हाम्रो आवाज पनि सुन्नुहोस्

कान नसुनेर के भयो, मैले अब रम्न सिकेकी छु

नमस्ते, मेरो नाम कल्पना पुन हो। मेरो जन्म बाग्लुङ जिल्लाको ढोरपाटनमा भयो। हामी स-परिवार २०६८ सालमा बसाइँसराइ गरी सुनवल नवलपरासीमा आयौं र मैले २०७० सालमा एसएलसी उत्तीर्ण गरेँ। सानैदेखि मलाई पढ्न एकदमै रुचि लाग्ने भएकाले म पढाइमा अगाडि नै थिएँ। यसरी पढाइलाई निरन्तरता दिदै जाने क्रममा, एसएलसीको जाँच दिन भन्दा केही समयअगाडि अचानक कानमा हल्का समस्या भएर हल्का दुखेजस्तो अनुभव भए पछि अस्पताल गएँ। चेकअप गरेर के भएको भनेर सोध्दा, यो औषधी लिएर खाँदै गर पछि आफै ठिक हुँदै जान्छ, भनेपछि म ढुक्क भएर औषधी खान शुरु गरेँ। एसएलसीपछि के पढ्ने, कुन विषयतिर जाने जस्ता कुरामा म दोधारमा थिएँ। मलाई हल्का मेडिकल क्षेत्रतिर जाने चाहना भएकाले साथीहरु र बुवाको सल्लाह अनुसार नर्सिङ भन्दा बिएसस्सी नर्सिङ नै राम्रो हुन्छ भनेर साइन्स लिएर प्लस टु पढ्न शुरु गरेँ।

अस्पताल जाँदै औषधि खान थालेको थुप्रै समय बित्दा समेत सन्चो हुनुको सट्टा झन् बिस्तारै सुन्ने सक्ने क्षमता कम हुँदै गयो। पहिले मैले सबै आवाज राम्रो सँग सुन्न सक्थेँ तर अचानक कान कमजोर हुँदै जाँदा, यो मलाई के भइरहेको छ भनेर अचम्मित भएँ। बिस्तारै बिस्तारै सुन्ने सक्ने क्षमता कम भएकै कारण सबै कुराहरू गुम्दै गए। अरु बोलेको आवाज जति सुन्न कोसिस गरे पनि शब्द स्पष्ट नबुझिँदा अन्दाज गर्नै नसकेर म आफै थाक्ने गर्थेँ र मैले सोचेको भन्दा पनि फरक तरिकाले जिवन जिउन पर्ने वाध्यता भयो। बिस्तारै साथीहरू, घरपरिवार, समाजबाट म पनि अलग्गिदै गएँ। एघार कक्षामा पढ्दा मैले सुन्न सक्थेँ र ७५% जति सुन्न सक्थेँ भने १२ कक्षामा पुग्दा त्यसको बिपरित भयो। यता कक्षामा सरहरुले पढएको केही नसुनेर, नबुझेर हरेक दिन बोझ थपिदै जाँदा, मलाई साह्रै नरमाइलो लाग्थ्यो। सानैदेखि मलाई पढ्न लेख्न एक्दम मन लाग्ने भएकोले सरहरुले पढाएको कुरा राम्रोसँग सुन्न र बुझ्न नसक्दा घरिघरी मन थाम्नै नसकेर धुरु धुरु रुन्थेँ पनि।

मैले साइन्स पढेर नै संघर्ष गर्न सिकेको थिएँ जीवनमा। पढ्न गाह्रो भयो भनेर धेरैले बिषय परिवर्तन गरे। मेरो लागि पनि त्यस्तो कठिन कदम चाल्नु त्यति सजिलो थिएन। कानको उपचारको लागि बुटवलदेखि काठमाडौसम्म पुग्दा धेरै खर्च लागिसकेको थियो। म १२ कक्षामा पढ्दा बुटवलको डाक्टरले नसकेर काठमाडौँ पठाए। त्यत्ति नै बेला मलाई लामो समयसम्म रुघा लागेको कारण कानभित्र पानी जम्न पुगेछ। १५ दिन जति औषधि र तातो बाफ लिएपछि त्यो पानी सुक्यो तर अपरेशन गर्न मिलेन। त्यसपछी औषधी लिन पनि बन्द गर्दियो। फेरि अर्को अस्पतालमा गएर चेक अप गराउँदा पनि मेरो उपचार सफल भएन। र मेरो लागि एउटा हेरिङ एड किनिदिनुभएको थियो, जब त्यसलाई कानमा लगाएर आवाज बढाउँथे तब आवाज ठूलो सुनिए पनि शब्द भने स्पष्ट नबुझिने, रिङटा लागेजस्तो, टाउको दुखे जस्तो असजिलो महसुस भएर त्यस हेरिङ एड पनि लगाउन सकिन र छोडिदिएँ।

