प्रदेश-२ मा मन्त्रीले नै हाजिरी हुन दिएनन् सरुवा भएर आएका सचिवलाई

जनकपुरधाम-प्रदेश२ मा मन्त्रीले नै सरुवा भएर आएका सचिवलाई हाजिरी हुन दिएका छैनन्।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले उनको मन्त्रालयमा सरुवा भएर आएका एक सचिवलाई हाजिरी हुन दिएका छैनन्।

उनले केहि साता अगाडी मात्र मात्र सामाजिक सञ्जालमै प्रदेशमा छोटो अवधिमै सचिव फेरिनुले कार्य सम्पादनमा कठिनाई भईरहेको आशय सहितको पोष्ट गरेका थिए।

पटक पटक कर्मचारी अभाव तथा छोटो समयमै सचिव फेरिनुमा संघिय सरकारको बदनियत झल्कि रहेको भन्दै उनले आक्रोश व्यक्त गरेका थिए।

कर्मचारीलाई लिएर आक्रोश पोखीरहेका समय उनकै मन्त्रालयका सचिव सरुवा भएपछि नयाँ सचिवलाई उनले हाजिरी हुन दिएका छैनन्।

श्रोतका अनुसार मन्त्री अनुकुलको सचिव नपठाइएकोले हाजिरी हुन नदिइएको बताइएको छ।

पटक पटक प्रदेश सरकार र संघ सरकार बिचको टकराव बढ्दै गई रहेको समयमा सचिवलाई हाजिरी हुन नदिनुले यो टकराव झन बढ्ने आकलन हुन थालेको छ।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सरुवा भइ आएकी सचिव सम्झना काफ्ले बुधबार दिउँसो हाजिरी हुन पुगेकी थिइन्।

नयाँ सचिव मन्त्रालय पुग्दा कर्मचारीहरुले सामान्य भेटघाटको कार्यक्रम समेत राखेकोमा भेटघाटको कार्यक्रमको समयमा मन्त्री साहका स्वकीय सचिव लगायतका व्यक्तिहरुले होहल्ला गर्दै हाजिरी रजिष्टर खोसेको एक कर्मचारीले बताए।

उनका अनुसार मन्त्रीको सचिवालयका सदस्यहरुले सचिवको कार्यालयमा ताल्चा लगाएपछि मन्त्रालयको वातावरण बिगरिएको थियो। मन्त्रीकै आदेशमा उनलाई हाजिरी हुन नदिइएको ती कर्मचारीले बताए।

सचिव काफ्लेलाई हाजिरी हुन नदिदाँ उनी फर्केकी थिइन्। यता सचिव काफ्ले आफू हाजिरी हुन पुगेको थिएँ तर त्यहाँ हाजिरी हुने वातावरण नरहेकोले त्यतिकै फर्किनु परेको गुनासो गरिन्।

यस विषयमा आफू प्रमुख सचिव अर्जुन पोखरेलसंग छलफल गरेको जानकारी गराउँदै भनिन् ‘यही अवस्था रहे आफू यहाँ बस्दिन।’ आफूलाई हाजिरी हुनका लागि पत्र नदिइएसम्म अब यहाँ नआउने बताइन्।

यता यस विषयमा मन्त्री साहलाई जिज्ञासा राख्दा मन्त्रालयमा सचिव हाजिरी हुन पुग्दा भएको विवादको विषयमा जानकारी रहेपनि छलफल पश्चात मात्रै केही जानकारी गराउने प्रतिक्रिया दिए। उनले संघ सरकारको छोटो समयमै सचिव फेर्न परिपार्टी गलत रहेको बताए।

मन्त्रालयमा सचिव हाजिरी हुन नदिएको घटनाको केही घण्टा नबित्दै मन्त्री साहले ‘म कसैको आदेशपालक होइन्। म जनादेशको पालना गर्छु होइन भने जिम्मेवारी छोडछु।’ भनी स्टाट्स लेखेका छन्।

असोज ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्