गायक अमृत गुरुङले अनसनरत डा. केसीलाई भेटे र भने, ‘डा. साप्, जीवन रहे अरु चिज गरौँला’

तस्बिरहरु: पुकार बम

मंगलबार दिउँसो ४ बजे,

उता स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम कोरोना संक्रमणको नियमित ब्रिफिङ गराउँदै थिए, ‘पछिल्लो २४ घण्टामा १५ सय १३ जनामा कोरोना पुष्टि भएको छ र असोज १३ सम्म देशभर ७६ हजार २५८ जना कोरोना संक्रमित भएका छन्।’

यता नेपथ्यका नाइके गायक अमृत गुरुङ त्रिवि शिक्षण अस्पतालको आकस्मिक विभागमा पुगेका थिए, १६ दिनदेखि अनसनरत डा. गोबिन्द केसीको हाल सोध्न। आफू डा. केसीको साथमा रहेको बताउँदै गुरुङले ट्वीटरमा लेखेका थिए, ‘सरकार हजूर, डा. केसीका के माग देश र जनता विरोधी छन ? कि स्पष्ट पारिदिनु पर्यो, नत्र मानिदिनु पर्‍यो।’

डा. केसी चिकित्सा शिक्षाको सुधारको माग गर्दै १९ औँ पटकको सत्याग्रहमा बसिरहेका छन्। कोरोना महामारीले देशलाई थिलथिलो बनाइरहेको बेलामा उनी अनसन बसेको १६ औँ दिन कटिसकेको छ। उनको माग पूरा गर्नुपर्छ भनेर सडकमा विरोध हुन थालेको छ।

कोरोना भाइसरको संक्रमण नियन्त्रण गर्नका लागि सरकारले लकडाउन घोषणा गरेपछि नेपथ्यका रकस्टार अमृत गुरुङ पुर्खौली घर, कास्कीको पुम्दी भुम्दी पुगेका थिए। केही कामले लामो समयपछि काठमाडौँ आएका गुरुङ मंगलबार डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुगे।

किन भेट्न गए त ?

अमृतलाई डा. केसी निस्वार्थ, असल मान्छे अनि असल डाक्टर लाग्छ। समाजमा हुनैपर्ने मान्छेको सूचीमा केसी पर्छन्। चिकित्सा क्षेत्रको सुधारको लागि डा. केसीले चालेको कदम गुरुङका लागि मानवताको, संवेदनाको लागि चालिएको कदम हो। त्यसको उनको मनलाई धेरै अगाडि छोएको थियो र अहिले अहिले गुरुङ केसीलाई भेट्न अस्पतालसम्म आइपुगे।

गुरुङले डा. केसीको बारेमा चिकित्सा क्षेत्रको सुधारका लागि अनसन बस्न थालेदेखि हैन, चिकित्सक भएर प्राकृतिक प्रकोपले दुख दिएको ठाउँमा उपचारको लागि पुगेको बेलामा थाहा पाएका थिए। गाउँ, पहाड, तराईमा गएर महामारीको समयमा काम गरेको देख्दा उनलाई लागेको थियो, ‘अरे ! नेपालमा यस्तो पनि मान्छे छ ?’ त्यसपछि उनले डा. केसीको संगातिसँग उनको बारेमा बुझे। गुरुङ भन्छन्, ‘मलाई श्रद्धेय मानिस लाग्यो उहाँ।’

 

चिकित्सा क्षेत्रको सुधारको लागि डा. गोबिन्द केसी विभिन्न किसिमको माग राख्दै अनसन बसिरहेका छन्। दुर्गममा अस्पतालदेखि चिकित्सकसम्म पुर्‍याउनुपर्ने, चिकित्सा शिक्षा सम्बन्धी व्यवस्था लगायत धेरै सुधारोन्मुख मुद्दालाई अघि सारिरहेका डा. केसीलाई सरकार बेला बेलामा झुक्याउँछ। लामो अनसन भएपछि केसीका माग मान्ने सहमति गर्छ तर अनसन तोडेपछि बेवास्ता। केसीको मागलाई पूरा गर्न जनसागर जम्मा भई दबाब नदिँदासम्म आलटाल गर्ने सरकारको बानीले नै उनलाई १९ औँ पटकसम्म सत्याग्रहमा बस्न बाध्य गरायो।

