ईश्वरीप्रसाद ओडारी

ढाँट्या भए मरिजाउँ ढाँटेको छैन
सत्य कसम झुक्याउन आँटेको हैन
कुरा साँचो छ, कुरा सँचो छ
माया दिने मायालु ज्यानको ज्यानलाई खाँचो छ ।।

जुनिभरि साथ दिँदै दीगो माया बसाउने
पिरतीको बन्धनमा दुई मुटु कसाउने
मनका मिठा रहरहरु आपसमै फुकाउने
सानातिना दुखेसोलाई हाँसोमै लुकाउने
यस्तै मायालुको हजुर ज्यानलाई खाँचो छ ।।
कुरा साँचो छ…
माया दिने मायालुको ज्यानलाई खाँचो छ ।।

सिठो पिठो माया मुछी ढिँडो रोटो खाइदिने
रमाउँदै काखमा बसी माया मिठो लाइदिने
असल बाटो प्रगतिपथमा सँधै मोडिदिने
वैँसको उन्मादमा चोखो माया जोडीदिने
यस्तै मायालुको हजुर ज्यानलाई खाँचो छ
कुरा साँचो छ…
माया दिने मायालुको ज्यानलाई खाँचो छ ।।

हाँस्ने खेल्ने जिन्दगी

हाँस्ने खेल्ने जिन्दगी रमाइलो भन्छन् सबैले
गरिबको न्याय निसाफ गर्दैनन् कसैले
आफ्नो आफ्नो दुनो मात्रै सोझ्याउँछन् सबैले
यस्तो उस्तो दिन्छु भन्दै लोभ्याउँछन् सबैले ।।

गास, बास, कपासको छैन कुनै जो हो
भोका नाङ्गा गरिब जोत्ने भन त्यो चाँही को हो
नाङ्गो आङ्ग, भोको पेट गरिबको जात
हाँस्दै बाँच्ने इच्छालाई कसले दिने साथ ।।

शोषक र बुर्जुवाको विचित्रको खेल
जो दुःखी छन् उनै माथि किन जाल झेल
शोषित पीडित उठौँ जागौँ न्याय निसाफ चाहियो
संघर्षमै बिते पिँडी यहाँ खै के पो पाइयो ।।

हाँस्ने खेल्ने जिन्दगी रमाइलो भन्छन् सबैले
गरिबको न्याय निसाफ गर्दैनन् कसैले
आफ्नो आफ्नो दुनो मात्रै सोझ्याउँछन् सबैले
यस्तो उस्तो दिन्छु भन्दै लोभ्याउँछन् सबैले ।।

असोज १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्