उत्तर प्रदेशमा फेरि अर्की दलित युवतीको सामूहिक बलात्कारपछि हत्या

भारतको उत्तर प्रदेशमा लगातार सामूहिक बलात्कारपछि हत्याका घटना भइरहेका छन् । हाथरसमा सामूहिक बलात्कारको घटनाले पूरै भारतभर प्रदर्शन भइरहेको छ । मानिसहरु आक्रोशित छन् ।
हाथरसको घटना सेलाउन नपाउँदै उत्तर प्रदेशकै बलरामपुरमा एक दलित युवतीको सामूहिक बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । युवतीका परिवारका सदस्यले बलरामपुर प्रहरी चौकीमा सामूहिक बलात्कारपछि हत्या भएको उजुरी दिएका छन् ।
प्रहरीले ट्वीट मार्फत सामूहिक बलात्कारपछि हत्या भएको उजुरी परेको जानकारी दिएको हो । प्रहरीले भनेको छ, ‘तहरीरमा २२ वर्षकी युवतीका परिवारका सदस्यले भनेका छन् कि ती युवती एक निजी फर्ममा काम गर्थिन् । मंगलबार कामबाट राति अबेरसम्म पनि फर्किइनन् ।
परिवारका सदस्यले फोन सम्पर्क गर्ने प्रयास गरे । तर भएन । केही समयपछि युवती रिक्सामा आइन्, उनको अवस्था निकै खराब थियो । परिवारले उनलाई तत्काल अस्पताल लैजाँदै थिए, बाटोमै मृत्यु भयो ।’
परिवारका सदस्यले उजुरीमा दुई युवाको नाम किटान गरेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै अभियुक्तलाई पक्राउ गरेको छ । अनुसन्धान जारी रहेको र थप अभियुक्तहरुलाई पनि पक्राउ गरिने प्रहरीले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हाथरस सामूहिक बलात्कारको घटना लगत्तै उत्तर प्रदेशकै बलरामपुरमा सामूहिक बलात्कारपछि हत्याको अर्को घटना सार्वजनिक भएपछि मुख्यमन्त्री योगी आदित्यनाथको राजीनामा माग थप चर्को बनेको छ ।
उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले ट्वीट गरेर दुवै घटनाको निन्दा गर्दै लेखेका छन्, ‘भाजपा सरकारले बलरामपुरमा हाथरस जस्तो लापरवाही र ढाकछोप नगरोस्, अपराधिलाई कारवाही होस् ।’
यस्तै आम आदमी पार्टीका नेता सञ्जय सिंहले मुख्यमन्त्री आदित्यनाथको राजीनामा मागेका छन् ।
हाथरस सामूहिक बलात्कार

हाथरसमा सामूहिक बलात्कार पीडितको प्रहरीले परिवारको स्वीकृति बिना आधी रातमा अन्तिम संस्कार गरेको घटना सार्वजनिक भएपछि अहिले भारतभर विरोध चर्किएको छ । योगी आदित्यनाथ सरकारको राजीनामा माग भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय महिला आयोगले उत्तर प्रदेश प्रहरीलाई हाथरस सामूहिक बलात्कारको घटना र आधी रातमा अन्तिम संस्कार गरिएको बारे स्पष्ट जानकारी दिन नोटिस जारी गरेको छ ।
प्रहरीले जबरजस्ती मध्यरातमा पीडितको अन्तिम संस्कार गरेको घटनापछि विपक्षी दल तथा प्रहरीका पूर्व अधिकारीले उत्तर प्रदेश प्रहरीको आलोचना गरिरहेका छन् । प्रहरीले वक्तव्य जारी गरेर प्रहरीको रेखदेखमा परिवारका सदस्यले अन्तिम संस्कार गरेको दाबी गरेको छ ।
तर सेप्टेम्बर ३० को बिहान साढे दुई बजे सामूहिक बलात्कार पीडित युवतीको अन्तिम संस्कार भएको हो । त्यो बेला उपस्थित रहेका पत्रकार तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा तस्बिरले भने फरक कुरा बताएका छन् ।
पत्रकारहरुले प्रहरीले जरबजस्ती अन्तिम संस्कार गरेको बताएका छन् । भिडियोमा प्रहरीले स्थानीयलाई गाली गरेको, कुटेको तथा पीडित परिवारलाई पनि गाली गरिरहेको सुनिन्छ ।
Hathras victim’s mother begging for justice from Casteist Police, Biased Judiciary, Savarna Women Commission and Manu media! #HathrasHorror pic.twitter.com/oTNXQr17lc
— Suraj Kumar Bauddh (@SurajKrBauddh) September 30, 2020
भिडियोमा पीडितकी आमाले छोरीको शव एक पटक घर लैजान प्रहरीसँग मागेको पनि देखिन्छ । तर पीडितको अन्तिम संस्कार घरपारिवारले चाहेको वा भनेको रीति रिवाज अनुसार नभएको पत्रकारहरुले बताएका छन् ।
उत्तर प्रदेशको हाथरसमा सामूहिक बलात्कारको शिकार भएकी २० वर्षकी दलित युवतीको गएको सोमबार राति दिल्लीको सफदरजंग अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
In UP Gang-Rape Tragedy, 2.30 am Cremation By Cops, Family was Kept Out. @NCWIndia condemn it strongly. Why the family wasn’t allowed in Crematiom? Why at night?@Uppolice@hathraspolicehttps://t.co/OnFySrCYgn
— Rekha Sharma (@sharmarekha) September 30, 2020
पीडित युवतीलाई अलीगढ मुस्लिम युनिभर्सिटी मेडिकल कलेजबाट सफदरजंग अस्पताल लगिएको थियो । दुई हप्ताअघि देखि ती युवतीले मृत्युसँग संघर्ष गरिरहेकी थिइन् । आमा र दाइ–भाइसँग घाँस काट्न गएका बेला ती युवतीमाथि सेप्टेम्बर १४ मा सामूहिक बलात्कार भएको हो ।
आफूहरुले घाँस काटिरहेका बेला पछि रहेकी युवतीलाई तानेर स्थानीय युवाहरुले सामूहिक बलात्कार गरेको आरोप छ । बेहोस अवस्थामा युवतीलाई आमाले भेटेकी थिइन् । युवतीको जिब्रो काटिएको, ढाडको हड्डी भाँच्चिएको तथा शरीरको एक भागले काम नगर्ने अवस्थामा आफूहरुले फेला पारेको पीडितका भाइले बताएका छन् ।
घटनाका अभियुक्त चारजनालाई पक्राउ गरिएको हाथरस प्रहरीले जनाइसकेको छ । अभियुक्त पक्राउ परे पनि युवतीको शव प्रहरीले जबरजस्ती जलाएपछि उत्तर प्रदेशसहित भारतभर प्रदर्शन भइरहेको छ ।