झापाका कोरोना संक्रमितको एम्बुलेन्सबाट झार्दाझार्दै विराटनगरमा मृत्यु

फाइल तस्बिर

विराटनगर – झापा कनकाई नगरपालिकाका कोरोना भाइरस संक्रमित एक पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको छ ।

भाइरसबाट संक्रमित ४७ वर्षीय पुरुषलाई शनिबार राति कनकाई नगरपालिकाबाट उपचार केन्द्रमा ल्याइएको थियो।

कोभिड १९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार भदौ ८ गते कोरोना पुष्टि भएसँगै विरामीलाई झापास्थित मेची अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

उपचारका क्रममा समस्या गम्भीर हुँदै गएपछि विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा शनिबार रिफर गरिएको थियो । यसक्रममा बिरामीमा शरीर कमजोर हुने, ज्वरो आउने लगायतका समस्या देखिएकाे बस्नेतले जानकारी दिए।

तर उपचारका लागि केन्द्रमा लिएर आएको एम्बुलेन्सबाट बिरामीलाई झार्दाझार्दै मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै व्यवस्थापक बस्नेतले जानकारी दिए।

यससँगै हालसम्म कोरोनाबाट प्रदेश १ मा ६३ जनाको मृत्यु भएको छ । जसमा १८ महिला र ४५ पुरुष रहेका छन् । प्रदेश १ भित्रबाट मृतकको संख्या ५० पुगेको छ । जसमा १६ महिला र ३४ पुरुष रहेका छन् । बाँकी प्रदेश १ बाहिरका रहेका छन् ।

असोज ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्