कोरोना भार, भिन्न धार-२: हामी कहाँ चुक्यौँ र अब के गर्नुपर्ला?

चीनको हुवेई प्रान्तको वुहान शहरबाट हाँगा हालेको नोवल कोरोना भाइरस एकपछि अर्को गर्दै समग्र विश्वभर फैलिई सम्पूर्ण मानवजगत प्रभावित भएको छ।

विशेषतः विश्वका सम्पन्न राष्ट्रमै पनि यो रोगबाट दिनानुदिन अप्रत्याशित रुपमा धेरै मानिसहरु सङ्क्रमित हुन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘महामारी’ (Pandemic) का रुपमा प्रचार प्रसार गरेको छ।

नेपाल विकासको गतिमा बामे सर्दै छ । साक्षर सङ्ख्या धेरै देखाइएतापनि शिक्षित प्रतिशत कम छ । फलतः कैयन् व्यावहारिक क्रियाकलापमा हाम्रा गाउँघरका गतिविधि कताकतै ‘कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा’को स्थिति उत्पन्न नभएको पनि हैन ।

शायद यसैले होला हामीकहाँ एकाध व्यक्तिमा मात्र कोरोनाको छिटा देखिँदाबित्तिकै कोरोनाले जगाएको सन्त्रासबाट त्रसित बन्दै जीवन रक्षाका लागि मास्कको प्रयोग, साबुन–पानीले हात धुनुपर्ने, बाहिर ननिस्कने – घरभित्रै बस्नुपर्ने जस्ता लकडाउनको विधिलाई चैत ११ (मार्च २३) देखि नै अनिवार्य अपनाउन बाध्य पारियो ।

जति समय घर्किंदो छ, उति यसको प्रकोप बढ्दो छ र यसले आतङ्क सिर्जना गर्दाे छ । मानिसहरु अनेक अड्कलबाजी, अनेकानेक शङ्का उपशङ्का गरिरहेछन् । सरकारी संयन्त्रमा भ्रष्टाचारका चरणहरुले हाँगाबिँगा हाल्दै गएको चर्चा हाम्रा कानले सुन्न विवश हुनुपरेको छ । हुन पनि कम मूल्यका मास्क, थर्मल गन, पीपीई आदिलाई कति–कति गुणा बढी मूल्य तिरेर किन्न सर्वसाधारण जनता बाध्य बने ।

सरकारको ठेकदारले नै विदेशबाट बडीमा किनेर ल्याउनुपर्‍ यो अरे ।स्यानिटाइजर भन्यो हाल आएर नक्कली स्यानिटाइजर उत्पादन भइरहेको तथ्य बाहिर आइरहेछ । कोरोना भाइरस लागेको हो वा होइन भनेर पत्ता लगाउनका निमित्त गरिने आरडीटी र पीसीआर परीक्षणमा त्यसको वास्तविक मूल्यभन्दा कैयौं गुणा बढी मूल्य तिर्न बाध्य हुनुपरेको एकातिर छ भने त्यसको परीक्षणमा खासै विश्वसनीयता नभएको प्रतिक्रिया पनि प्रशस्त मात्रामा सुनिएको छ ।

कोरोना भाइरसबाट बच्नका लागि भारतमा प्रयोग हुने गरेको औषधी रेम्डिसिभर प्रारम्भमा नेपालमा आयात गर्न अनुमति दिइएन । जब त्यसको अनुमति भयो, सीमित अस्पतालबाट मात्र यसको सिफारिस हुन थाल्यो । केवल २५००/३००० मा उपलब्ध हुनुपर्ने औषधीलाई ठाउँ हेरी १६ हजारदेखि ५०/६० हजारसम्म पनि तिर्न बाध्य हुनुपरेको सुनियो ।

कोभिड १९ बारे अत्यन्त बढी त्रास फिँजाइएको हुँदा मानिसहरु ‘मर्नै परेपछि खुट्टै किन नपसारौँ’ (अर्थात हिन्दी भनाइ ‘मरता क्या नहीँ करता’) भन्ने अवस्थामा पुगी आफ्नो जीवनको सुरक्षाको लागि जति पनि पैसा खर्च गर्नमा पागलपन नै देखाउन पछि नपरेको अवस्था उत्पन्न भयो । यो सबैको पछाडि जिम्मेवार को ?

