विश्व पर्यटन दिवसमा सुनसान ठमेल (तस्बिरसहित)

काठमाडौँ– आइतबार ‘४१ औं विश्व पर्यटन दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। तर विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण पर्यटकको स्वागत भने हुन सकेन।

यसअघिको वर्षहरुमा पर्यटन दिवसको अवसरमा मुलुकको विभिन्न सीमानाकामा र अन्तराष्ट्रिय विमानस्थलमा पर्यटकको स्वागत गर्न भ्याइनभ्याइ हुन्थ्यो। पर्यटकका लागि पहिलो गन्तव्य ठमेल पनि यस वर्ष सुनसान देखिएको छ।

हरेक वर्ष सेप्टेम्बर २७ को दिन विश्वभर पर्यटन दिवस मनाउने गरिएको छ। अन्तर्राष्ट्रिय समुदायमा पर्यटनको भूमिकाका बारे चेतना जगाउने र यसले विश्वव्यापी रूपमा सामाजिक, सांस्कृतिक, राजनैतिक र आर्थिक मूल्यमान्यताहरूलाई कसरी प्रभाव पार्छ भनेर प्रदर्शन गर्ने उद्देश्यले सन् १९८० देखि यो दिवस मनाइँदै आइएको हो।

यस वर्ष पनि ‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाइएको छ। तर यो वर्ष भने कोरोना प्रकोपको कारण पर्यटकहरुको स्वागत बिनै दिवस मनाउन बाध्य हुनुपरेको छ।

यसअघिको वर्षहरुमा मुलुकको विभिन्न सीमा नाकामा र अन्तराष्ट्रिय विमानस्थलमा पर्यटकको स्वागत गर्न भ्याइनभ्याइ हुने गरेको थियो भने पर्यटकलाई लोभ्याउन होटलहरुले विभिन्न छुटका योजना सार्वजनिक गर्ने गरेका थिए। त्यस्तै काठमाडौँको मुख्य पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका व्यवसायीहरुले विभिन्न प्याकेज घोषणा गरी पर्यटकलाई छुट दिँदै आएका थिए।

तर, यो वर्षको पर्यटन दिवसमा भने कोरोना संक्रमणको महामारीका कारण ठमेल क्षेत्र सुनसान बनेको छ। अघिल्लो वर्षहरुको पर्यटन दिवसको दिन छुट्टै माहोलसहित आन्तरिक र बाह्य पर्यटकको भीड हुने गरेकोमा यो वर्ष सुनसान बनेको व्यवसायीले बताएका छन्।विदेशी पर्यटक शून्य छन् भने आन्तरिक पर्यटकसमेत पाउन मुस्किल भएको व्यवसायीहरुको भनाइ छ।

ठमेल क्षेत्रका व्यापारीहरुको मात्रै नभइ मुलुकभरकै पर्यटन व्यवसायीको उस्तै अवस्था छ। पर्यटकको उपस्थिति शून्य भएसँगै व्यवसायीहरू फुर्सदिला बनेका छन्।

महँगो घर भाडा, बैंकको व्याज बढ्दै जाने तर पर्यटकको आगमन ठप्प हुँदा कतिपय व्यवसायीले पलायन हुने अवस्थामा आएको गुनासो गरेका छन्।

असोज १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्