कुनैबेला, मलाई मात्र किन यस्तो भएको होला भनेर सोचेर बस्ने मान्छे म, आज आएर सयौ हजारौं मान्छेहरु म जस्तै र मेरो जस्तै अवस्थामा देख्दा एकदम दुःख लगेर आउँछ। त्यसैले भविष्यमा म जस्तै सुस्त श्रवण (सुनाइ अपांगता) तथा बहिरा र दृष्टिबिहिनहरूको समाजमामै रहेर केही गर्ने चाहना र सोच छ मेरो।

मैले १२ कक्षा सकेपछि हामी फेरि इन्डिया गयौँ। त्यहाँको डक्टरले पनि नसाको समस्या (नसा सुकेको) छ भनेर देखायो। हस्पिटल धाउँदाधाउँदै कान एकदम कमजोर हुन पुगेछ। यस्को लागि सानोतिनो हेरिङ एडले काम नगर्ने भयो त्यसैले मलाई चाहिने खालको अर्को मेशिन किन्नलाई एकदम महँगो पर्दो रहेछ। डाक्टरले कक्लियर इम्प्लान्ट गर्न नि सकिन्छ भनेर सल्लाह दिनु भएको थियो तर एकजोडा हेरिङ एड र एउटा कानमा कक्लियर इम्प्लान्ट गर्दा ईन्डियन १८ लाख भन्दा धेरै खर्च लाग्ने भएकोले र त्यतिनै बेला घरमा आर्थिक समस्या भएको हुँदा हामीले केही गर्न सकेनौँ।

त्यसपछि बेलाबेलामा, के गरुँ, कसरी व्यस्था गरुँ, कता जाउँजस्तो मनमा बेचैन, निराशापन, एक्लोपन, मौनता, र मित्रताको कमी मेरो मनमा विशाल भएको थियो। धेरै बोल्न छोडेको पनि बर्षौँ भैसकेको थियो जसले गर्दा मेरो बोलीमा पनि असर पर्न पुगेछ। अब मैले केही गर्नु पर्छ, यसरी बसेर हुँदैन, अब आफ्नो खुट्टामा आफै उभिएर आफ्नो जिम्मेवारीहरु वहन गर्न सिक्नुपर्छ भन्ने कुरा मैले बुझेँ। त्यसपछि मैले केही तालिमहरु सिक्ने अवसर पनि पाएँ। म आफ्नो दिमागलाई एकदमै सक्रिय राखेर त्यो डिप्रेशनबाट उम्केर बाहिर निस्कन चाहन्थेँ। जसको लागि बारम्बार कोशिश गरिरहँदा पनि मेरो कोशिश क्षणिक मात्र टिक्थ्यो। अनि आफूपछि धकेलिएजस्तो मलाई एक्दम मुस्किल भइरहेको थियो। त्यसपछि मैले परमेश्वर अनुग्रह पाएर नै त्यो डिप्रेशनको सिकारबाट बाहिर निस्कन सफल भएँ। आज फर्केर हेर्दा सायद मैले पनि मृत्युलाई जितेर आएजस्तो लाग्छ। 