विगतमा निरक्षरताका कारण मानिसहरु समाजका सामन्त, फटाहा, जमिन्दार, टाँठाबाठा, आदिबाट प्रताडित रहने गर्दथे । समाजमा गलत काम गर्नेहरुको मृत्यु भएपछि वा तीनको मृत्युपछि सद्गति हुन नसकेमा तिनले ‘भूतप्रेत, पिशाच, किचकन्नी, ख्याक’ आदिको रुप लिई समाजमा बबण्डर मच्चाउँछ भन्दै सीधासादा जनतालाई अनावश्यक डर देखाई विभिन्न किसिमका दबाब, अन्याय, अत्याचार, शोषण, दमन र बलात्कारसमेतका घटनाहरु थोपर्ने गर्दथे ।

आज ‘समाजवादउन्मुख समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था’ लागु गरेकोमा गर्व गर्ने हाम्रा राजनीतिक नेताहरुको छत्रछायामा यहाँका निमुखा जनता जनार्दनले पूर्वकालमा जस्तै विभिन्न खालका शोषण, दमन, अन्याय, अत्याचार र बलात्कारका घटना व्यहोर्न बाध्य छन् ।

आजभन्दा ५०/६० वर्षअघि बूढापुरानाहरुले भूतप्रेत, पिशाच, ख्याक, किचकन्नी आदिको चर्चा गर्दा परिवर्तनकामी सचेत नागरिकहरु ‘के तपाइँको आफ्नै आँखाले देखेको हो ?’, ‘तपाइँले देख्नुभएको छ – तीनको रुप रङ, आकार–प्रकार ?’ भन्दै फरक विचार प्रस्तुत गरी सर्वसाधारण जनतालाई यी अन्धविश्वासबारे सचेत पार्ने गर्दथे ।

यस किसिमको कथा आज पनि कतिपय गाउँघरमा भूत–प्रेतका सबै कथाहरु भन्थे–भन्थे किम्बदन्तीका रुपमा हामी र हाम्रा अबोध बालबालिकासम्ममा पुर्‍याई अनावश्यक डर, त्रास पैदा गराउन प्रयोग हुने गरेका छन् । ठीक उसै गरी आज कोविड १९ को ‘नयाँ ख्याक’ हाम्रोबीच आएको छ र यसले हाम्रो काम–धाम, पठन–पाठन, शिक्षा–दीक्षा, आवत–जावत, पूजा–पाठ, यात्रा–जात्रा सबै क्षेत्रलाई तहस–नहस पारिदिएको छ ।

जुन बेला केवल एक/दुईजनामा मात्र यो कोरोनाको समस्या नेपालभित्र देखापरेको थियो त्यो बेला तत्काल बन्दाबन्दी (लकडाउन) गर्नु आवश्यक थिएन । आवश्यकता थियो त सजगता, सचेतना र जनचेतनाको । यसका लागि सर्वप्रथम हाम्रा स्वास्थ्यकर्मीहरु, शिक्षकवर्ग, सुरक्षाकर्मी, ट्राफिक प्रहरी, यातायात व्यवसायी र मजदुर (ड्राइभर र तीनका सहयोगी) हरु, स्वास्थ्य शिक्षा ग्रहण गर्दै गरेका शिक्षार्थीहरु, समाजसेवी, राजनीतिकर्मी आदिलाई नोवल कोरोना भाइरस भनेको के हो ? पुरानो कोरोना भाइरस र नोवल कोरोना भाइरस बीचको अन्तर के हो ? यसबाट कसरी बच्न र बचाउन सकिन्छ ? जस्ता कुराहरुमा सबै तह र तप्काका सरोकारवालाहरुलाई योजनाबद्ध र चरणबद्ध रुपमा सचेतनाको कार्यक्रम ल्याउनुपर्ने थियो । तर यसमा हामी चुक्यौँ ।

साथै तेस्रो मुलुकबाट नेपालीलाई फर्कने अवसर प्रदान गर्ने कुरामा राज्य जति कठोर देखा पर्‍यो, त्यो भारतमा रहेका नेपालीहरुका बारेमा देखिएन । जे–जति आउँदै थिए, तीनलाई सुरक्षित तवरले नेपाल प्रवेशको अनुमति प्रदान गरी प्रवासी नेपालीबाट स्वदेशी नेपालीहरु सुरक्षित रहन सक्ने प्रत्याभूति दिन ठोस कदम चाल्नुपर्दथ्यो । तर यो भएन ।

