प्रश्नलाई बर्जित गर्ने हाम्रो परम्परा

प्रश्न शब्दलाई नेपाली शब्दकोशले सोधनी, सोधपूछ, सवालको रुपमा अर्थ्याएको छ। हामीमध्ये सायदै कोही हौँला जसले प्रश्न शब्दको अर्थ जान्न शब्दकोश पल्टायौं। किनकि यसको आवश्यकता महसुस नै गरेनौँ। बरु यस्तो लाग्छ, प्रश्न शब्दको अर्थ र भावसँग हामी भलिभाँती परिचित छौँ। व्यवहारिक अभ्यास जे जसो भएता पनि सैद्धान्तिक तवरमा प्रश्न भनेको जिज्ञासा हो भन्ने ज्ञान पाएरै हुर्किएका हौँ हामी।

जिज्ञासा चाहे व्यक्ति, घटना, प्रवृत्ति, विषय होस् या विचारप्रति। तर समस्या मानौं वा सौन्दर्य। प्रश्न भनेको जिज्ञासा हो भन्ने ज्ञान आफैं अनेकौँ प्रश्नहरु लिएर आउँछ। जस्तो: प्रश्न किन सोध्ने? कति सोध्ने? कसलाई सोध्ने? कहिले सोध्ने? नसोध्दा के हुन्छ? आदि इत्यादि। प्रश्नभित्रै समाहित यी अनेक प्रश्नहरुले यही इंगित गर्दछन् कि प्रश्नको सम्बन्ध ज्ञानसँग छ, अनि अज्ञानसँग छ। प्रश्न सोध्दा ज्ञानको फैलावट बढ्छ अनि नसोध्दा अज्ञानताको गहिराइ। भलै, प्रश्नकै लागि मात्र गरिएको प्रश्नले भने ज्ञानवाट विवेकतिरको द्वार खोल्छ नै भन्ने छैन। अंगेजीमा एउटा प्रसिद्ध कथन छ जसको भावार्थ यस्तो हुन्छ: सामान्य चेतना भएका मानिसको सोच व्यक्ति सम्बन्धी हुन्छ — जसको चेतनास्तर मध्यम छ उसको सोच घटना सम्बन्धी हुन्छ अनि जसको चेतनाको स्तर उच्च छ, उसको सोचाइ विचार सम्बन्धी हुन्छ। भनेपछि मान्छेले सायद जे सोच्छ, त्यही न सोध्छ!

यसरी हेर्दा, प्रश्नलाई बर्जित गरेर विवेक र ज्ञानका त के कुरा, सही सूचनातिरको यात्रा समेत असम्भव प्रायः देखिन्छ। तर, हाम्रो सामाजिक अभ्यासमा प्रश्नोत्तरलाई निरुत्साहित गर्ने प्रवृत्ति मौलाउँदै गएको छ। चाहे त्यो परिवार, समाज होस् या कक्षाकोठा। अझै विष्मयकारी त यो छ कि हामीले प्रश्नोत्तरलाई वर्ग, वर्ण र लिंगको लपेटोमा लपेटिदिईसक्यौँ। वर्तमानको अभ्यास केलाउँदा यस्तो देखिन्छ: प्रश्न सोध्नु कथित उच्च वर्ण, वर्ग अनि लिंगको नैसर्गिक अग्राधिकार हो अनि उत्तर दिनु कथित तल्लो वर्ण, वर्ग अनि लिंगमात्रको अभिछिन्न धर्म।

