विराटनगरमा एकजना कोरोना संक्रमितको मृत्यु

मोरङ-विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस कोभिड १९ का संक्रमित पुरुषको मृत्यु भएको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार सोमबार झापाको गौरादह १ का ५१ वर्षीय पुरुषको दिउँसो १ बजे मृत्यु भएको हो।

दाहालले विरामीलाई गत मंगलबारदेखि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको बताए। श्वासप्रश्वासमा समस्या हुन थालेपछि विरामीलाई असोज ३ गते शनिबार उपचारका लागि नोबेल ल्याइएको उनले जानकारी दिए।

स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा मंगलबार रिपोर्ट पोजेटिभ आएर कोरोना पुष्टि भएपछि अस्पतालकै आइसोलेसनमा भर्ना गरिएको थियो।

अस्पतालका अनुसार मृतकमा मधुमेह, उच्च रक्तचाप र कलेजो सम्बन्धि पुरानै समस्या थियो । केही दिनदेखि श्वास फेर्न गाह्रो हुने समस्या थपिएको थियो।

यससँगै प्रदेश १ मा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ।

असोज १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्