दशैँका लागि यातायात टिकट बुकिङ के हुन्छ ? व्यवसायी भन्छन्- यात्रु नै छैनन्, भएका पनि प्लेनले खोसे

काठमाडौं- दशैँ आउन अब एक महिना पनि छैन। विगतका वर्षहरुलाई हेर्ने हो भने यो टिकट बुकिङ खुला भइसक्ने समय हो।

तर कोरोना भाइरसको महामारी र लकडाउनको अन्योलताका कारण यसपटक टिकट बुकिङ के हुन्छ ? अहिलेसम्म निश्चित छैन। नेपाल यातायात राष्ट्रिय व्यवशायी महासंघका महासचिव सरोज सिटौला टिकट बुकिङबारे छलफलसमेत नभएको बताउँछन्।

सिटौलाले यात्रुहरुमा पनि घर जाने उत्साह नदेखिएको बताए। ‘फेरि लकडाउन हुने हल्ला छ। अहिले टिकट खुला गरेर भोलि लकडाउन भयो भने समस्या हुन्छ। त्यसैले एकदमै अन्योलको अवस्था छ’, सिटौलाले भने।

उनले विद्यार्थीलगायत घर जानैपर्ने अवस्थाका धेरै मानिसहरु काठमाडौंबाट बाहिरिसकेको बताए। उपत्यकामा रहेका अन्य मानिसहरु घर जाने/नजाने अन्योलमा रहेको सिटौला बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजारभन्दा बढी सक्रिय संक्रमित रहेको अवस्थामा पुन: लकडाउन गर्न सरकारलाई सिफारिस गरिसकेको छ।

सरकारले करिब ६ महिनापछि गत असोज १ गतेदेखि लामो तथा मध्यम दुरीका सवारी साधन सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। सिट क्षमताको आधा यात्रु मात्र ल्याउन/लैजान र ५० प्रतिशत बढी भाडा यात्रुसँग असुल्न सरकारले व्यवशायीका लागि निर्णय गरिदिएको थियो। तर यो निर्णय व्यवशायीको पक्षमा नरहेको सिटौला बताउँछन्।

‘पहिलो कुरा,  सरकारले सिट क्षमताको आधामात्र यात्रु बोक्नु भनेको छ। ५० प्रतिशत बढी भाडा असुल्नु भनेको अहिलेको अवस्थामा यात्रुमाथि ज्यादति हो। उनिहरु यति महँगो भाडा तिर्नुभन्दा लगभग त्यही भाडा दरमा  प्लेनले यात्रु लगिरहेका छन्।  प्लेन नजाने ठाउँमा मात्र व्यवशायीले फाट्टफुट्ट यात्रु पाएका छन्’, उनले भने।

सिटौलाले सिट क्षमताको आधा मात्र यात्रु राख्ने शर्त हटाउन सरकारसँग माग गरिएको बताए। ‘यातायात चलेको छ भन्दा चलेको छ जस्तै भयो। व्यवशायी र यात्रु दुवै थप मारमा परे’, उनले गुनासो गरे।

असोज १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्