यो लपेटो सायद हाम्रो परिवार, समाज अनि शिक्षालयको अभ्यासको नै विस्तारित रुप हो। हामीमध्ये धेरैले जिज्ञासु भएर सवाल गर्दा परिवार अनि समाजमा “खुकुरी भन्दा कर्द लाग्ने!” भन्ने आशयको व्यवहार व्यक्त या अव्यक्त रुपमा अनुभूत गरेकै हौंला। शिक्षालयको अभ्यास समेत यो भन्दा भिन्न नरहेको तीतो यथार्थ भाषाशास्त्री तथा निवन्धकार डा.माधवप्रसाद पोखरेलले आफ्नो लेख “बेकामे पिएच्डी” मा सविस्तार उल्लेख गर्नुभएकै छ। पटकपटक उल्लेखित आशयसँग साक्षात्कार भएपछि घरिघरि म घोत्लिन्छु: खुकुरीले आफ्नो भावना व्यक्त गर्नसक्ने अनि मानवजातिले उसको मनोविज्ञान मनन गर्न सक्ने हुँदो हो त.. साँच्चै खुकुरी आफूभन्दा कर्द लाग्ने भएकोमा खुसी हुन्थ्यो होला कि दुःखी हुन्थ्यो होला? खैर, यो काल्पनिक संसारबाट फर्किउँ मानव जगततिर नै। यो कथ्यको इतिहास कहिलेबाट स्थापित भयो कुन्नि? तर, प्रश्न प्रवाहको इतिहास भने धेरै पुरानो रहेको तथ्य अवगत गराउँछन् पूर्वीय अनि पश्चिमी दर्शनहरुले।

प्रश्नको गहिराइ दर्शाउनका लागि प्रयोग गरिने “यक्ष प्रश्न” महाभारतकालीन रहेको सर्वविदित नै छ। वनवासको समाप्ति र अज्ञातवासको प्रारम्भ हुने संक्रमणकालीन अवस्थामा रहेका पाण्डवहरुलाई एक सरोवरको पानी पिउनुभन्दा पहिले उक्त सरोवरका मालिक “यक्ष” को भेषमा आएका धर्मराजले मानव जीवन र प्राकृतिक जगत सम्बन्धी गहन प्रश्नहरु गर्छन्। हजारौँ हात्तीको सामर्थ्य एक्लैमा राख्ने वलशाली भीम अनि अजेय अर्जुन समेतगरी चारै पाण्डव दाजुभाइहरु प्रश्नको सामना गर्न घमण्डपूर्वक अस्वीकार गर्दा देह त्याग गर्न वाध्य हुन्छन्। उता भोक, प्यास, शोक, मोह लगायतका दोषहरुबाट मुक्त भई विनयशील भावमा उत्तर दिएर धर्मभीरु युधिष्ठिरले भाइहरुको गुमेको जीवन फिर्ता ल्याउँछन्। यस कथाको व्याख्याका आयामहरु धेरै हुनसक्छन्। यद्यपि, उचनिचको भावनाभन्दा धेरै माथि उठेको प्रश्नोत्तरको गरिमाबारेको वर्णनका रुपमा यसलाई ग्रहण गर्न सकिन्छ।

मानव हुनुमा नै पीडा र लज्जाबोध हुनेगरीका बलात्कार र हत्या जस्ता कूकर्महरु, कस्तो प्रवृत्ति र कुन मानसिकताको उपज होला? नाबालिकादेखि नब्बे बर्षका वृद्धासम्म असुरक्षित त्यो पनि छरछिमेक र आफन्तबाट नै!! यस्ता घृणित अपराधिक मनोवृत्तिका जराहरु कहाँ होलान् अनि कति फैलिएका होलान्? भन्ने प्रश्नहरु सर्वाधिक प्राथमिकतामा पर्नुपर्छ भन्नेमा एकमत भए बलात्कारीको देशका रुपमा हामी कुन तहसम्म पुग्दा आपत्ति नहुने हो भन्ने बहस सुन्नुपर्ने दुरावस्थाबाट बचिन्थ्यो कि! 

यस्तैगरी, वुद्धदर्शनले हामीलाई “सन्देह गर्न” अभिप्रेरित गर्दछ। सन्देह गर्नु भनेको सुनेको, पढेको र देखेको ज्ञानमाथि वारम्वार प्रश्न गरिरहेर ज्ञानको गहिराइमा डुबुल्की मार्न प्रयत्नरत रहिरहनु हो भन्ने तत्ववोध वुद्धदर्शनमाथि व्याख्या र विश्लेषण गरिएका पुस्तकहरुमार्फत पाउन सकिन्छ। वुद्धदर्शनले हामीलाई यो बुझाउँछ कि धर्म भनेको सत्य हो र सत्य भनेको अनुसन्धानको विषयवस्तु हो, अन्धानुकरण होइन। त्यसैले त वुद्धदर्शनमा ज्ञानका तीन तहको व्याख्या पाइन्छ जुन क्रमशः बढी श्रेष्ठ छन्– सुनेर पढेर प्राप्त श्रुतमयी प्रज्ञा, वुद्धिविलासबाट प्राप्त चिन्तनमयी प्रज्ञा अनि प्रत्यक्ष अनुभूतिबाट प्राप्त भावनामयी प्रज्ञा। यदि श्रुतमयी प्रज्ञालाई नै अन्तिम सत्य मानेर त्यसमाथि सन्देह नगर्ने हो अनि आफूलाई चिन्ने प्रयत्न नगर्ने हो भने व्यक्तिको भावनामयी प्रज्ञातर्फको यात्रा कहाँ सम्भव छ र?

