बाँकेमा कोरोना संक्रमणबाट ज्‍यान गुमाउनेको संख्‍या बढ्दै

नेपालगञ्‍ज-बुधबार दिउँसो सवा दुई बजे नेपालगञ्जकी ३५ वर्षीया महिलाको मृत्यु भएको छ।

भेरी अस्पताल, नेपालगञ्जका उपचारको क्रममा नेपालगञ्ज-१ की ३५ वर्षीया महिलाको मृत्यु भएको हो। असोज ३ गते कोरोना पुष्टि भएकी महिला मधुमेह र उच्च रक्तचापको समस्या थियो।

१३ गते मंगलबार विहानै दुई जनाको मृत्यु भएको थियो। कोहलपुर मेडिकल कलेजमा उपचारमा रहेका नेपालगञ्ज र कोहलपुरका दुई जनाको विहान ४५ मिनेटको फरकमा मृत्यु भएको थियो। उनीहरु नेपालगञ्ज-७, रानीतलाउका ३९ वर्षीय पुरुष र कोहलपुर-१० का ५३ वर्षीय पुरुषको मृत्यु थिए।

नेपालगञ्जका ३९ वर्षीय पुरुष नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी थिए। उनलाई उच्च रक्तचापको समस्या थियो । विहान ३.३० बजे उनको मृत्यु भयो । कोहलपुरका ५३ वर्षीय पुरुषको विहान ४.१५ बजे मृत्यु भयो। असोज ४ गते अस्पताल पुगेका थिए। ६ गते कोरोना पुष्टि भयो।

१२ गते दिउँसो सवा २ बजे ७६ वर्षीया महिलाको मृत्यु भएको थियो। असोज ६ गते कोरोना पुष्टि भएकी बृद्धा होम आइसोलेसनमा बसेकी थिइन्।

जाजरकोटको जुनीचाँदी गाउँपालिका वडा नं. ५ मा घर भएपनि उनी केही दिनदेखि कोहलपुरस्थित छोरासँग थिइन्। वृद्धालाई पित्तथैलीको समस्या रहेको थियो।

११ गते नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ का ४७ वर्षीय पुरुषको मृत्यु भयो । नेपालगञ्ज मेडिकल कलेजको प्रशासन फाँटमा काम गर्ने उनी मधुमेहबाट ग्रसित थिए । भदौ ३१ गते कोरोना पुष्टि भएपछि उनी अस्पतालमै थिए।

१० गते बर्दियाका ५० वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालमा ल्याउन नपाउदै मृत्यु भयो । बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख असोज ७ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका थिए।

घरमै रहेका बेला स्वास्थ्यमा समस्या भएपछि उनलाई उपचारका लागि नेपालगञ्जको भेरीमा ल्याइएको थियो । भेरीको गेट पार गरेर भित्र छिर्न नपाउदै उनको मृत्यु भयो । उनको दुई वर्षअघि फोक्सोको क्यान्सरको उपचार गरिएको थियो।

९ गते नेपालगञ्ज उपमहानगरपालिका ३ का ५२ वर्षका पुरुषको कोरोनाबाट मृत्यु भयो । असोज ६ गते अस्पतालमा भर्ना भएका उनलाई त्यही दिन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । दुवैतिरको फोक्सोको निमोनिया रहेको उनको नौ गते राती २.२५ बजे मृत्यु भयो।

बाँकेका दुई ठूला अस्पतालमा यतिबेला दैनिकजसो नै कोरोना संक्रमितको मृत्यु भइरहेको छ। दीर्घरोगी र जेष्ठ नागरिक कोरोनाबाट बढी प्रभावित देखिन्छन्।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले केही दिनयता कोरोना संक्रमितको दैनिकजसो नै मृत्यु भएको जानकारी दिए। उनका अनुसार अहिलेसम्म बाँकेका १६ जनाको मृत्यु भइसकेको छ। जिल्ला बाहिरका ७ जनाको मृत्यु भएको छ।

असोज १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्