सञ्जीव उप्रेतीले अस्वीकार गरे पद्मश्री साहित्य पुरस्कार, भने- उत्पीडनको आरोप लागेका प्रश्रितसँग एउटै मञ्चमा पुरस्कार लिन सक्दिनँ

काठमाडौँ- उपन्यासकार सञ्जीव उप्रेतीले आफ्नो पछिल्लो कृति ‘हंस’का लागि प्रदान गर्ने घोषणा गरिएको ‘पद्मश्री साहित्य पुरस्कार’ अस्वीकार गरेका छन्। उप्रेतीसँगै पद्मश्री साधना सम्मानका लागि छनौट गरिएका राजनीतिज्ञ तथा लेखक मोदनाथ प्रश्रित यौन दुर्व्यवहारको आरोप लागेका व्यक्ति भएकाले उनीसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन आफूले नसक्ने उनले आयोजकलाई जानकारी गराएका छन्।

‘म लैंगिक हिंसा, उत्पीडन, जातीय-भेदका बिरुद्ध बोलिरहने व्यक्ति भएर यौन उत्पीडनको आरोप लागेका व्यक्तिसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन सक्दिनँ,’ उनले देशसञ्चारसँग भने, ‘प्रश्रितको देवासुर संग्राम मैले पनि पढेको छु, साहित्यकारका रुपमा मेरो उहाँलाई सम्मान छ तर उत्पीडनको आरोपमा उहाँमाथि किताब नै लेखिएको छ, त्यसलाई म बेवास्ता गर्न सक्दिन।’

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार उप्रेतीको उपन्यास ‘हंस’ लाई र पद्मश्री साधना सम्मान प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको थियो। दुवै पुरस्कारको राशि ३/३ लाख रुपैयाँको छ।

उप्रेतीले आफू ‘एप्लाई’ गरेर पुरस्कार लिने पक्षमा नरहेको तर प्रतिष्ठानले आफैँ फोन गरेर पुरस्कारका लागि छनौट भएको जानकारी दिएपछि उत्साहित भएको पनि बताए। ‘म आफैँ एप्लाई गरेर पुरस्कार लिनु हुँदैन भन्ने मान्यता राख्छु,’ उनले भने, ‘प्रतिष्ठानले भने मलाई शनिबारमात्र फोन गरेर पुरस्कारका लागि म छानिएको जानकारी दियो, कसैले सम्मानस्वरुप दिने पुरस्कार अस्वीकार गर्ने कुरा पनि भएन, मैले हुन्छ भनेँ तर अहिले आएर प्रश्रितसँगै मलाई पुरस्कृत गर्ने थाहा पाएर मैले आफूले लिन नसक्ने सूचना आयोजकलाई गराएको छु।’

आफूले पुरस्कारका लागि नलेखेको र पाठकको माया नै सर्वोपरी भएको उनले बताए। ‘मलाई एकजना पाठकले फोन गरेर मेरो किताबको बारेमा भन्यो भने त्यो नै मेरो पुरस्कार हो, एप्लाई गरी गरी पुरस्कार लिन मलाई मन लाग्दैन,’ उनले भने।

यसअघि ‘घनचक्कर’ उपन्यास आउँदा प्रकाशकले नै मदन पुरस्कारका लागि आवेदन दिएको र त्यसपछिका कृतिहरुका लागि आफूले प्रकाशकलाई पनि एप्लाई नगर्न आग्रह गरेको उनले बताए। ‘हंसको लागि पनि मैले प्रकाशकलाई कुनै पुरस्कारका लागि एप्लाई नगर्न अनुरोध गरेको छु,’ उनले भने।

उनले आफूलाई पुरस्कार अस्वीकार गर्दा दुख लागेको तर त्योबाहेक आफूसँग कुनै उपाय नभएको बताए। ‘उत्पीडनको बिरुद्ध मैले जिन्दगी बिताएको छु, अब उत्पीडनकै आरोप लगाएको व्यक्तिसँग मैले पुरस्कार लिन मिल्दैन,’ उनले भने।

पूर्वएमाले नेता प्रश्रितले आफूमाथि पटकपटक बलात्कार गरेको आरोप अर्घाखाँचीकी महिला शारदा भुसालले लगाएकी थिइन्। भुसालले लेखेको आत्मकथा ‘धरातल’मा उनले १३ वर्षको उमेरमा आफूसँग प्रश्रितले पटक-पटक जबर्जस्ती सम्बन्ध राखेको र यौन हिंसा गरेको आरोप लगाएकी छिन्। प्रश्रितले भुसालको पुस्तकमा लगाइएको आरोप निराधार रहेको बताएका थिए।

असोज ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्