दाङ – रोशनी थापा बैंकर हुन्। उनको परिचय यतिमै सीमित छैन। तेक्वान्दाे खेलाडीसहित उनले अहिले आफ्नो परिचय  साइक्लिङ्गमा पनि बनाउन थालेकी छन्।

विगत केही वर्षदेखि उनले निरन्तर साइकल चलाउँदै आएकी छन्। लामो रुटमा समेत उनले साइकल कुदाउँदै नयाँ ठाउँको भ्रमण गर्दै आएकी छन्। ‘साइकल चलाउँदा रमाइलो लाग्छ। मलाई समथर भागमा भन्दा पनि उकालो ओरोलो भएको ठाउँमा साइकल चलाउन राम्रो लाग्छ’उनले भनिन्–‘साइकल खासमा स्वास्थ्य र वातावरणको लागि चलाउन थालेकी हुँ।’

दाङ जिल्लामा बिस्तारै साइक्लिङ्गको क्रेज बढ्दै छ। शहरीकरणको तीव्र विकाससँगै मानिसहरु विलासी सवारी साधनमा आकर्षित भैरहेको बेला युवा वर्गले भने साइकल प्रेम देखाउन थालेका छन्।

रेशम केसी शिक्षण पेशामा आवद्ध छन्। उनले साइक्लिङ्गको यात्रा २०७३ सालबाट सुरु भएको हो । सानो उमेरमा साइकल चलाएका उनले ठूलो भएर साइकलबाट नेपाल यात्रा समेत गरिसकेका छन्।

उनले साइकलबाट हुने फाइदाको बारेमा अरुलाई सिकाउने समेत गरेका छन्। उनकै नेतृत्वमा झण्डै चार वर्ष अघि दाङमा साइकल संघ स्थापना गरेर साइक्लिङ्गको मोह जगाउन थालियो । मान्छे व्यस्त जीवन विताउने गरेको छ । व्यस्त जीवनमा धेरै रोगको सिकार हुनु परिरहेको छ । धेरैलाई मुटु रोग, मोटो पनको समस्या छ। तर, साइकलले मुटुलाई स्वस्थ बनाउन अमृतको काम गर्ने बुझाई रेशमको छ।

‘मान्छेहरुले महंगा गाडी मोटर चढ्न थालेका छन्। विलासी जीवन बिताउँदा स्वास्थ्यमा नराम्रो असर परिरहेको थाहा हुँदैन। हामीले साइकल चलाउँदाका फाइदाको बारेमा समेत बताउन थालेका छौँ’दाङ जिल्ला साइकल संघका अध्यक्ष रेशम केसीले भने–‘दाङ जिल्लालाई साइकल सिटीको रुपमा विकास गर्न चाहन्छौँ। मानव स्वास्थ्य र वातावरणको लागि धेरै उपयुक्त छ।’

शनिबार ११२ किलोमिटरको यात्रा तय गरेको साइकल राइडरहरुले दाङको पुरानो नाका कोइलावासको अवलोकन गरेको छ। साइकलबाट पुग्न सक्ने गन्तव्यमा राइडरहरु पुग्ने गरेका छन्। पर्यटकीय गन्तव्यकाे प्रचार प्रसारको लागि समेत यो टोलीले काम गरेको छ।

‘जिल्ला भित्रकै पर्यटकीय गन्तव्यहरुमा पुग्ने रुट बनाएका छौँ। त्यही अनुसार हामी सुइकोट पुग्यौँ। स्वास्थ्य र वातावरणसँगै पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार गर्ने उद्देश्य बोकेका छौँ’साइकल राइडर केवी न्यौपानेले भने–‘टाढामा लुम्बिनीसम्म पुगेका छौँ भने जिल्ला भित्र दर्जन बढी गन्तव्यमा पुगिसकेका छौँ।’

दाङ साइकल सिटीले कोइलावास सम्मको साइकल यात्राको आयोजना गरेको हो।

नारायण खड्का पेशाले पत्रकार हुन्। उनको परिचय अब साइकल राइडरको रुपमा पनि थपिएको छ। उनी पनि साइकल चलाएर कोइलावास पुगे।

जिल्लाको तुलसीपुर, घोराही, लमही क्षेत्रमा पछिल्लो समय साइकल राइडरहरुको संख्या बढ्दै गएको छ। साइक्लिङ्गले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यस प्रति युवा पुस्ताको आकर्षण बढेको हो ।

लेडी साइकल राइडरहरु पनि तयार भएका छन्। तुलसीपुरमा महिला पुरुष गरेर ५० जना जती, घोराहीमा ४० जना जती र लमही क्षेत्रमा १२/१५ जना जती साइकल राइडर तयार भएका छन्।

जिल्लाका शहरहरुमा भने साइकल लेन बनाउनुपर्ने आवाज पनि सँगसँगै उठ्न थालेको छ।

असोज १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्