तेजाब हान्नेलाई कडा कानुन : कुन अवस्थामा कति सजाय?

एसिडपीडितहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका क्रममा।

काठमाडौँ- सरकारले अध्यादेशमार्फत तेजाब हान्नेलाई सजाय सम्बन्धीको मुलुकी अपराध संहिता २०७४ को व्यवस्था संशोधन गरेको छ। अब तेजाब हान्नेलाई २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने छ।

एसिड आक्रमण पीडितको दुवै आँखा जली वा क्षति भई पूर्णरुपमा दृष्टि नष्ट भएमा, दुवै कान जली वा क्षति भई सुन्ने शक्ति पुर्णरुपमा नष्ट भएमा, नाक जली वा क्षति भई काम नलगाग्ने भएमा, अनुहार पुर्णरुपमा जली वा क्षति भई कुरुप भएमा, महिला भए दुवै  स्तन जली वा क्षती भई काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग जली वा क्षति भई नासिएमा त्यसतो गर्ने वा गराउने व्यक्तिलाई २० वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना हुने छ।

यसैगरी कसैको एउटा आँखा, एउटा कान जली वा क्षति भई काम नलाग्ने भएमा, दुवै हात जली काम नलाग्ने भएमा, टाउकोको कुनै भाग जली क्षति भएमा वा मेरुदण्ड जली वा क्षति भई काम नलाग्ने भएमा दोषीलाई १० वर्षदेखि २० वर्षसम्म कैद र सात लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुने छ।

शरिरको अन्य अङ्गभङ्ग वा शारिरिक क्षति भएमा कसुरको प्रकृति बमोजिम पाँचदेखि १० वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने छ।

यसैगरि तेजाब आक्रमणका पीडितको तत्काल मृत्यु नभएपनि त्यही कारणले पछि मृत्यु भएमा त्यसलाई कर्तव्य ज्यानको कसुर गरेको मानिने र जन्मकैदसम्मको सजाय हुने व्यवस्था गरिएको छ। यसैगरी तेजाब हान्दा लक्षित व्यक्तिलाई नलागेपनि वा लक्ष्यित व्यक्ति जोगिएमा पनि आक्रमणकारी वा त्यसो गर्न लगाउनेलाई १० वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

जरिवाना नै क्षतिपूर्ति तर औषधी उपचारको व्यवस्था ‘अन्योलपूर्ण’ 

माथिका जुनसुकै कसुर गरेपनि त्यस्तो कसुरमा दोषी प्रमाणित भए गरिने जरिवानाको रकम क्षतिपुर्तिस्वरुप पिडितलाई उपलब्ध गराइने व्यवस्था गरिएको छ। यसअघिको व्यवस्था पनि यस्तै थियो।

तर पिडितको तत्काल उपचार  कसले गर्ने भन्नेबारे व्यवस्था भने अन्योलपूर्ण छ। अभियुक्त पत्ता नलागेको वा अन्य कुनै कारणले अदालतमा मुद्धा दायर हुन नसकेको अवस्थामा पिडितलाई अस्पतालमा भर्ना भई औषधीउपचार गर्दा लागेको बिलको भरपाई अनुसन्धान गर्ने अधिकारी र जिल्ला सरकारी वकिलको सिफारिसमा कोषबाट सम्बन्धित अस्पताललाई उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।

त्यस्तो अवस्थामा पछि अभियुक्त पत्ता लागि मुद्धा दायर भई कसुरदार ठहर भएमा त्यस्तो कसुरदारलाई फैसला भएको मितीले ३५ दिनभित्र उपचार खर्चबापतको रकम कोषमा जम्मा गर्न अदालतले आदेश दिने र रकम जम्मा नगरे फैसला भएको ६० दिनभित्र त्यस्तो कसुरदारको जुनसुकै जायजेथाबाट सरकारी बाँकी सरह असुल उपर गर्नुपर्ने व्यवस्था गरिएको छ।

तर तत्काल अभियुक्त पत्ता लागेमा के हुने भन्ने व्यवस्था भने केही गरिएको छैन। तत्काल अभियुक्त पत्ता लागेपनि अदालतले दोषी प्रमाणित नगर्दासम्म उसलाई कसुरदार मानिदैन।

यसअघिको सजाय व्यवस्था के थियो ? 

मुलुकी अपराध संहिता २०७४ को दफा एक सय ९३ मा तेजाब आक्रमण र त्यसका दोषीलाई हुने सजायको व्यवस्थाबारे उल्लेख थियो। त्यसमा भनिएको छ। १. कसैले कसैलाई तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा छर्किई वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पार्ने काम गर्नु वा गराउनु हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई कसूरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्‍याएमा  तीन वर्षदेखि पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना हुनेछ

असोज ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्