नेपालमा ट्रिनिटी फर्मास्युटिकलले 'स्पुतनिक भी' ल्याउने

रुसले नेपाललाई २ करोड ५० लाख डोज कोरोनाविरुद्धको ‘स्पुतनिक भी’ भ्याक्सिन दिने

काठमाडौं- रुसको द रसियन डिरेक्ट इन्भेष्टमेन्ट फण्ड (आरडीआइएफ)ले नेपालको एक प्रमुख औषधि वितरक ट्रिनिटी फर्मास्युटिकलसँग २ करोड ५० लाख डोज कोरोनाबिरुद्धको भ्याक्सिन ‘स्पुतनिक भी’ दिने सहमति गरेको छ।

मंगलबार आरडीआइएफले विज्ञप्ति निकाल्‍दै नेपालको ट्रिनिटी फर्मास्युटिकलसँग २ करोड ५० लाख डोज ‘स्पुतनिक भी’ दिने सहमित भएको जनाएको हो।

यसले नेपालको करीब ९० प्रतिशत जनसंख्‍यालाई उक्त कोरोनाबिरुद्ध भ्याक्सिन पुग्‍ने छ भने नेपालका क्लिनिकहरुमा समेत सहज रुपमा उपलब्ध गराइने बताइएको छ।

यो भ्याक्सिन ७५ अन्तर्राष्ट्रिय स्तरमा वैज्ञानिक पब्लिकेसनहरुले प्रमाणित गरेको र २५० क्लिनिकहरुमा समेत परीक्षण भइसकेको दाबी उक्त विज्ञप्तिमा गरिएको छ।

११ अगस्टमा २०२० मा विकास गरिएको ‘स्पुतनिक भी’लाई पहिलो पटक गामालेया राष्ट्रिय रिसर्च इन्स्टिच्‍युट अफ इपिडिमियोलोजी र माइक्रो बायोलोजीले रुसको स्वास्थ्‍यमन्त्रालयमा दर्ता गरेका थिए। यही नै विश्‍वको पहिलो कोरोना भाइरस (कोभिड १९) विरुद्धको भ्‍याक्सिन हो जसलाई भेक्टर प्लेटफर्ममा ल्‍याइएको छ।

यसपछि सेम्टेम्बर ४,सन् २०२० मा उक्त भ्‍यासिनको पहिलो चरणको कार्यपत्र तयार गरेर दोस्रो चरणमा क्लिनिकलमा परीक्षण गरेको रिपोर्ट ल्‍यानसेट मेडिकल जर्नलमा प्रकाशित गरिएको जनाएको छ। ल्‍यानसेटमा प्रकाशित उक्त मेडिकल रिपोर्टमा करीब ४० हजार व्‍यक्तिलाई स्वयसेवी रुपमा स्पुतनिक भ्‍याक्सिनको परीक्षण गरी शतप्रतिशत नतिजा आइसकेको देखाएको छ। यस्तै गरीब ६० हजार स्वयमसेवकहरुले उक्त भ्‍याक्सिनका लागि आवेदन दिएका थिए।

यस्तै एसियाका करीब ५० देश, मध्‍य पुर्व, ल्‍याटिन अमेरिका, युरोप र सीआइएसले स्पुतनिक भीका लागि आवेदन दिएको आरडीआइएफले विज्ञप्तिमा जनाएको छ। साथै आरडीआइएफले मेक्सिकोमा ३ करोड २० लाख डोज, ब्राजिलमा ५ करोड डोज, भारतमा १० करोड डोज र उज्वेकस्तानमा ३ करोड ५० लाख डोज निर्यात गर्ने सहमति भइसकाेको उल्लेख गरेको छ।

आरडीआइएफका कार्यकारी निर्देशक किरिल दिमित्रिभले भने, ‘नेपालको ९० प्रतिशत जनसंख्‍यालाई स्पुतनिक भी पुर्‍याउने ट्रिनिटी फर्मास्युटिकललाई धेरै धन्‍यवाद। तर यसको परीक्षण बाँदरलाई दिएसँगै यो चाहिँ मानवलाई नै परीक्षण गर्ने भेक्टर शैलीमा विकास गरिएको हो, जसलाई १० वर्षभन्दा धेरै अघिदेखि नै परीक्षण गरिएको र लामो समयसम्‍म कुनै पनि नकारात्मक नतिजा आएको छैन। यसैको आधारमा आरडीआइएफले यो स्पुतनिक भीलाई विश्‍वका देशहरुमा कोरोनाविरुद्ध लड्‍न पठाउने तयारी गरेको हो। ‘

नेपालमा कोरोना भाइरसविरुद्धको भ्‍याक्सिन स्पुतनिक भी ल्याउने ट्रिनिटी फर्मास्युटिकलका निर्देशक किशोर अधिकारीले भनेका छन्, ‘हामी कोरोना भाइरस विरुद्धको यो भ्याक्सिन ल्याउन पाउँदा निकै खुसी छौँ। ट्रिनिटी अब स्पुतनिकको परीक्षणको नतिजामा रहेको छ भने चाँडै नै नेपाल सरकारबाट स्वीकृत गराई सबैलाई उपलब्ध गराउनेछौँ।’

आरडीआइएफ रुसको स्वास्थ्य कोषबाट सञ्‍चालित स्वतन्त्र निकाय हो जुन सन् २०११ मा लगानीमा समानताका लागि भनेर स्थापना भएको थियो।

असोज १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्