हाथरस सामूहिक बलात्कार घटनामा न्याय माग्दै सोनिया गान्धीले भनिन्–मृत्युपछि पनि मानिसको गरिमा हुन्छ !

भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले उत्तर प्रदेशको हाथरसमा सामूहिक बलात्कारपछि भएकी युवातीको प्रहरीले जबरजस्ती जलाएको घटनाको निन्दा गरेकी छन् । उनले पीडितका लागि न्यायको माग गरेकी छन् ।

कांग्रेस अध्यक्ष गान्धीले भनेकी छन्, ‘हाथरसकी निर्भयाको मृत्यु भएको होइन, उनलाई मारिएको हो।’

उनले सरकारलाई प्रश्न गरेकी छन्, ‘मृत्युपछि पनि मानिसको गरिमा हुन्छ । हाम्रो हिन्दू धर्मले मृत्युपछिको गरिमा बारे पनि भनेको छ । तर ती छोरीलाई अनाथ जसरी प्रहरीले बल प्रयोग गरेर जलायो ।’

राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय महिला आयोगले उत्तर प्रदेश प्रहरीसँग हाथरसमा सामूहिक बलात्कार तथा राति शव जलाएको विषयमा जानकारी दिन नोटिस पठाएको छ ।

मानवअधिकार आयोगले यो विषयमा उत्तर प्रदेश प्रहरीलाई चार हप्ताभित्र जवाफ दिन भनेको छ ।

हाथरसमा सामूहिक बलात्कार पछि मृत्यु भएकी युवतिलाई प्रहरीले परिवारको स्वीकृति बिना आधी रातमा अन्तिम संस्कार गरेको घटना सार्वजनिक भएपछि अहिले भारतभर विरोध चर्किएको छ । योगी आदित्यनाथ सरकारको राजीनामा माग भएको छ ।

प्रहरीले जबरजस्ती मध्यरातमा पीडितको अन्तिम संस्कार गरेको घटनापछि विपक्षी दल तथा प्रहरीका पूर्व अधिकारीले उत्तर प्रदेश प्रहरीको आलोचना गरिरहेका छन् । प्रहरीले वक्तव्य जारी गरेर प्रहरीको रेखदेखमा परिवारका सदस्यले अन्तिम संस्कार गरेको दाबी गरेको छ ।

तर सेप्टेम्बर ३० को बिहान साढे दुई बजे सामूहिक बलात्कार पीडित युवतीको अन्तिम संस्कार भएको हो । त्यो बेला उपस्थित रहेका पत्रकार तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा तस्बिरले भने फरक कुरा बताएका छन् ।

पत्रकारहरुले प्रहरीले जरबजस्ती अन्तिम संस्कार गरेको बताएका छन् । भिडियोमा प्रहरीले स्थानीयलाई गाली गरेको, कुटेको तथा पीडित परिवारलाई पनि गाली गरिरहेको सुनिन्छ ।

उत्तर प्रदेशको हाथरसमा सामूहिक बलात्कारको शिकार भएकी २० वर्षकी दलित युवतीको गएको सोमबार राति दिल्लीको सफदरजंग अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

पीडित युवतीलाई अलीगढ मुस्लिम युनिभर्सिटी मेडिकल कलेजबाट सफदरजंग अस्पताल लगिएको थियो । दुई हप्ताअघि देखि ती युवतीले मृत्युसँग संघर्ष गरिरहेकी थिइन् । आमा र दाइ–भाइसँग घाँस काट्न गएका बेला ती युवतीमाथि सेप्टेम्बर १४ मा सामूहिक बलात्कार भएको हो ।

असोज १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्