यसरी पुरै एक वर्ष ग्याप गरी स्कुल कलेजदेखि सँगसँगै पढ्दै आएको साथी (शोभा) सगै फेरि स्नातक शुरू गर्न पाएँ। क्याम्पसमा पनि सँगै पढ्न सुरु गर्‍यौँ। त्यसपछिका मेरो दिनहरु र मेरो जिउने शैलीहरु बद्लिदै गए। म थाकेर लड्दा मलाई उठाउने, मलाई बुझेर सहयोग र हौसला दिने उनी मात्र थिइन्। मलाई केही थाहा नहुँदा मलाई बुझेर, मेरो साथमा रहेर मलाई सबै लेखेर दिएर, मलाई सहयोग गर्ने, मेरो सट्टामा बोलिदिने साथी उनी नै हो।

क्याम्पस पढ्न सुरु गरेको केही समयपछि, केही बहिरा साथीहरुसँग चिनजान हुन पुग्यो र उहाँहरुकै सम्पर्कद्वारा मैले थुप्रै समाजसेवीहरुलाई चिन्ने मौका पाएँ र मलाई झन धेरै उत्साह मिल्दै गयो। अनि मलाई घुलमिल हुन पनि धेरै बेर लागेन। उहाँहरु सबै सांकेतिक भाषामा कुराकानी गर्नुहुन्थ्यो तर मलाई सांकेतिक भाषाको ज्ञान नभएकाले लेखेर कुराकानी गर्नुपर्थ्यो। त्यसको केही समयपछि एक महिने सांकेतिक भाषाको तालिम लिने अवसर मिल्यो तर त्यतिले पुग्दो रहेनछ। भाषा पूरा नभएको कारण म पनि त्यही समाजमा गएर तिनीहरुसँग कुराकानी गर्न, कुनै कार्यक्रमहरुमा सामेल हुन एकदम गाह्रो भइरहेको छ। 

सरहरु कक्षामा आएर पढाउनुहुन्छ, नोट लेखाइदिनुहुन्छ अनि जानुहुन्छ तर मलाई केही थाहा हुँदैन। आफूलाई मन परेको कुरा सिक्न र सुन्न नपाउँदा मन एकदम दुख्दो रैछ, नमज्जा जस्तो लाग्दो रैछ। तर हिजो आज त बानी पारिसकेँ नसुने पनि। आफूसँग जे छ, जस्तो छ त्यसैमा सन्तुष्ट रहन र आनन्दित हुन मैले पनि सिकेकी छु र सिक्दै छु पनि। क्लासमा सरहरुले बोलेको कुरा मैले नसुने पनि केही महत्वपूर्ण सूचना छ भने मलाई साथीहरुले दिने गर्छन् र कहिलेकाहिँ मेरो सट्टामा बोलिदिन्छ्न् पनि। सबै साथीहरु समूहमा भएर कुराकानी गरिरहेका हुन्छन्। कुनै विषयको बारेमा छलफल गरिरहेका हुन्छन् तर मैले जति सुन्न कोसिस गरे पनि केही बुझिदैन त्यसैले म तिनिहरु सँगै भए पनि जो सुकैले जे सुकै कुरा गरून् ध्यान नदिएर बस्ने गर्छु बरु मैले नसुनेर, नबुझेको केही छ भने लेखेरै भए पनि सोध्ने गर्छु र मलाई सहयोग गर्छन पनि। सरहरुले पढएको, सिकाएको केही थाहा नहुदा नसुन्दा कहिलेकाही त सारै झ्याउ लागेर आउँछ। 

प्रयोगात्मक कक्षा नहुँदा म हप्तामा २-३ दिन मात्र कलेज जाने गरेकी छु। कलेज नगए पनि घरमै साथीले नोटकपी ल्याइदिन्छन्। नोट सार्दै, पुस्तकालयबाट किताबहरु खोज्दै, नयाँ किताबहरु किनेर शुरुदेखि नै स्व-अध्ययन गर्दै आएको छु। म अहिले बिएस्सी तेस्रो वर्षमा अध्ययनरत छु। नोट लेखाएर सकिन थालेको बेला कोरोना सुरु भएको थियो, त्यसैले हामीले अनलाइन क्लास लिन परेको त छैन तर जाँच नभएर समस्या चाहिँ भइरहेको छ।

