बाह्रबिसे – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ नागपूजे र भीरखर्कका पहिरो प्रभावित बासिन्दा अहिले सोही क्षेत्रको सुरक्षित स्थानमा अस्थायी आवासमा बसेका छन्।

नगरपालिकाको समन्वयमा नागपूजेको सुरक्षित स्थानमा पहिरोबाट विस्थापित भएकाहरुलाई राखिएको र आधारभूत सबै आवश्यकताको व्यवस्थापन गरिएको उपमेयर सुशीला पाख्रिनले जानकारी दिइन्।

गएको भदौ २८ गते बिहान गएको पहिरोमा परि ३१ जनाको ज्यान गएको थियो भने १५ जना अझै बेपत्ता छन्। दुईजना सो पहिरोमा घाइते भएका थिए।

पहिरोका कारण नागपूजे र भीरखर्कका ८४ घर पूर्णरुपमा क्षति भएको थियो भने ९७ घरमा आंशिक क्षति पुगेको थियो। प्रभावित भएका सबैलाई अहिले टेन्टको व्यवस्था गरी नागपूजेमा राखिएको छ।

आफूहरुले प्रभावित सबैलाई दीर्घकालीन रुपमा सुरक्षित स्थानमा स्थानान्तरण गराउनका लागि अहिले काम सुरु गरेको र स्थानीय तहदेखि प्रदेश तथा केन्द्र सरकारसम्म त्यसका लागि पहल भइरहेको उपमेयर पाख्रिनले बताइन्।

अस्थायी आवास क्षेत्रमा रहेकाहरुलाई अहिले पनि विभिन्न क्षेत्रबाट राहतहरु आउने क्रम जारी रहेको छ। तत्कालका लागि आधारभूत सामग्रीको अभाव नरहेको भए पनि दीर्घकालीन व्यवस्थापनका लागि भने चुनौति रहेको छ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले पहिरो प्रभावित बसेको अस्थायी आवास क्षेत्रको अवस्था केही तस्बिरमा समेटेकी छन् ।