उत्तर प्रदेशमा सामूहिक बलात्कारमा परेकी दलित युवतीको १५ दिनपछि मृत्यु, दबाबमा बल्ल चारजना पक्राउ

एजेन्सी– भारतको उत्तर प्रदेशको हाथरथ जिल्लामा सामुहिक बलात्कारको शिकार बनेकी एक दलित युवतीको मंगलबार मृत्यु भएको छ। उनको मंगलबार दिउँसो दिल्लीको सफदरगंज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

उनीमाथि गत सेप्टेम्बर १४ मा सामूहिक बलात्कार भएको थियो। बलात्कारपछि उनको जिब्रोसमेत काटिएको थियो। शरीरमा गम्भीर चोट थियो। उनी खेतमा बेहोस अवस्थामा भेटिएकी थिइन्। स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनलाई सोमबार दिल्लीको सफदरगंज अस्पतालमा उपचारको लागि पुर्‍याइएको थियो।

परिवारका अनुसार सेप्टेम्बर १४ को बिहान खेतमा घाँस काट्न गएका बेला उनीमाथि सामूहिक बलात्कार भएको थियो।

प्रहरीले अहिलेसम्म सन्दीप, रामकुमार, लवकुश र रवि नामका चार जनालाई घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेको छ। तर दलित संघसंगठनले प्रहरीले यस घटनालाई गम्भीर रुपमा नलिएको र अभियुक्तलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएका छन्।

पहिले प्रहरीले केवल हत्या मुद्दामा मात्रै उजूरी दर्ता गराएको थियो। एकजनालाई मात्रै अभियुक्त बनाएको थियो। घटना भएको १० दिनसम्म पनि प्रहरीले कसैलाई पनि पक्राउ गरेको थिएन। तर पछि दलित नेता चन्द्रशेखरले ट्वीट गरेर अलिगढ जाने चेतावनी दिएपछि चारजनालाई पक्राउ गरिएको हो।

सुरुमा हत्या अभियोगमा मात्रै उजूरी लिएको प्रहरीले चौतर्फी विरोधपछि सामूहिक बलात्कार मुद्दामा पनि उजूरी लिएको हो। तर प्रहरीले भने परिवारको बयानकै आधारमा सुरुमा हत्या अभियोगमा मात्रै उजूरी दर्ता भएको र पछि सोधपुछ गर्दै जाँदा पीडितको वयानको आधारमा सामुहिक बलात्कार मुद्दामा उजूरी दर्ता भएको दावी गरेको छ।

सुरुमा पीडितलाई अलिगढ मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो। प्रहरी घटना भएको पाँचदिनपछि सेप्टेम्बर १९ मा मात्रै पीडितसँग वयानका लागि पुगेको थियो। पीडित युवतीको अवस्था गम्भीर भएका कारण प्रहरी वयान नलिएरै फर्किएको थियो। त्यसपछि सेप्टेम्बर २१ र २२ मा महिला प्रहरीसहितको टोली वयानका लागि फेरि पुगेको थियो।

पक्राउ परेकाहरु पीडितकै गाउँका हुन्। घटनापछि उनीहरुले पीडित परिवारलाई धम्की दिएका थिए। उनीहरुले गाउँमा आफूलाई बस्न दिँदैनन् कि भन्ने पीडित परिवारलाई डर छ।

युवतीका दाइ भन्छन्, ‘हामी धेरै कमजोर छौँ। हामी उनीहरुलाई के गर्न सक्छौँ र? बहिनीको यो अवस्था देख्दा साह्रै आक्रोशित हुन्छु। तर हामी उनीहरुलाई केही गर्न सक्दैनौँ। सरकारले हाम्रो साथ दिन पर्‍यो। उनीहरु सबैलाई फाँसी हुनुपर्छ किनकि कोही अरुको छोरी–चेलीमाथि यस्तो नहोस्।’

उनी अगाडि भन्छन्, ‘हामो मनमा डर छ। कहिलेकाहीँ त लाग्छ अब हामी गाउँमा कसरी बस्ने। हामी बदला लिन सक्दैनौँ। हाम्रो परिवार सानो छ। यिनीहरु पहिलेदेखि नै हामीलाई दुःख दिँदै आएका छन्। उनीहरुसँग लड्नका लाग हामीसँग पैसा छैन। हाम्रा मान्छे छैनन्। हामी आफ्नो गाउँबाट पलायन हुनुपर्छ कि जस्तो लाग्छ। यिनीहरु हामीलाई यहाँ बस्न दिने छैनन्।’

असोज १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्