होम आइसोलेसनमा बसेकी महिलाको मृत्यु

नेपालगञ्ज –बाँकेमा ७६ वर्षकी बृद्धाको कोरोनाबाट मृत्यु भएको छ ।
जाजरकोटको जुनीचाँदी–५ घर भएकी महिला कोहलपुरमा होम आइसोलेसनमा बसेकी थिइन् । कोहलपुरमा उनको छोरा बस्दै आएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार, असोज ६ गते कोरोना पुष्टि भएकी महिला होम आइसोलेसनमा बसेकी थिइन्।
सोमबार स्वास्थ्य बिग्रिएपछि उपचारका लागि मेडिकल कलेज कोहलपुर लैजादै गर्दा मृत्यु भयो । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले अस्पताल परिसरमा पुग्ने बित्तिकै बिरामीको मृत्यु भएको जानकारी दिए।
स्वास्थ्यकर्मीका अनुसार, पित्तथैलीको समस्या झेलिरहेकी महिलालाई कोरोना पुष्टि भएपछि घरमा राख्नु हुँदैनथ्यो । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले ६० वर्षमाथिलाई होम आइसोलेसनमा राख्न नपाइने दावी गरे।
सरकारले होम आइसोलेसनमा बस्न पाउने सुविधा दिएपनि जेष्ठ नागरिक र दीर्घरोगीको हकमा त्यो खतरनाक सावित भएको छ।
बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउदा मृत्यु हुनेको संख्या सात पुगेको छ ।