आलोचनाको केन्द्रमा आएका ट्रम्प बोली सच्याउने प्रयासमा

श्वेतहरुको वर्चश्वको वकाल गर्ने समूहहरुको आलोचना वा निन्दा गर्न अस्वीकार गरी उनीहरुलाई आफ्ना गतिविधिका लागि बढावा दिएपछि आलोचनाले घेरिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दिनमै बोली फेरेका छन् ।

आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावको पहिलो टेलिभिजन बहसमा (नेपाली समय अनुसार मंगलबार बिहान) ह्वाइट सुप्रिमिस्ट तथा मिलिसिया ग्रुपको आलोचना गर्ने अवसर प्राप्त हुँदा उनले त्यसो गरेका थिएनन् । उल्टै श्वेतहरुको वर्चश्वका पक्षमा रहेको समूह ‘प्राउड बोइज’ लाई आफ्नो साथमा खडा हुन र भइरहन अपिल गरेका थिए ।

दशौँ लाख अमेरिकीले हेरेको टेलिभिजन बहसमा श्वेत वर्चश्वका गतिविधिको आलोचना गर्न अस्वीकार गरी ‘प्राउड बोइज’ लाई उक्साएको आरोप लागेपछि ट्रम्पले त्यसको भोलिपल्ट बोली फेरेका हुन् । ट्रम्पले ‘फार–राइट’ समूहलाई आफ्ना गतिविधि रोकेर सुरक्षा निकायलाई आफ्नो काम गर्न दिन भनेका छन् ।

चौतर्फी आलोचनापछि ट्रम्पले भनेका छन्, ‘प्राउड बोइज को हुन् म चिन्दिनँ ।’ एक दिनअघि मात्रै डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँगको टेलिभिजन बहसको क्रममा ट्रम्पले प्राउड बोइजलाई आफ्नो काम जारी राख्न र आफ्नो साथमा उभिन अपिल गरेका थिए ।

प्राउड बोइजले राष्ट्रपति ट्रम्पले आफूहरुको नाम लिएपछि टेलिभिजन बहसलाई ‘ऐतिहासिक’ भनि चुनावमा ट्रम्पलाई नै समर्थन गर्ने घोषणा पनि गरेको थियो ।

बाइडेनले श्वत वर्चश्वको आलोचना गर्न ट्रम्पले अस्वीकार गरेको र यसले उनी देशमा विभाजन चाहन्छन् भन्ने थप स्पष्ट भएको बताएका छन् ।

प्राउड बोइजले ‘ऐतिहासिक’ भनेको तीन मध्येको पहिलो टेलिभिजन बहस अमेरिकी इतिहासमै सबैभन्दा खराब र अमेरिकी प्रजातन्त्रमाथि लाजको विषय बनेको अधिकांश अमेरिकी सञ्चारमाध्यमले बताएका छन् ।

सन् २०१६ मा स्थापना भएको प्राउड बोइज फार–राइट, एन्टी–इमिग्रेन्ट र सम्पूर्ण पुरुष सदस्य रहेको समूह हो । उनीहरुले सडकमा हिंसात्मक गतिविधि गर्ने गरेका छन् आफू भन्दा भिन्न विचार राख्ने विरुद्ध । ट्रम्पले टेलिभिजन बहसको क्रममा आफूहरुलाई ‘स्ट्याण्ड ब्याक, स्ट्याण्ड बाइ’ भनेपछि प्राउड बोइजले आफ्नो एक सामाजिक सञ्जालमा ‘स्ट्याण्ड ब्याक, स्ट्याण्ड बाइ’ लोगो पोस्ट गरेको छ ।

टेलिभिजन बहसको भोलिपल्ट ह्वाइट हाउसमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा ट्रम्पले प्राउड बोइजलाई नचिन्ने दाबी गरेका हुन् ।

असोज १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्