जुगारी धान फल्ने त्रिवेणीका लोभ लाग्दो फाँट (फोटो फिचर)

दाङ-रोल्पा जिल्लाको जुगार भएर यात्रा गर्ने जो कोहीको मन ज्यूला जुगार फाटले तान्छ । यो फाटको विचोविच भएर जुगार खोला बगेको छ । पहेँलपुर भएर धानको बाला झुलेको छ। पहाडको फेदीमा रहेको यो फाट धान र गहुँ उत्पादनको दृष्टिले प्रख्यात छ। जुगारी चामले त्रिवेणीको चर्चा छ ।

शसस्त्र द्धन्द्धको समयमा धेरै पिल्सिएका यहाँका रोल्पाली अव भने समृद्धीको आशामा छन् । त्रिवेणी गाउँपालिका वडा नं. ५ ज्यूला जुगार फाटमा रहर लाग्दो धान खेती हुने गर्छ । यसपालि दशैं अघिनै नयाँ धान भित्र्याउने तरखरमा यहाँका किसान छन् । ३० विगाह क्षेत्रमा धान खेती गरिएको वडा अध्यक्ष कृष्ण केसीले बताए ।

‘यहाँ आउने सबैको मन यो फाँटले तान्छ । धेरै मानिस रमाउनुहुन्छ’वडा अध्यक्ष केसीले भन्नुभयो–‘सिंचाई सुविधा भएपछी उत्पादन बढेको छ।’ कुनै समय धानको गेडो देख्न समेत पाईदैनथ्यो । मकै, कोदोको भरमा बस्नुपर्थ्यो। धान खेती गर्न गाह्रो थियो । जुगार खोलाको पानीले सिंचाई सुविधा पुगेपछि जग्गा जमिन बाँझो छैन्।

त्रिवेणी गाउँपालिका भित्र यस्ता दर्जन बढी फाँटहरु छन् । जसले यहाँ खाद्यान्न र तरकारी उत्पादनमा नमुना क्षेत्र बनेका छन् । चवी, नुवागाउँ, वर्सिवाङ्ग, लिंडुग लगायतका खाद्यान्न उत्पादन र तरकारी उत्पादनमा नमुना क्षेत्र भित्र पर्ने गरेको वडा अध्यक्ष केसीले बताए ।‘हाम्रो गाउँपालिका भित्र खाद्यान्न र तरकारीको अभाव छैन् । यहाँको उत्पादन बुटवल, नेपालगञ्ज, पोखरा, काठमाण्डौं सम्म पुग्ने गरेको छ’उहाँले भने, ‘हामीले समृद्धि कृषि क्षेत्रबाटै देखेंका छौं र समृद्धिको यात्रा तिब्र गतिमा अघि बढिरहेको छ ।’

त्रिवेणी गाउँपालिकाले कृषि अन्तरगत व्यवसायिक तरकारी खेतीमा प्राथमिता राखेको छ। जसअन्तरगत प्रदेश ५ सरकार र अन्य सहयोगी निकाय संग समेत साझेदारी गरेर व्यवसायीक तरकारी खेतीमा जोड दिएको गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले बताए।

२०५७-०५८ बाट त्रिवेणीमा व्यवासयीक तरकारी खेती सुरु भएको थियो। पछि २०६२-०६३ बाट यसको क्षेत्र विस्तार हुदै गयो। अहिले स्थानीय तहमा जनप्रतिनिधि आईसकेपछी झनै क्षेत्र बढेको छ । कोभिड–१९ का कारण प्रभावित भएको तरकारी खेती फेरी तङ्ग्रीन थालेको छ ।

हार्टबजारहरुमा किनमेल सुरु भएको छ । निगालपानी, नुवागाउँ यहाँका ठूला हार्ट बजार हुन । वडा वडामा समेत साना हार्ट बजार छन्। ‘पहिला दैनिक ३०-४० ओटा गाडी आउथे भने अहिले त्यही हो १२-१५ ओटा गाडीले तरकारी लगेर अनेत्र गैरहेको छ’गाउँपालिकाका अध्यक्ष ओलीले भने–‘झण्डै एक सय विगाह जग्गामा व्यवसायीक तरकारी खेती हुन्छ । राम्रो गर्ने किसानले सिजनमा ४-५ लाख समेत कमाउछन् ।’

कृषि सहकारी र समुह मार्फत यहाँ व्यवसायीक तरकारी खेती अघी बढेको हो । किसानहरुले तरकारी उत्पादन बढाए संगै चिस्यान केन्द्र(कोल्डस्टोर) समेत बनाउन थालिएको छ। प्रदेश ५ सकारको सहयोगमा त्रिवेणी गाउँपालिकाको दहवनमा कोल्डस्टो बनाउन थालिएको हो।

असोज १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्