साथै पश्चिमा दर्शनको एक आधार स्तम्भको रुपमा परिचत सुकरात पनि प्रश्न र सन्देहको महिमा स्थापित गराउने महान दार्शनिक हुन्। आलोचनात्मक ज्ञानको उदय तबमात्र सम्भव हुन्छ जब ज्ञानमाथि तर्कपूर्ण प्रश्नोत्तर र छलफल गरिन्छ भन्ने मान्यतामा आधारित देखिन्छ सोक्रेटिक डायलेक्टिकस्। कक्षाकोठाहरुमा प्रयोग गरिने अन्तर्क्रियात्मक अध्ययन अध्यापनलाई सोक्रेटिक पद्धतिको अभ्यास गरेको भनेर बुझ्ने बुझाउने चलन अद्यापि छँदैछ।

आजको विश्व अनिश्चितता र अप्ठ्यारो परिवेश तर्फ डोरिरहेको छ। बजारको जगमा उभिएको पुँजीवादका विविध स्वरुपमात्र नभएर प्रजातान्त्रिक/लोकतान्त्रिक पद्धतिसमेतको अपर्याप्ततामाथि विश्वव्यापी रुपमा सघन बहश चलिरहेको छ। पौराणिक कथाहरुतिर फर्केर हेर्दा कलिसँगै एक युग समाप्त हुने कथ्य त स्थापित छँदैछ। विज्ञानले समेत कृतिम वौद्धिकताको चरम विकाससँगै मानवजातिको अस्तित्व संकटतर्फ उन्मूख रहेको संकेत गरेको बर्षौँ भइसक्यो। सुप्रसिद्ध वैज्ञानिक स्टेफेन हकिङले पूर्ण क्षमताको कृतिम वौद्धिकताको विकासले मानव प्रजातिकै अन्त्य गर्नसक्ने संशयमात्र व्यक्त गरेका छैनन्, मानवको यही रवैया पर्यावरणमाथि कायम रहिरहेमा सय वर्ष नबित्दै मानवले आफ्नो अस्तित्व बचाउनका लागि पृथ्वीको विकल्प तयार गरिसक्नुपर्ने चेतावनी दिँदै धर्तीबाट बिदा भएका छन्।

“तपाईँ आफ्नो तर्फबाट विश्वमा के प्रभाव पार्न चाहनुहुन्छ?” भन्ने प्रश्नको उत्तरमा, प्रश्न प्रवाहको अनिवार्यताको महिमा दर्शाउँदै विश्वविख्यात लेखक तथा इतिहासकार युभल नोहा हरारी भन्छन्, मेरो प्रयास भनेको सार्वजनिक मन्चहरुमा चलिरहेका बहसहरुलाई आजको विश्वका सर्वाधिक महत्वपूर्ण प्रश्नहरुमा केन्द्रित गराउनु हो। म आफैं पनि केही उत्तर र समाधानहरु सुझाउने प्रयत्न गर्छु। तर म यस कुराको त्यति मतलव राख्दिन कि मानिसहरु मैले दिएको उत्तर या समाधानहरुमा सहमत हुन्छन् या हुन्नन्। मेरो लागि अत्याधिक महत्वपूर्ण हो उनीहरु प्रश्नमा सहमत हुन्छन् कि हुन्नन्।