उल्टै सरकारले कोरोनाबाट बच्नका लागि ठेकेदारी विधिबाट खरिद गरिएको मास्क, पीपीइ र आर्डीटीलगायतका स्वास्थ्य सामग्रीमा घोटाला भएका कुराहरु सञ्चार माध्यममा आयो । कैयन् जनसाधारण आक्रोशित बने । विश्वभर फैलिएको भनिएको महामारीबाट बच्न हाम्रो ‘कम्युनिष्ट’ सरकारले जे जस्तो जनउत्तरदायी कार्यहरु गर्नुपथ्र्यो तिनका साटो भ्रष्टाचारीहरुलाई पोस्न उद्दत रहेको भन्दै आफ्नै दलका नेताहरुको कोपभाजनको शिकार बन्नुपर्‍यो यो सरकार । फलतः आज हामी दिनप्रतिदिन कोरोनाको भयावह असर भोग्न बाध्य बन्यौं ।

६/६ महिनासम्म विद्यालय, क्याम्पस/कलेजहरु र विश्वविद्यालयहरु बन्द भइदिँदा समस्त विद्यार्थीहरु र त्यसमा पनि ३ वर्षदेखि १० वर्ष उमेर समूहका बालबालिकाहरु सबभन्दा बढी प्रभावित छन् । प्रारम्भिक उमेरका बालबालिकाहरुको हरेक सेकेन्ड, मिनेट, घण्टा र दिन महत्वपूर्ण छ ।

चिलीका नोबेल पुरस्कार विजेता कवि ग्याब्रियला मिस्ट्रेलले “मेरो नाम ‘आज’ हो” भन्ने कवितामा बताएजस्तै यो उमेरका बालकहरुले पर्खन सक्दैनन् । तिनले आज सिक्नुपर्ने कुरा भोलि वा छ महिनापछि वा एक वर्षपछि सिकेर हुँदैन । यसबारे सम्बन्धित सबै जिम्मेवार व्यक्तिहरु बेखबर रहेका छन् । भोलि यो उमेर समूहका बालबालिकाहरु वयस्क हुँदा आजको हाम्रो पिँढीलाई माफी दिनेवाला छन् जस्तो लाग्दैन ।

कुनै कुनै विद्यालय, क्याम्पस/कलेज र विश्वविद्यालयले अनलाइन कक्षा, भर्चुअल कक्षा सञ्चालन गरेको भएतापनि अति न्यून सङ्ख्यामा सहभागिता रहेको र कम प्रभावकारी हुन सकेको भनी सरोकार राख्ने संस्थाहरु र अभिभावकहरु बताइरहेछन् भने सचेत अभिभावकहरुले अङ्ग्रेजी, गणित र विज्ञान विषयका कक्षाहरु सञ्चालन भएकोमा खुसी पनि व्यक्त गरिरहेका छन् ।

तर कोही अभिभावकहरु भने यी विषयको अनलाइन कक्षाको नाममा बोर्डिङको फी तिर्नुपर्ने ता होइन भनी सशङ्कित रहेका गुनासो पनि सुन्नमा नआएको होइन ।

केही वर्षयता बालबालिकाहरुमा अनुशासनको स्तर घट्दै गइरहेको चर्चा हुने गरेको छ । बालबालिकाहरु अनुशासनहीन बन्दै जानुका पछाडि कतिपय अभिभावकहरु विद्यालय, क्याम्पस र कलेजका शिक्षकहरुको कमजोरी सम्झन्छन् । त्यसरी नै विद्यालय, क्याम्पस र कलेजका शिक्षकहरु अभिभावकहरुमाथि दोष लगाइरहेछन् किनकि बालबालिकाहरु हरेक दिनको २४ घण्टामध्ये ६/७ घण्टा मात्र विद्यालयमा रहन्छन् भने ८/९ घण्टा सुतेर बिताएतापनि बाँकी समय घरपरिवार अथवा अभिभावकसँग रहेका हुन्छन् ।

आजभोलि सानो परिवार सुखी परिवार भन्ने नारालाई आत्मसात गर्दै प्रायः अभिभावकहरु आफ्ना सन्तानलाई सर्वस्व सम्झी औधी माया दिइरहेका छन् । सानालाई माया गर्नु राम्रो कुरा हो । तर अनुशासनका कुराहरु घरमा पनि हुन्छ र हुनुपर्दछ । यो लकडाउनका बेला घरघरमा आफ्ना आमा–बुबा र अभिभावकसँग समय बिताइरहेका बालबालिकाहरुलाई हाम्रा दैनिक जीवनसँग सम्बन्धित व्यावहारिक कुराहरुमा पोख्त तुल्याउने काम अभिभावकहरुको पनि हो र कदम कदममा अपनाउनुपर्ने अनुशासनका नियमहरुबारे सचेत पार्नुपर्ने दायित्व पनि, हैन त ?