 

तर जबजब डा.केसी अनसनमा बस्छन्, तब अमृत दुख्छन्। ‘मलाई गाह्रो हुन्छ, म विक्षिप्त हुन्छु र निरीह हुन्छु। मैले भनेर हुने भएको म पूरा गरिदिन्थे’, गुरुङ भन्छन्, ‘किन भएन त्यो उहाँको तपसीलको कुरा हो, तर किन गर्नुभयो भन्ने कुरामा म सहमत छु।’

डा. केसीका केही माग पूरा भएका छन्, केही थपिएका छन्। गुरुङ भन्छन्, ‘त्यो त समय अनुसार हुँदै जाने कुरा हो। घाउलाई राम्ररी सफा गरेर मलमपट्टी गरे पो निको हुन्छ। काम चलाउ गरेर टालटुल गरेपछि त बल्झिरहन्छ नि।’


माथेमा कार्यदलमा भएको सम्झौता कार्यान्वयन भएन त्यसपछि अमृतको मन सारै दुखेको थियो। यो क्षेत्रको सुधारका लागि सम्बन्धित निकाय आफैँ अग्रसर हुनु पर्नेमा उनी लागिपरेका छन्। माथेमा प्रतिवेदन अघि र पछि कयौँ पटक भएका सम्झौता कार्यान्वयन भएन र केसी बारम्बार अनसन बस्न आइपुगे। अमृत भन्छन्, ‘सबै चिजको ओखती हुन्छ तर गतिछाडाको ओखति हुन्न।’

डा. केसी योपल्टको अनसन बस्दा उनले बिरामी जाँचेका थिए। उनको सेवाप्रतिको लगावमा अमृतलाई शंका छैन तर मन किन दुख्छ भने महामारीको समयमा उनी यसरी अनसन बसिरहेका छन्। ‘म हात जोडेर बिन्ती गर्न चाहन्छु कि, यो अनसन छोडिदिनुस्।’ उनी भन्छन्, ‘नहुने जमातको हुलमा बसेर केही हुने वाला छैन, जीवन रहे अरु चिज गरौँला।’

अमृतको नजरमा जे काम डा. केसीले गरेका छन्, त्यो कसैले गर्न सक्दैन, तर उनलाई लाग्छ, ‘भैसीको अगाडि बिन बजाएर केही काम छैन।’ मुख्य कुरा केसी बच्नुपर्‍यो।

हुन त नेपालमा सत्य कुरा भन्नको लागि, राम्रो कदम चाल्नको लागि नागरिकले भीड जम्मा भएर, टायर बालेर नै बोल्नुपर्छ। यो नै सँस्कार बसिसक्यो । डा. केसी त्यो हैन भन्छन् अमृत, उनी भन्छन्, ‘त्यो त विकारको लडाईँ हो।’

 

‘राज्यतर्फबाट यस्तो व्यवहार गरिनु लाज लाग्नुपर्ने कुरा हैन र ?’ प्रश्न गर्दै अमृत भन्छन्, ‘देशको अवस्था कहाँ छ, हामी कहाँ छौँ ?’

आजको भेटमा उनले डाक्टर केसीलाई परबाट नियाले, उनको ज्यान ठूलो कुरा हो भने। कोरोना संक्रमण नहोस् भनेर बारिएको घेरा बाहिर अमृत बसे। मनलाई त हात समातेरै कृतज्ञता प्रकट गर्ने र जीवनरक्षा गर्नुहोस् भनेर आग्रह गर्ने इच्छा थियो, तर कोरोनाले दूरी बनाइदियो। अरुबेला जस्तो छुन पाएनन्। ‘मन थोरै खिन्न भयो,’ उनले भने, ‘सबैलाई छोइँदैन, सबैलाई भनिदैन।’

असोज १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्