प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२ पुग्यो

विराटनगर – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुषको बुधबार राति ९ बजेर ४५ मिनेटमा मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार विराटनगरको विराट शिक्षण अस्पतालबाट गम्भीर अवस्थामा बिरामीलाई बुधबार राति ९ बजेर ३० मिनेटमा प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

विराट अस्पतालमा बुधबार नै पीसीआर रिपोर्ट पोजिटिभ आएका बिरामीमा ज्वरो, खोकी, श्वासप्रश्वासको अधिक समस्या रहेको थियो । प्रवक्ता सापकोटाका अनुसार वीपीको कोभिड १९ अस्पतालमा भर्ना गरेको १५ मिनेटमा बिरामीको मृत्यु भएको थियो ।

शवको व्यवस्थापन कार्य भइरहेको जनाएको प्रतिष्ठानले बिरामीमा कुनै दीर्घ रोग नदेखिएको प्रष्ट्याएको छ ।

यससँगै प्रतिष्ठानमा हालसम्म ३८ जना संक्रमितको मृत्यु भएको छ । प्रदेश १ मा भने कोरोना संक्रमणबाट १९ महिला र ५३ पुरुष गरी कुल ७२ जनाको मृत्यु भएको छ । जसमा प्रदेश १ स्थायी ठेगाना भएका ५८ र बाहिरका १४ जना रहेकाछन् ।

असोज १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्