अबको मुख्य सचिव शंकरदास वैरागी

काठमाडौँ – लोकदर्शन रेग्मीले राजीनामा दिएसँगै अबको मुख्य सचिव शकंरदास वैरागी हुने भएका छन्।

स्रोतका अनुसार रेग्मीले दिएको राजीनामा बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेसँगै यही असोज २१ गते नियमति अवकास पाउँदै गरेका शंकरदास वैरागी मुख्य सचिव हुने भएका हुन्।

प्रधानन्त्री केपी शर्मा ओलीको चाहनाअनुसार रेग्मीले कार्याकाल सकिनुभन्दा दुई हप्ता अघि राजीनामा दिएर वैरागीका लागि बाटो खोलिदिएका हुन्। मुख्यसचिवका रुपमा रेग्मीको तीन वर्षे कार्यकाल कात्तिक ३ गतेसम्म थियो।

रेग्मीले राजीनामा दिएपछि असोज २१ गते सचिवको पाँच वर्षे कार्याकाल पूरा गर्दै वैरागीसँगै सचिवहरु मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारीले पनि अवकास पाउँदै थिए।

शकंरदास वैरागी

रेग्मीको राजीनामापछि सापकोटा र अधिकारी पनि मुख्य सचिवको दावेदार भए पनि वैरागीको संभावना बढी रहेको स्रोतको दाबी छ।

निजामति सेवा ऐन २०४९ अनुसार मुख्य सचिवका रुपमा तीन वर्ष र सचिवका रुपमा पाँच वर्ष काम गर्न पाउने व्यवस्था छ। उमेर हद भने सबैका लागि ५८ वर्ष नै रहने व्यवस्था छ।

रेग्मीले असोज २२ पछि राजीनामा दिएको भए चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसूदन अधिकारी स्वत मुख्यसचिव दावेदार बन्ने थिए।

मुख्य सचिवबाट राजीनामा गराएर सरकारले रेग्मीलाई कुनै शक्तिशाली देशको राजदूतमा पठाउने तयारी गरेको छ। प्रधानमन्त्रीले उक्त कुराको सुनिश्चिता गरेपछि मात्रै रेग्मी अवकास अघि नै राजीनामा दिन तयार भएको स्रोतको दाबी छ।

वैरागी मुख्य सचिव भएपछि परराष्ट्र मन्त्रालयको सचिवमा वरिष्ठतम सहसचिव भरतराज पौडेलकाे नियुक्ति हुने प्राय: निश्चित भएको सरकारकाे उच्च स्राेत बताउँछ ।

असोज १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्