‘कोरोनाको विषम परिस्थितिमा श्रमिकहरुलाई सत्तापक्ष र प्रमुख प्रतिपक्षले हेरेन’

मोरङ-कोरोना भाइरस संक्रमणसंगै मुलुकमा रहेका लाखौं श्रमिकको पक्षमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दल दुवै मौन रहेको आरोप सरोकारवाला निकायले लगाएको छ।

लोकतान्त्रिक विमर्शका लागि साझा सवाल साझा मञ्चद्धारा आयोजित कोरोना महामारीमा किसान, मजदुर, उपभोक्तामा पर्न गएको असर र सकारको भूमिका विषयक भर्चुअल संवादमा मजदुर नेताहरुले सो आरोप लगाएका हुन्।

कार्यक्रमका प्रमुख वक्ता अजयकुमार राईले सत्ता पक्ष र प्रतिपक्ष दुवै दलले अहिलेको विषम अवस्थामा श्रमिकहरुलाई नजरअन्दाज गरिरहेको गुनसो गरे।

लकडाउन र निषेधाज्ञाका नाममा श्रमिकलाई कामबाट निष्काशन गर्न बाध्य बनाएको सरकारले श्रमिकलाई राहत प्याजेज समेत उपलब्ध गराउन नसकेको उनको दुखेसो छ।

नेपाल ट्रेड यूनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष राईले कोरोना महामारीका क्रममा श्रमिकहरुको पक्षमा कुनैपनि दलले स्पस्ट धारणा र सम्बोधन गर्न नसकेको बताए।

सरकार हाकिरहेको नेकपा आन्तरिक खिचातानीमा रुमलिएसंगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससमेत विभाग गठनदेखिको खिचातानीमै रहदाँ श्रमिकबारे कसैले जिम्मेवारीबोध गर्न नसकिरहेको उनको भनाई छ।

एकप्रसंगमा हवाई क्षेत्रलाई पुरा यात्रु राख्न छुट दिएपनि सार्वजनिक यातायातमा आधा यात्रु मात्र राखेर सेवा सञ्चालन गर्न दिनु दुखद भएको राईको भनाई छ।

सरकारको यस निर्णयले जनता समेत मर्कामा परेको बताउदै राईले भने, ‘यातायातमा ५० प्रतिशत बृद्धि गर्नुभन्दा पुरानै भाडादरमा सुरक्षित रुपमा पुरा यात्रुसहित यातायात सेवा चल्न दिनुपर्छ। तर, यहाँ सरकारले गरेको हवाईसेवाका निर्णय दुईदिनभित्रै पहुँचको आधारमा लत्याइन्छ र श्रमिकहरुमा विभेद गरिन्छ।’ सरकारले अहिलेपनि ब्युटिसियन, कपाल काट्ने नाई लगायतका ब्यवासयलाई सुरक्षित रुपमा सञ्चालन गर्न नदिनु दुखद भएको राईले बताए।

सामाजशास्त्री प्रा.डा चन्द्र उपाध्यायले कोरोना महामारीले संसारमा विश्वासको घाटा बढ्दै गएको बताएका थिए। कोरोना संक्रमणसंगै संसारभर ३५ प्रतिशत मानिसहरुमा विश्वास गुमाईसकेको अवस्था रहेको उनले बताए।

सो अध्यननका अनुसार ४१ प्रतिशतले मध्यम विश्वास रहेको र २२ प्रतिशतले मात्र पूर्ण विश्वास कायम रहेको उनले बताए। अन्तर्राष्ट्रिय एक संस्थाले १८ वर्षमाथिको वयस्कमा अध्ययन भएको बताए।

प्रा.डा उपाध्यायका अनुसार विश्वासको घाटा नागरिकले सरकारलाई, हुनेप्रति नहुनेहरुको, दाता र ग्राह्यता र एक मानिसले अर्को मानिसलाई गर्ने विश्वास गुम्दै गएको चुनौति थपिएको उनले बताए। यसबाट बाहिर निस्कन तीनै तहको जिम्मेवारी र काम प्रमुख रहेको उनको भनाई छ।

कांग्रेस प्रदेश १ संसदीय दलका सचेतक सुयर्माराज राईले समयमा किसानले मल पाउन नसक्नु दुखद भएको बताएका थिए। कृषी क्षेत्रलाई प्राथमिकतामा राखेको सरकारले समयमा मल उपलब्ध गराउन नसक्दा लज्जाबोध भएको सचेतक राईले उल्लेख गरेका थिए।

लाखौको संख्यामा श्रमिक कोरोना महामारीबाट प्रताडित भइरहदाँ सरकार आफै शक्ति संघर्षको खेलमा डुबेको उनले आरोप लगाएका थिए। महामारीका क्रममा सरकारको दुरदृष्टि नहुदाँ जनता भोकै मृत्युवरण गर्न बाध्य भइरहेको उनले गुनासो गरे।

असोज ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्