यसमा अभिभावकवर्गबाट के–कस्तो भूमिका निर्वाह भएको छ त ? यी प्रश्नहरु पनि उठ्ने गरेका छन् किनकि घर पहिलो पाठशाला हो र आमा पहिलो शिक्षक । आफ्ना लालाबालालाई खानपान, लत्ताकपडा, शिक्षादीक्षा, खेलौनालगायतका हर सपना र माग पूरा गरिदिने अभिभावकले आफ्ना बालबालिकालाई यसबारे सचेत पार्नसक्ने वातावरण घरभित्रै निर्माण गर्नु आजको टड्कारो आवश्यकता हो ।

यसका साथै विद्यालय र शिक्षकले पनि अभिभावकसँग समन्वय गरी हरेक बालबालिकालाई अनुशासित तुल्याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु जरुरी छ । आजका बालबालिकालाई अनुशासित, जिम्मेवार र लगनशील बनाउन सकेमा नै भोलिकाे नेपाललाई समृद्ध बनाउन सहज हुनेछ ।

अर्कोतिर देशमा परिवर्तनका लागि भएका आन्दोलनहरुले बालबालिकाहरुमा सकारात्मकभन्दा नकारात्मक छाप बढी पर्न गएको छ । उनीहरु हाम्रा नेता र अग्रजहरुले अपनाएको भद्दा गतिविधिका अनुयायी बनेका छन् र अनुशासनको मूल्य मान्यताका मर्महरुबाट टाढिरहेको अवस्था छ । यसप्रकार यी विविध कारणबाट बालबालिकाहरुले अनुशासनको महत्व बुझ्न नसकेको अवस्था उत्पन्न हुन गएको तर्क गर्ने अभिभावकहरु पनि कम छैनन् ।

हुन पनि नेपालमा वि. सं. २००७ देखि वि.सं. २०६१/०६२ मा भएका विभिन्न आन्दोलन, ऐतिहासिक जनआन्दोलन तथा जनयुद्ध, विज्ञान तथा प्रविधिले मारेको छलाङ, वर्तमान २०७६/०७७ मा उत्पात मच्चाइरहेको ‘कोविड १९’ का कारण पनि बालबालिकाहरुमा अनुशासनको स्तर घट्दै गइरहेको छ ।

विद्यालय जाने उमेरका बालबालिकाहरुले अचेल घर–घरमा अभिभावकवर्गको हुर्मत लिइरहेको, घर–टोल–छिमेकमा ‘आगो’ बालिरहेको चर्चा पनि नसुनिएका होइनन् । जेसुकै कारणबाट यो अवस्था सिर्जना भएको होस्, यसबखत हामीले एकअर्कोप्रति दोषारोपण गर्नुभन्दा यस सवालमा सचेत बन्दै बुद्धिमत्तापूर्वक समाधान पहिल्याउन हामी सबै तह र तप्काका सरोकारवर्गले आ–आफ्नो तर्फबाट आ–आफ्ना जिम्मेवारी लिई यसमा म किन पहिलो नहुने भन्दै नतिजाप्रधान प्रतिफल हासिल गर्नका लागि सहकार्यको प्रयास हुनु अन्यन्त जरुरी छ ।

वर्तमानमा कोरोनाले मच्चाएको कथित वितण्डाका बीचमा पनि आफ्नो भविष्य र जिम्मवारीबारे सचेत विद्यार्थीहरु भने आफूलाई विभिन्न रुपमा क्रियाशील बनाइरहेका छन् । तर आफ्नो भविष्य र जिम्मेवारीबारे बेपर्वाह विद्यार्थीहरु भने अभिभावकका लागि ठूलो टाउको दुःखाइ भएको कुरा सम्बन्धित अभिभावकहरुको गुनासोबाट बुझिन आएको छ ।

