चीनले हजाराैँ मानिसहरुलाई दियाे अप्रमाणित खाेप

कोरोना भाइरसविरुद्ध अहिलेसम्म सुरक्षित र प्रभावकारी खोप पत्ता लागेको छैन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अहिले ४० भन्दा बढी सम्भावित खोपहरु मानवीय परीक्षणको विभिन्न चरणमा छन्।

खोप बनाउने होडमा विश्वभरका वैज्ञानिक तथा सरकारहरु लागि परेका छन्। विश्वलाई नै ठप्प प्रायः बनाएको कोरोना भाइरस महामारीको एक मात्र अचुक उपायका रुपमा खोपलाई लिइएको छ र वैज्ञानिकहरु सामान्य भन्दा अति तीव्र गतिमा खोप विकासको प्रयासमा छन्।

खोप तीव्र गतिमा विकासको प्रयास भइरहँदा त्यसको सुरक्षात्मक क्षमता र प्रभावकारितालाई लिएर चासो र चिन्ता समेत व्यक्त हुँदै आएको छ। यहिबीचमा चीनले अप्रमाणित अर्थात विकासको क्रममै रहेको कोरोना भाइरसविरुद्धको खोप हजारौँ मानिसलाई दिइरहेको खुलेको छ।

द न्यूर्योक टाइम्समा प्रकाशित भएको खबर अनुसार चीनले अप्रमाणित खोप सरकारको स्वामित्वमा रहेको कम्पनीका कामदार, सरकारी अधिकारी, खोप कम्पनीका कर्मचारीसहितलाई लगाइ सकेको छ।

यस्तै शिक्षक, सुपरमार्केटका कामदार तथा जोखिमयुक्त क्षेत्रको यात्रामा निस्कनेहरुलाई प्रमाणित नभईसकेको अर्थात विकासको क्रममा रहेको खोप दिने तयारी गरेको छ।

विश्वले प्रमाणित खोप पाएको छैन, तर यसले चीन सरकारलाई रोकेको छैन। उसले निर्माणको चरणमा रहेको खोप दशौँ हजार मानिसलाई दिइएको छ, जो परम्परागत परीक्षणको प्रक्रिया भन्दा बाहिरका हुन्।

चीनले कोरोना भाइरसविरुद्धका सम्भावित तीन खोपहरु औषधि कम्पनीकै कर्मचारीसहितलाई दिएको हो । अन्ततः ती खोप सुरक्षित र प्रभावकारी हुने अपेक्षासहित चीनले अहिले नै खोप दिइरहेको खबरमा उल्लेख छ।

अधिकारीहरुले ती खोपहरु अझै धेरै व्यक्तिलाई दिने तयारी गरेका छन्। विश्वमा अरु कुनै पनि देशले परीक्षणको दायरा भन्दा बाहिरका मानिसलाई विकासको क्रममा रहेको अप्रमाणिमत खोप दिएका छैनन्।

तेस्रो चरणको मानवीय परीक्षणको क्रममा रहेका ती खोपहरु चीन बाहिर स्वतन्त्र रुपमा परीक्षणमा सहभागी हुन चाहेका मानिसहरुलाई दिइएको छ र वैज्ञानिकहरुले त्यसको प्रभाव (सकारात्मक वा नकारात्मक) कस्तो छ र प्रभावकारिता कस्तो छ भनेर नजिकबाट नियाली रहेका छन् ।

तर चीनमा परीक्षणको परम्परागत प्रक्रिया भन्दा बाहिरका व्यक्तिलाई पनि खोप दिइएको र सो खोप पाएकाहरु निगरानीमा रहे–नरहेको पनि स्पष्ट नभएको न्यूयोर्क टाइम्सको खबरमा उल्लेख छ।

अप्रमाणित खोपको गम्भीर असर मानव स्वास्थ्यमा पर्न सक्छ । सोही कारण वैज्ञानिक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बृहत स्तरमा मानवीय परीक्षण गरी त्यसको नतिजाको विश्लेषण पछि मात्रै कुनै पनि नयाँ खोपलाई सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गर्ने गरिन्छ।

अप्रभावकारी खोपले सुरक्षाको गलत अवधारणा सिर्जना गरी झन बढी संक्रमण तर्फ बढाउन सक्ने जोखिम रहन्छ ।

अहिले चीनमा बिस्तारित मात्रामा प्रयोग भइरहेको अप्रमाणित खोपले व्यक्तिको स्वीकृतिको विषयलाई पनि चासोको केन्द्रमा ल्याएको छ । सरकारी स्वामित्वका कम्पनीका कामदारलाई स्वइच्छा विपरित बाध्य पारेर खोप दिइएको हुन सक्ने भन्दै चिन्ता व्यक्त भएको छ।

तस्बिरहरु : राेयटर्स, इपिए र गेट्टी इमेज

असोज ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्