जबरजस्ती करणी प्रयासको आरोपमा वडा सचिव पक्राउ

सांकेतिक तस्बिर।

जनकपुरधाम – जबरजस्ती करणीको आरोपमा महोत्तरीमा एक वडा सचिव पक्राउ परेका छन्।

भंगहा नगरपालिका वडा नम्बर ९ स्थित मुसहरी टोलमा एक दलित महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा सो वडाका सचिवलाई पक्राउ परेको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए ।

वडा सचिव मिथिलेश यादवलाई बुधबार राति करिब ९ बजे पक्राउ गरिएको प्रहरी उपरीक्षक केसीले बताए ।

महिला बजारबाट घर गइरहेको अवस्थामा बुधबार राति बलात्कारको प्रयास गरेको कुरा बाहिरिएको र बलात्कार भए–नभएको पुष्टि स्वास्थ्य परीक्षणपछि मात्रै हुने केसीले बताए ।

महिलाले दिएको बयान र जाहेरीकै आधारमा वडा सचिव यादवलाई पक्राउ गरिएको उनले बताए। अहिले वडा सचिव यादवलाई हिरासतमा राखिएको र थप अनुसन्धान थालेको महोत्तरी प्रहरीले जनाएको छ ।

असोज १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्