सोमबार ३६ संक्रमित थपिए, दुईको मृत्यु

प्रदेश-२ मा डिस्चार्ज हुनेको संख्‍या बढ्‍यो, ९ हजार नजिक

जनकपुरधाम- प्रदेश-२ मा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। सोमबार प्रदेशको विभिन्न जिल्लाबाट २ सय २७ महिला र ७ सय ६० पुरुष गरी ९ सय ८७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

यससँगै कोरोनाबाट निको हुनेको संख्या ८ हजार ७ सय ३६ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

सोमबार बारामा सबैभन्दा बढी २ सय ५ जना डिस्चार्ज भएका छन्। त्यस्तै रौतहटमा २ सय १, महोत्तरीमा १ सय ७५, धनुषामा १ सय ५२, सर्लाहीमा १ सय २०, पर्सामा ९२, सप्तरीमा २२ र सिरहामा २० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

हाल सम्म सबैभन्दा बढी पर्सा जिल्लामा कोरोना संक्रमित डिस्चार्ज भएका छन् । पर्सामा २ हजार ५ सय ४१ जना कोरोना संक्रमित रहेकोमा २ हजार २ सय ३२ जना डिस्चार्ज भएका छन् । धनुषामा १ हजार ९ सय २० जना कोरोना संक्रमित रहेकोमा १ हजार १ सय ५८ जना डिस्चार्ज भएका छन्।

बारामा १ हजार २ सय ७४ जना कोरोना संक्रमित रहेकोमा १ हजार १ सय ४९ जना डिस्चार्ज भएका छन् भने रौतहटमा १ हजार ९ सय ५ जना संक्रमित रहेकोमा १ हजार १ सय २८ जना डिस्चार्ज भएका छन्।

सप्तरीमा १ हजार २ सय २६ जना कोरोना संक्रमित रहेकोमा ९ सय ६१ जना डिस्चार्ज भएका छन् । सर्लाहीमा १ हजार ९ सय ३ जना कोरोना संक्रमित रहेकोमा ९ सय १७ जना डिस्चार्ज भएका छन् । महोत्तरीमा १ हजार ४ सय २३ जना संक्रमित रहेकोमा ६ सय ७ जना डिस्चार्ज भएका छन्।

सिरहामा १ हजार २ सय २७ जना कोरोना संक्रमित रहेकोमा ४ सय ९ जना डिस्चार्ज भएका छन् भने विभिन्न अन्य स्थानका १० जना कोरोना संक्रमित रहेकोमा ६ जना डिस्चार्ज भएका छन् ।

सोमबार ३६ संक्रमित थपिए, दुईको मृत्यु


प्रदेश २ मा आज थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै कोरोना संक्रमितको संख्या १३ हजार ४ सय २९ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा बारामा १६ जना, पर्सा र धनुषामा ६-६, रौतहटमा ३, सिरहामा २, सप्तरी, सर्लाही र महोत्तरीमा १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमणबाट प्रदेशमा दुईजनाको मृत्यु भएको वरिष्ठ प्रशासक झाले बताए । आज धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ बालाबाखर टोलका ६५ वर्षीय पुरुष र सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका वडा नं. ३ घर भई हाल प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत रहेका ७२ वर्षीय महिलाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या १ सय २९ पुगेको छ।

असोज १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्