के वर्तमान अवस्थामा यो कथित कोरोनाको कहरलाई अनुशासनसँग जोड्दै एउटा अवसरका रुपमा प्रयोग गर्न सकिँदैन ? यो समयमा हामीले सानादेखि ठूला विद्यार्थी भाइबहिनीहरुलाई हाम्रा परम्परागत संस्कार (काजक्रिया) को ज्वलन्त उदाहरण दिँदै ‘सरसफाइ किन?’, ‘के गर्नाले हामी सुरक्षित हुन सक्छौं’, ‘कसरी हामीले आफू पनि सुरक्षित रहँदै हाम्रा घरपरिवारका दीर्घरोगी र बाल–बृद्धा बनितालाई सुरक्षित राख्न मद्दत गर्न सक्छौं ?’ जस्ता अहम् सवालहरुमा घरबाट निस्कने बेलादेखि विद्यालय परिसरमा प्रवेश गर्ने बेलासम्म, विद्यालयको कक्षाहरुमा अध्ययन गर्दै गर्दादेखि पठन–पाठन सकेर घरमा फर्कने बेलासम्म, गाडीमा जानुपर्ने भए गाडीभित्र कसरी बस्ने र एकआपसमा के–कस्तो सामाजिक दूरी कायम गर्ने जस्ता अत्यन्त व्यवहारिक क्रियाकलापमा सचेत तुल्याउँदै अनुशासनका झिना–मसिना कुरा सिक्न र सिकाउन योजनाबद्ध रुपमा र चरणबद्ध तवरमा भरमग्दुर प्रयास गर्नुपथ्र्यो । तर आज यो हाम्रो लागि फुत्केको माछो भएको छ ।

तथापि आज कता–कता राज्यको आँखा खुलेको हो कि भन्ने आभास अहिले भइरहेको छ बालबालिकाहरुलाई पठन–पाठनको अवसरबाट बञ्चित गर्न नहुने सवालमा । यसैबीच पनि विज्ञवर्गबाट समूह–समूह निर्माण गरी क्याम्पस वा कलेजस्तरका विद्यार्थीलाई, ती विद्यार्थीबाट ९–१२ का विद्यार्थीलाई, र ११–१२ का विद्यार्थीले घर–टोल–छिमेकका आधारभूत तहका विद्यार्थीहरुलाई सचेतना जगाउने अभियानमा जुट्न आवश्यक छ ।

साथै आज मानिस जुन अवस्थामा आइपुगेको छ, त्यो प्रकृतिसँग भयभीत भएर होइन, प्रकृतिसँग सङ्घर्ष गर्दै, प्रकृतिसँग मित्रता गर्दै, प्रकृतिबाट सिक्दै र यसलाई आफूअनुकूल उपयोग गर्ने प्रयास गर्दै नै अगाडि बढेको हो । वर्तमान कोरोनाको कहरमा पनि मानिस पछाडि हटेर होइन, डटेर मुकाबला गर्ने हिम्मत गरेर अगाडि बढ्नु जरुरी छ । यसतर्फ सरकार, नेताहरु, प्रकृतिको व्यवहार र गतिविधिलाई आत्मसात गरेका प्रकृतिप्रेमी वा प्रकृतिपूजारीहरु सबैको ध्यान जाओस् । हामी सबै लागौं ।

सामान्य रुघाखोकी लाग्दा पनि कोरोना हो कि ? मौसम परिवर्तनका बेला समयसालअनुसार टाउको दुख्दा वा ज्वरो आउँदा पनि सारा मानिसहरुमा कोरोना कहरको ‘नयाँ ख्याक’ले हो कि भनेर सातो खाइदिएको अवस्था छ । वास्तवमा रुघा, खोकी, ज्वरो आदि हामीहरुको खानपान शैली, मौसमी असर आदिका कारण उत्पन्न हुने गर्दछ ।

यस्तो बेला हाम्रा पुर्खाले सिकाएका जिम्मु, धनियाँ, बेसार, तुलसी, ज्वानो, मुग्रेलो आदिको भाग मिलाएर पानीमा पकाएर खाँदा यी मौसमी प्रभावबाट छुटकारा पाउने गरेकै हौँ र आजसम्म पनि धेरै नेपालीहरु यसलाई व्यवहारमा प्रयोग गर्ने गर्दछन् । त्यस्तै कागती, पुदिना, गुर्जोको लहरा आदिको प्रयोग पनि हामीलाई स्वस्थ र तन्दुरुस्त राख्दै रोगप्रतिरोधी क्षमता बृद्धि गर्नमा फलदायी सावित भएका हुन् ।

शायद यसै तथ्यबाट प्रभावित भएर हाम्रा प्रधानमन्त्री केपी ओलीले ‘कोरोना ठूलो कुरा होइन, बेसार पानी पकाएर खाए ठीक भइहाल्छ भन्ने आशय व्यक्त गर्नुभएको । हामी नेपालीमा कुनै कुरालाई सकारात्मक रुपमा लिनेभन्दा नकारात्मक रुपमा अथ्र्याउने र अरुमाथि आफू हाबी हुने गलत मानसिकताले घर गरेको छ । (यहाँ यो पङ्क्तिकारले प्रधानमन्त्री ओलीलाई बोक्ने आशयले उल्लेख गरेको होइन है ।)

