ड्रग्स मुद्दामा बलिउड अभिनेत्रीहरुसँग सोधपुछ, बयान लिँदालिँदै तीनपटक रोइन् दीपिका पादुकोण

भारतको नार्कोटिक्स कन्ट्रोल व्यूरोले बलिउडका तीन अभिनेत्रीहरुको बयान शनिबार लिएको छ।

ड्रग्स सेवनको मुद्दामा अभिनेत्री दीपिका पादुकोण, सारा अलि खान र श्रद्धा कपूरको शनिबार बयान लिएको हो। यही मुद्दामा जोडिएकी अर्की अभिनेत्री रकुलप्रितको बयान शुक्रबार नै लिइसकिएको छ।

बलिउडमा भएको ड्रग्स नेक्ससको बारेमा भइरहेको अनुसन्धानका क्रममा यी अभिनेत्रीहरुको बयान लिइएको हो। यो अनुसन्धान स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको कारण खोज्ने क्रममा ड्रग्सको विषयमा आइपुगेको छ। सुशान्तको मृत्युको कारण अनुसन्धान गर्ने क्रममा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको बयान लिने क्रममा अन्य बलिउड कलकारको नाम पनि ड्रग्समा जोडिएको छ ।

बयानका क्रममा अभिनेत्री सारा अलि खान र दीपिका पादुकोणले आफूले ड्रग्सको अर्डर गरेको भएपनि प्रयोग नगरेको बताएका छन्। दीपिका पादुकोणले ड्रग्स अर्डर गरेको च्याट र साराले सुशान्तसँग ड्रग्स प्रयोग गरेको भिडियो सार्वजनिक भएको थियो।

दीपिका रोइन्

एनसिबीले गरेको अनुसन्धानका क्रममा अभिनेत्री दीपिका पादुकोण धेरै पल्ट रोएको भारतीय मिडियाले उल्लेख गरेका छन्। आउँदै गरेको चलचित्रको छायाँकनको लागि गोवामा रहेकी पादुकोण बयान दिनकै लागि मुम्बई आएकी हुन्। उनले कलाबाको एनसिबीमा पुगेर बयान दिएकी थिइन्।

बिहान पौने १० मा कार्यालय पुगेकी दीपिका साढे ३ बजे बाहिर निस्किएकी थिइन्। सोधपुछका क्रममा अभिनत्री तीनपल्ट रोएकी थिइन्। उनलाई एनसिबिका पदाधिकारीले रोएर अनुसन्धानमा प्रभाव नपार्न आग्रह गरेका थिए। उनले आफ्नो म्यानेजर करिश्मा प्रकाशसँग ड्रग्स लिएको तर प्रयोग नगरेको बताएकी छन्।

अभिनेत्रीहरुसँगै बलिउडका केही निर्देशक तथा प्रडक्सन हाउससँग जोडिएका केहीलाई पनि सोधपुछ गरिएको छ।

असोज ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्