नेकपामा आउन बाबुराम, मोहन वैद्य र विप्लवलाई प्रचण्डको आग्रह

फाइल तस्बिर।

काठमाडौँ – नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पूर्व माओवादीबाट विभाजित भएर गएका कम्युनिष्ट घटकहरुलाई एकतामा आउन आग्रह गरेका छन्।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले अहिलेको सन्दर्भमा एकता नै बल भएकाले विभाजित भएकाहरुलाई नेकपामै समाहित हुन् आह्वान गरेका हुन्।

प्रचण्डले डा. बाबुराम भट्टराई, मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवलाई एक भएर अघि बढ्न सुझाव दिएका हुन्।

दाहालले भने, ‘अब बाँकी रहेका कमरेडहरुलाई पनि मुलधारतिरै फर्किनु देशको, जनताको हितमा हुन्छ। म आग्रह गर्छु बाबुराम जी, किरण जी र विप्लवलाई भन्न चाहन्छु जे फरक विचारहरु छन्, सँगै बसौँ, छलफल गरौँ र एउटा विधि प्रक्रियामा गएर निर्णय गरौँ।’

प्रचण्डले एकतामा बल हुँदो रहेछ भन्ने कुरा एमाले र माओवादी केन्द्रको एकताले पुष्टि गरिसकेको बताए। ‘एकतामा ठूलो ताकत हुँदो रहेछ।विश्वभर कम्युनिष्टहरु कमजोर भएका बेला एकता हुने वित्तिकै झण्डै दुई तिहाइ बहुमत आयो’, प्रचण्डले भने।

उनले कम्युनिष्ट आन्दोलनलाई अझ बलियो बनाउने भन्ने कुरा आफ्नै काँधमा रहेको उल्लेख गरे।

दाहालले नेकपा नेतृत्वले समाजवाद निर्माण गर्ने आधार तयार पारिरहेको उल्लेख गरे।

असोज १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्