मैले पनि कान सुन्न छोडे पछि निकै धेरै कुराहरु गुमाउन र बिर्सनु पर्‍यो। पढाइमा पनि चाहे जस्तो ज्ञान पाउन सकिएको छैन। वास्तवमा सुस्त श्रवण भएर अरुले जस्तो धेरै ज्ञान प्राप्त गर्न नसकूँला र ठूलाठूला उपलब्धिहरु प्राप्त गर्न नसकुँला रे तर हिजोआज त आफैलाई गुनासो गर्न छोडेर रम्न सिक्दै छु। किनकी पढेर सिकेको भन्दा पनि, मेरो भोगाइ, असफलता,  ममाथि आइपरेका समस्याहरु र चुनौतीहरुले मलाई बलियो र अमूल्य पाठ सिकाएको छ। म सञ्चारमा अपाङ्ग भए पनि मेरो आत्मा, मन र सोचले कहिल्यै पनि म अपाङ्ग छु भनी सोचेर बस्ने गर्दिन। प्रायः जसो, म मानिसहरुको हाउभाउ, बोलिचाली, अनुहार हेरेरै धेरै कुराहरू अड्कल गर्न वा थाहा पाउन सक्छु। 

मान्छे नचिनेर वा नबुझेर अलि धेरै बोल्न थाल्यो भने त नजिस्काउने होइन, जिस्काउँछन् पनि। किनकी हाम्रो सामाजमा अपांगतालाई हेर्ने दृष्टिकोण पनि हल्का बुझ्न पाएको छु। घर बाहिर तिरका मानिसहरुले के के भन्दै हिँड्छन्, त्यसमा मैले खासै ध्यान दिएको छैन। मैले कान नसुनेर वा सुनेन भनेर अहिले सम्म कु-शब्द प्रयोग गरेर बोलाएको र जिस्काएको त देखेकी छैन तर कहिले कहिलेकाहिँ घरबाहिरका मानिसहरु सँग भेटघाट हुँदा, नयाँ मान्छेसँग परिचय हुन पुग्दा उहाँहरु बोलेको मैले केही पनि सुनेन भनेर मेरो समस्या सुनाउँदा अनौठो मानेर धेरै कुराहरु सोध्न खोज्नुहुन्छ पनि। यस्तै कुरा गर्ने क्रममा धेरैले मलाई तिम्रो बिहे भयो कि नाइ? कान सुन्न छोडे छौ यति राम्रो मान्छे ले (राम्री नभए पनि)! साथी बनाएकी छौ कि नाइँ? बिहे कहिले गर्ने सोचेकी छ्यौ? जस्ता शब्दले बढी नै जिस्काउन खोज्छन्। तर म तिनीहरुको कुरामा धेरै ध्यान नदिएर एकदमै कम बोल्ने गर्छु। मेरो जवाफ हो भने हो, होइन भने होइन मात्र हुन्छ। बरु कुनै बिशेष कुरा जान्न छ भने लेखेर दिन आग्रह गर्छु र धेरैले मेरो कुरा बुझ्नुहुन्छ पनि।

यदि मैले मनिसहरु सँग कुराकानी गर्न खोजेँ वा चाहेँ भने पनि बोलेको केही बुझिँदैन त्यसैले मलाई प्राय एक्लै समय बिताउन, पढ्न, नयाँनयाँ कुराहरु सिक्न, समयको सदुपयोग गर्न बढी मन पर्छ। फुर्सदको समयमा बच्चाबच्चीहरुसँग समय बिताउन मन पर्छ, साथै पढाउने सिकाउने पनि गरेकी छु यसरी नै मेरो दिनहरु बित्ने गरेको छ आजकल। कुनैबेला, मलाई मात्र किन यस्तो भएको होला भनेर सोचेर बस्ने मान्छे म, आज आएर सयौ हजारौं मान्छेहरु म जस्तै र मेरो जस्तै अवस्थामा देख्दा एकदम दुःख लगेर आउँछ। त्यसैले भविष्यमा म जस्तै सुस्त श्रवण (सुनाइ अपांगता) तथा बहिरा र दृष्टिबिहिनहरूको समाजमामै रहेर केही गर्ने चाहना र सोच छ मेरो।

(लेखिका सुस्त श्रवण महिला हुनुहुन्छ।)

असोज १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्