वीपी प्रतिष्ठान धरानमा कोरोनाबाट थप दुईजनाको मृत्यु

माेरङ– धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित दुईजना पुरुषको मृत्यु भएको छ।

प्रतिष्ठानका अनुसार मोरङ कानेपोखरी गाँउपालिकाका ५५ वर्षीय र सप्तरी राजविराजका ७० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार सप्तरी राजविराज ३ का बृद्धको बिहीबार राति ११ बजे र कानेपोखरी गाँउपालिकाका ५५ वर्षीय पुरुषको राति साढे ८ बजे उपचारका क्रममा मृत्यु भएको हो।

सप्तरीका पुरुषको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजबाट ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाई र निमोनियासहित कोभिड १९ पोजिटिभ रिपोर्ट आएपछि भदौ २८ गते राति पौने १२ बजे प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो।

त्यसैगरि कानेपोखरीका ५५ वर्षीय पुरुषलाई भने वीपीकै सर्जिकल वार्डबाट पीसीआर रिपाेर्ट पोजिटिभ देखिएपछि कोभिड १९ अस्पतालमा बिहीबार साँझ भर्ना गरिएको थियो। उनको आन्द्रामा क्यान्सर भएर जटिल शल्यक्रिया गरिएको र शरीरको अन्य भागमा समेत क्यान्सर फैलिसकेको अवस्था रहेको प्रवक्ता सापकोटाले बताए।

यससँगै प्रतिष्ठानमा हालसम्म ३३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। प्रदेश १ मा भने हालसम्म ६१ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। जसमा १७ महिला र ४४ पुरुष रहेका छन्।

प्रदेश १ बाहिरबाट २ महिला र ११ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जनाएको छ।

असोज ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्