पाकिस्तानी प्रधानमन्त्रीले फेरि बनाए मोदी सरकारलाई निशाना, भारतले दियो जवाफ

भारत र पाकिस्तानबीच जम्मू–कश्मीर र आतंकवादको विषयमा पुनः विवाद भएको छ। यो पटक विवादको मञ्च बनेको छ संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा।

न्यूयोर्कमा जारी महासभा अन्तर्गत पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गरेको सम्बोधनलाई लिएर भारतले आपत्ति जनाएको छ।

प्रधानमन्त्री खानले शुक्रबार महासभालाई सम्बोधन गरे, त्यसपछि भारतीय प्रतिनिधिले जवाफ दिए। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले महासभालाई शनिबार सम्बोधन गर्ने छन्।

शुक्रबार पाकिस्तानका प्रधानमन्त्री खान भिडियो मार्फत गरेको सम्बोधनमा जम्मू–कश्मीर विवाद, अल्पसंख्यकमाथि भएको व्यवहार र आरएसएसको हिन्दुत्ववादी एजेण्डालाई लिएर भारतमाथि आक्रामक रुपमा प्रस्तुत भएका थिए ।

भारतले कश्मीरमा मानवअधिकारको गम्भीर उल्लंघन गरेको तथा जनतालाई दबाउनका लागि सेनाको प्रयोग गरेको आरोप लगाए ।

त्यसपछि भारतले आफ्नो जवाफ दिन पाउने अधिकार (राइट टू रिप्लाई) को प्रयोग गरी पाकिस्तानी प्रधानमन्त्री खानको सम्बोधनको उत्तर दिएको हो।

भारतले पाकिस्तानमाथि आतंकवादलाई बढावा दिएको र आफ्नै देशमा अल्पसंख्यक तथा अन्य संप्रदायका मुसलमानमाथि अत्याचार गरेको आरोप लगायो।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मीरको मुद्दा उठाउँदै भने, ‘जबसम्म जम्मू–कश्मीरको विवाद अन्तर्राष्ट्रिय वैधताको आधारमा हल हुँदैन तबसम्म दक्षिण एसियामा शान्ति र स्थायित्व हुने छैन । सुरक्षा परिषदले यो खतरनाक विवादलाई रोक्नु पर्छ र आफ्नै प्रस्तावलाई लागु गर्नु पर्छ जस्तो पूर्वी टिमोरमा गरिएको थियो।’

उनले भने, ‘म यो स्पष्ट गर्न चाहन्छु कि फासीवादी, अधिनायकवादी, आरएसएसको नेतृत्ववाला सरकारले यदी पाकिस्तान विरुद्ध आक्रामकता देखाउने कोशिश गर्‍यो भने उसको एउटा त्यस्तो देशसँग भेट हुनेछ जो आफ्नो स्वतन्त्रताका लागि अन्तिमसम्म संघर्ष गर्ने छ।’

पाकिस्तानका प्रधानमन्त्री खानले जम्मू–कश्मीरलाई विशेष अधिकार प्रदान गर्ने संविधानको धारा ३७० हटाएको घटनाको पनि आलोचना गरेका थिए। भारत सरकारले त्यहाँ जनसांखिक बदलाव गर्ने प्रयास गरेको आरोप पनि लगाए।

इमरान खानले आरएसएरका संस्थापक सदस्य नाजीबाट प्रेरित रहेको र नस्लीय शुद्धता तथा वर्चस्व जस्ता अवधारणलाई मान्ने गरेको बताए। नाजीहरुले यहुदीलाई घृणा गरे जस्तै आरएसएसले मुलसलमान तथा केही हदसम्म इसाइहरुलार्य पनि घृणाको दृष्टिले हेर्ने गरेको आरोप उनले लगाएका छन्।

खानको भनाईमा भारतले कडा आपत्ति प्रकट गरेको छ। संयुक्त राष्ट्रसंघमा भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले पाकिस्तानको भनाईलाई राजनीतिक स्तरमा नयाँ गिरावट रहेको बताए।

खानको भनाई झुठ, व्यक्तिगत आक्रमण, युद्ध भड्काउने खालको तथा आफ्नो देशमा भएको अल्पसंख्यकमाथिको उत्पीडन र सीमापार आतंकवादलाई लुकाउने प्रयास रहेको तिरुमूर्तिले बताएका छन्।

असोज १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्