सञ्चारकर्मीहरु मैले यसो छुँदा करेन्ट लागेजस्तो गर्छन्: प्रधानमन्त्री ओली

फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एकपटक विभिन्न मिडिया सम्पादकहरुसँग गुनासो पोखेका छन्।

भर्खरै गठन भएको मिडिया एलायन्सका पदाधिकारीहरुसँग बुधबार साँझ भएको भेटमा सञ्चार माध्यमका सम्पादकहरुसँग गुनासो रहेको बताएका हुन्।

उनले सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति रहेको बताए। सञ्चार माध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने तर सञ्चार माध्यमलाई आफूले एक्पटक सुझाव दिँदा सहन्न भन्ने प्रवृति सम्पादकहरुमा देखिएको पनि प्रधानमन्त्री ओलीले बताए।

‘सरकारलाई दिनरात गाली गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चार माध्यमले पनि सहने सक्तिको विकास गर्नुपर्छ,’ उनले भने, ‘यो सञ्चार जगत यस्तो हो अरु जसलाई जे भनेपनि छुट पाइन्छ। सञ्चार माध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन। एकदम सेन्सेटिभ नि। यसो छोयो भनेदेखि बुरुक्क उफ्रहाल्ने। करेन्ट लागेजस्तो।’

केहीअघि आफूसँग केही सञ्चारकर्मी र सम्पादकहरुले भेटेको उल्लेख गर्दै प्रधानमन्त्रीले सम्झिए- ‘ उहाँहरुले मलाई हामीलाई यसो किन भन्नुभयो भनेर भन्नुभयो। मैले भनेँ- तपाईँहरुलाई दिनरात गाली गर्दा हुन्छ। मैले अलिकति भनेँ भने तपाईँहरु दिनरात गाली गर्ने, मैले किन यसो गर्‍यौ भन्दा सहनुपर्छ भनेर सिकाउने अनि मैले अलिकति भन्दा सहन नसक्ने के हो यो।’

आफूले भनेको भन्यै गर्ने तर यसो नगर्नुस् न भन्दा सहन सिक्नुपर्छ भन्ने  प्रवृत्ति सञ्चारकर्मीहरुमा रहेको उनले बताए। ‘मैले अलिकति सुझाव दिएँ भने सहन्न भनिहाल्ने,’ उनले भने।

प्रधानमन्त्री ओलीले नेपालमा अगाडि बढ्न चाहनेहरुको खुट्टा तान्ने प्रवृति रहेको पनि बताए। बाकसमा रहने भ्यागुताको उदाहरण दिँदै कोही पनि अगाडि बढ्न नसक्ने गरी खुट्टा तान्ने प्रवृति रहेको उनले बताए।

प्रधानमन्त्री ओलीले मिडियाकर्मीहरुसँग विज्ञापन बोर्डको गठन छिट्टै हुने प्रतिवद्धता समेत जनाए। बोर्ड गठन नहुँदासम्म अन्य कुनै सरकारी संयन्त्रबाट बिज्ञापन बजारको नियमन गरिने गरिने समेत उनले बताए। त्री

असोज १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्