ट्रम्पको अर्को विवादास्पद कार्य, अस्पतालबाट बाहिर आएर गरे समर्थकलाई अभिवादन

कोरोना भाइरसबाट संक्रमित भएर वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेका छन् । उनको यो कार्य विवादित बनेको छ ।

संक्रमित भएर स्वास्थ्यमा समस्या देखिएपछि रेमडेसिभिसहितका औषधि दिइएका तथा अक्सिजन लेभल पनि कम भएका ट्रम्पले गुप्तचर सेवाको गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेका हुन् । गाडीमा रहेका उनले मास्क मात्रै लगाएका थिए ।

गाडी चलाउनेहरुको सुरक्षा तथा कोरोना भाइरसबाट संक्रमित भएको व्यक्तिले बाहिर यसरी आउनु उपयुक्त नरहेको भनी उनको गतिविधिको आलोचना भएको छ ।

ह्वाइट हाउसले भने डाक्टरहरुको स्वीकृतिमा राष्ट्रपति ट्रम्प केहीबेरका लागि गाडीमा बाहिर निस्किएको बताएको छ । तर स्वीकृति दिने डाक्टर को हुन् भन्ने बारे नखुलाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसलाई गम्भीर रुपमा नलिएको तथा अधिकांश समय छल मात्रै भन्ने गरेका ट्रम्पले भाइरसबारे आफूले धेरै जानकारी पाएको बताएका छन् । उनले भिडियो सन्देशमा आफूले भाइरसबारे धेरै थाहा पाएको बताएका हुन् ।

ट्रम्पका डाक्टरले यसअघि ट्रम्पको स्वास्थ्य सुधारको क्रममा रहेको र सम्भवतः सोमबार डिस्चार्ज हुन सक्ने बताएका थिए ।

ट्रम्पलाई कम्तीमा एकपटक अक्सिजनको सपोर्ट दिइएको छ । डा. शन कोन्लीले अक्सिजन लेभल दुईपटक कम भएको बताएका छन् ।

उनलाई स्टेरोइड पनि दिन थालिएको उनले बताए । स्टेरोइड कोरोना भाइरसबाट संक्रमित भइ गम्भीर स्वास्थ्य अवस्था भएका बिरामीलाई दिइन्छ ।

असोज १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्