सायद हरारी सही छन्, कुनै पनि विषय या समस्याका समाधानका तौरतरिका अनेक हुनसक्छन्। तर प्रश्न तत्कालीन परिस्थितिमा कुन विषय या समस्या सर्वाधिक महत्वपूर्ण हो भन्नेमा एकमत हुनु नै होला। हाम्रै अभ्यास हेरौँ न, हाम्रा सरोकारवालाहरुको व्यवहारले आजको दिनको प्रधान प्रश्न शक्तिको बाँडफाँटमा भाग कसले पाउँछ भन्ने नै हो जस्तो परिदृश्य देखाउँछ। तर यो सत्य होइन, तत्कालको सर्वाधिक महत्वको प्रश्न महामारीले गाँस छिनेर दशैंको मुखमा देश छोड्नका लागि सिमानामा लाइन लाग्न, अनि झरीमा निथ्रुक्कै भिजेर टुँडिखेलमा एक छाक भात पर्खिन केले र किन बाध्य बनायो भन्ने हुनुपर्ने हो। यी प्रश्नमा सहमत भए न यस समस्याको समाधानका खातिर चाल्न सकिने विभिन्न सामाजिक, आर्थिक, राजनीतिक प्रयत्नहरुमाथि फराकिलो छलफल चल्थ्यो होला। फलानो र ढिस्कानाबीच संवाद भयो, संवाद बन्द भयो, फलानोलाई बालुवाटारको फोन आयो, फलानाहरु एकपाखे मात्र भए …. यस्तै यस्तै विषयको उल्झनहरुबाट सञ्चार र समाजमाथि उठ्थ्यो होला!

अनि, मानव हुनुमा नै पीडा र लज्जाबोध हुनेगरीका बलात्कार र हत्या जस्ता कूकर्महरु, कस्तो प्रवृत्ति र कुन मानसिकताको उपज होला? नाबालिकादेखि नब्बे बर्षका वृद्धासम्म असुरक्षित त्यो पनि छरछिमेक र आफन्तबाट नै!! यस्ता घृणित अपराधिक मनोवृत्तिका जराहरु कहाँ होलान् अनि कति फैलिएका होलान्? भन्ने प्रश्नहरु सर्वाधिक प्राथमिकतामा पर्नुपर्छ भन्नेमा एकमत भए बलात्कारीको देशका रुपमा हामी कुन तहसम्म पुग्दा आपत्ति नहुने हो भन्ने बहस सुन्नुपर्ने दुरावस्थाबाट बचिन्थ्यो कि!

त्यसैगरी, एउटा सत्याग्राहीको जीवन कसरी बचाउने भन्ने आजको अहं प्रश्न हो भन्नेमा एकमत हुनसके, महामारीले नंग्याएको स्वास्थ्य लगायत समग्र सेवा क्षेत्रको वेथिति समाधानका आयामहरुतर्फ चिन्तन र छलफल हुन्थ्यो होला। न कि सत्याग्रहको घडी–पला मिल्यो कि मिलेन, सत्याग्रहभित्र स्वार्थ समूह छिर्‍यो कि छिरेन! यी त भए हाम्रो लामो गलत अभ्यासहरु सिर्जित समूल प्रतिफलका केही दैन्यदिनका प्रश्नका श्रृंखला।

अब भने, विगतका तमाम गलत आचरण र अभ्यासका श्रृंखलाहरुको क्रमभंगता गर्दै युगीन चेतना निर्माणतर्फ अग्रसर हुन विलम्ब भइसकेको छ। यसका लागि हामीले आजको समाज अनि समय सुहाउँदो “यक्ष प्रश्न” हरु के के हुन सक्छन् भनेर सोध्न, खोज्न, छलफल गर्न र सहमत हुन अविलम्व आरम्भ गर्नुपर्छ। यो अत्यावश्यक सत्प्रयासका लागि फरक धार मात्र होइन, फराकिलो सोचाइ राख्ने साहस समेत अपरिहार्य छ।

(नर्वेस्थित युनिभर्सिटी अफ बर्गेनबाट लैँगिक अध्ययन र विकासमा एमफिल गरेकी घिमिरे हाल बानेश्वर बहुमुखी क्याम्पसमा समाजशास्त्र पढाउँछिन्।) 

असोज २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्