पहिला पहिला हाम्रो गाउँघरमा पाइने कोदो, फापर, गहुँ, जौको पिठोबाट बन्ने रोटी, ढिंडो, खोले तथा घरघरै पाइने मकै– भटमास, खट्टे–भुट्टे, भुजा, चिउरा, तरुल, गिठा, भ्याकुर, आदिलाई हाम्रो बिहान–बेलुकीको खाना, दिउँसोको खाजा/अर्निका रुपमा व्यापक उपभोग गर्ने चलन थियो र छ पनि ।

यी ताजा खाना–खाजाले हामीलाई भोकको समस्या मात्र टार्ने होइन, हामीमा ऊर्जा प्रदान गरी रोग प्रतिरोधी क्षमतासमेत बढाउने गर्दछ । तर अचेल आधुनिकताका नाममा तयारी चाउचाउ, कुरकुरे, लेज, पिज्जा, जस्ता जङ्क फुड तथा कैयौं दिनसम्म फ्रिजमा राखिएका बासी–तेबासी खाना–खाजामा रमाउन पुग्दा हामी विभिन्न रोगको शिकार बनिरहेका छौं । हामी यसबारे कमै सचेत हुने गरेका छौं ।

साथै हाम्रो गाउँघरका पानीका मूल–मुहानबाट बगेका खोला–नाला, झरनाका चिसो पानीभन्दा उच्च पहाडी भूभागका नेपालीहरु पनि विदेशी कोल्ड ड्रिङ्कस्तर्फ लहसिएका छन् । यसबाट हाम्रो देशको विदेशी मुद्रा खर्च हुने गरेको छ । यी यावत् सवालमा हरेक शिक्षालय, शिक्षक, अभिभावक र सामाजिक अभियन्ताले हाम्रा बालबालिकाहरुलाई सचेत पार्नु जरुरी छ ।

तसर्थ कोरोनालाई एक अवसरका रुपमा लिई अलग कार्यशैली किन नअपनाउने ? अनि कोरोना कुनै भूत–प्रेत, पिशाच, ख्याक, किचकन्नी वा अदृश्य शक्ति होइन, यो प्रकृतिको एउटा स्वरुप हो । हाम्रो आफ्नो घरदेशभित्र यसको खासै समस्या होइन । यो हाम्रा जिम्मेवार सरकारहरुकै लापरवाही र विदेशी प्रभावका कारण नै आज हाम्रा शहर, बजार र गाउँघरमा समेत फैलिएको तथ्यबाट शिक्षा लिँदै आगामी दिनमा विशेष सुरक्षाका उपायहरु अपनाउने हो भने यसलाई हामीले जित्न सक्छौँ ।

वास्तवमा अहिलेको परिस्थितिमा हामी विकासोन्मुख राष्ट्रहरुले सतर्कता अपनाउँदै एउटा योजनावद्ध कार्यक्रमका साथ सामान्य दिनचर्यातर्फ फर्कन प्रतिकार्यमा जुट्नु जरुरी छ । तसर्थ यो कमजोर मानसिकताको सोचबाट हामीले आफूलाई माथि उठाउँदै यसलाई प्रकृतिको एउटा चक्रका रुपमा स्वीकारौँ र हामी हाम्रो दैनिक कार्यतालिकामा फर्कन ढिलाइ नगरौँ ।

‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई वास्तवमै साकार पार्ने हो भने भ्रष्टाचार र नातावाद/कृपावादप्रति व्यवहारमै शून्य सहनशीलता अपनाउनुपर्‍यो, केवल मुखले भन्दैमा आजका नेपालीहरुको चित्त बुझ्नेवाला छैन ।

बेरोजगारी, भोक र रोगबाट ग्रस्त नेपालीलाई देशमा उत्पन्न जर्जर अवस्थाविरुद्ध वर्तमान बहुमत सरकारको तीनै तहले प्रतिकार्यात्मक पद्धति अपनाई योजनावद्ध र चरणवद्ध रुपमा निर्भीकताका साथ डटिरहेको छ भन्ने प्रत्याभूति दिन सक्नुपर्‍यो न कि कायरता प्रदर्शन गरेर ! व्यापक प्रश्न उठिरहेछ कि के सरकारको आजको रवैयाले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा साकार होला त !!!

असोज १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्