२१ ग्राम खैरो हेराईनसहित तीनजना पक्राउ

मोरङ-झापाको अर्जुनधारा ११ बसपार्क र विर्तामोडबाट लागुऔषध खैरो हेरोइनसहित तीनजना युवक पक्राउ परेका छन्।

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार तीनै जनालाई बिहीबार राती पौने ११ बजे विषेश सुराकीका आधारमा पक्राउ गरिएको हो।

कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कविन्द्रकुमार कार्कीका अनुसार पक्राउ पर्नेमा विर्तामोड ३ का २४ वर्षिय बिशाल राजवंशी, विर्तामोड २ का २२ वर्षीय प्रदीप राजवंशी र १५ वर्षीय नरप्रसाद राजवंशी रहेका छन्।

झापा प्रहरीले उनीहरुको साथबाट समग्रमा २१ ग्राम खैरो हेरोइन बरामद भएको हो। यस क्रममा विशाल र नरप्रसादको साथबाट ११ र प्रदीपको साथबाट १० ग्राम हेरोइन बरामद भएको हो।

पक्राउ परेका तीनजनाविरुद्ध ईलाका प्रहरी कार्यालय अनारमनी झापाले थप अनुसन्धान र कार्वाही अघि बढाएको छ ।

असोज ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्