्लामा अवतरण

काठमाडौँ-बहराइनका राजपरिवारको टोली हिमाल आरोहणका लागि बिहीबार सोलुखुखम्बुस्थित लुक्ला विमानस्थलमा आइपुगेका छन्।

बहराइनका राजकुमार सेख नासिर विन हमाद अल खलिफा नेतृत्वको १८ जनाको टोली बिहीबार लुक्ला अवतरण गरेको खुम्बु पासाङल्हामु गाउँपालिका वडा २ का अध्यक्ष आङफूर्वा शेर्पाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

टोली लबुचे पिक आरोहणका लागि त्यता पुगेका टोलीलाई विमानस्थलमा गाउँपालिकाले स्वागत गरेको थियो। उनीहरुलाई सेभेन समिट ट्रेक्सले आरोहणमा साथ दिनेछन्।

कोभिड-१९ संक्रमण रोकथाममा लागि लगाएको लकडाउन र निषेधाज्ञाका कारण पर्यटन क्षेत्र लगभग ठप्प रहेको बेला पहिलोपटक भदौ ३१ गते बहराइनका राजपरिवारको टोली काठमाडौं आइपुगेका थिए।

राष्ट्रिय सुरक्षा सल्लाहकार तथा रोयल गार्ड प्रमुखसमेत रहेका बहराइनका ३३ वर्षे राजकुमार खलिफाको टोली चार्टड् फ्लाइटबाट विमानस्थल उत्रेका थिए।

भदौ दोस्रो साता सरकारले बहराइनका राजकुमारलाई हिमाल आरोहणका लागि नेपाल आउन दिने निर्णय गरेको थियो।

असोज ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्