कथा

जीवनको क्वारेन्टिनमा निस्सासिएकी छोरीको आमालाई चिठी

प्रिय आमा!

प्रणाम!

आमा, हामी यहाँ सञ्चै छौँ। हजुरलाई पनि त्यहाँ ठिकै छ, त्यो कुरा मलाई थाहा छ। आमा हामी दिनहुँ कुरा गर्छौँ। कहिलेकाहिँ दुई दिन बिराएर भए पनि हुन्छ तर कुरा भई नै रहन्छ हाम्रो। हो आमा, तैपनि केही कुरा छ जुन मैले यो कागजमा कलमको सहयोगले लेख्ने प्रयास गर्दैछु। मैले चाहेर पनि यो हजुरको सामु भन्न सकिरहेको छैन। हिम्मत हुँदैन। ममा हजुरको सामु आँखामा टक्क हेरेर बोल्ने आँट कहिल्यै पनि थिएन र भएन पनि।

हुन त आजकल मेरो स्वभाव बदलिएको छ। अवस्था फरक परेकाले होला। रिसाएर जोडले कराएकी पनि छु, हजुरको अगाडि तर मेरो ‘इन्टेन्सन’ हजुरको चित्त दुखाउने कहिल्यै पनि थिएन। होस् पनि कसरी सामान्यतया: कुनै पनि आमाले आफ्नो सन्तानलाई अथवा सन्तानले आफ्नी ‘जननी’ लाई ‘हर्ट’ गर्न चाहदैँनन्। अँ, आमा र सन्तानको सम्बन्ध, माया नै सायद यही हो। निश्वार्थ प्रेम। स्वार्थसहितको प्रेम पनि होला कतै कतै तर त्यो अपवादको विषय हो। आमा….. आमा…। हजुरलाई ठिक त छ नि?

आमा हजुरलाई ठिक त छ नि…..? मलाई थाहा छ- हजुरले धेरै कुरा लुकाउनु हुन्छ, आफ्नो इच्छा, आफ्नो आवश्यकताको कुरा ‘सेयर’ गर्नुहुन्न। छोराछोरीलाई दुःख हुन्छ भनेर। तर म बुझ्छु। यद्यपि बुझेर पनि नबुझेको गर्छु। र मनमा लागेको कुरा भन्न नसक्दा अथवा यहाँको सपना पूरा गर्न असमर्थ हुँदा आफैँमाथि रिस लाग्छ। रिस किन नउठोस् त.. ? कहिलेकाहिँ अवस्था नै त्यस्तो भइदिन्छ। म के गरुँ? हजुरलाई सम्झाउँदा हजुर मान्नु हुन्न। अनि मसँग रिस पोख्ने बाहेक ‘अप्सन’ हुँदैन। हजुरका लागि केही गर्न खोज्दा “तिमी छोरी हो, आफ्नो घर (श्रीमानको घर) को लागि सोच” भनेर मेरो भर्खरभर्खर उम्रिन लागेको इच्छा, सपनाको मुन्टो तोडेर फ्याँक्नु हुन्छ। अनि रिस लाग्दैन त? मेरो बुवा होस् कि आमा अथवा मेरो कठिन परिस्थितिमा सहारा दिने व्यक्ति, सबै तपाईँ नै हुनुहुन्छ। तर मैले यो कुरा बुझेपनि हजुरले मेरो सर्वोपरि अधिकार मेरो ‘सोकल्ड’ आफ्नो घरलाई (श्रीमान्‌को घर) लाई नै दिनु भा‘ छ।

आखिर किन आमा? किन?

तपाईँले जन्म दिनुभयो, पाल्नुभयो, हुर्काएर यति ठूलो बनाउनु भयो। हामी सन्तानलाई सुरक्षित राख्न, श्रीमानसँग समेत लड्नु भयो, सन्तानको पेट भर्न आफैँ काम गर्नुभयो। तपाईँलाई त कहिल्यै पनि प्रेम, माया भेटेन आमा तर पनि आफ्नो सन्तानको मायामा हजुरले सब बिर्सिनु भयो। र, हामीलाई कठिन परिस्थितिमा कसरी लड्ने भनेर सिकाउनुभयो। मानवता कहल्यिै पनि नबिर्सिनु भनेर सिकाउनु भयो। भाइबहिनीसँगै मेरो आवश्यकतालाई हरसम्भव पूरा गर्ने प्रयास गर्नुभयो। तर पनि तपाईँको ‘राइट’ ममाथि किन छैन आमा? किन घरिघरि मैले कदम उठाउने बेलामा हजुरको नभई ‘सोक्लड’ आफ्नो घरको ‘परमिसन’ लिनुपर्छ आमा। किन मलाई त्यो घरको आँगनमा सुम्पिनु भा’छ आमा? जहाँ मलाई मेरो आत्माले आफू भन्ने कोही पनि छैन। किन आमा? छोरी हुनु अभिशाप हो भनेर त हजुरले कहिल्यै पनि भन्नु भएन। तैपनि अर्काकै आँगनमा तिम्रो शोभा बढ्छ भनी किन भन्नुहुन्छ आमा। किन?

विगतका केही वर्षमा मैले अत्यन्त कठिन परिस्थितिको सामना गरेँ। जब मेरो अन्तिम अवस्था थियो, जब म टुटेकी थिएँ। मेरो मुटु टुक्राटुक्रा भएर भुईँमा झर्नै लाग्या थियो। झण्डै जीवन समाप्त भयो। त्यो बेला अरुसँग बस्दाबस्दै पनि उसको नभई केबल हजुरको सहारा पाएँ। जब काखमा नानी लिएर भौँतारिने झैँ महसुस भयो, तब त्यो अबोध शिशुको आमा बनेर उभिनु भयो। म त आर्थिक, शारीरिक र मानसिक रुपले लाचार, कमजोर थिएँ। त्यसबेला मेरो सम्पूर्ण भार हजुरले लिनुभयो। कहीँकतैबाट कुनै सहयोग पाइन। म मानसिक रुपमा विक्षिप्त भएँ। सपनाहरु टुट्दै गयो। मेरो जागिर खोसिँदै थियो। शरीरको असह्य पीडाले लथारिएकी थिएँ। जब भौतिक रुपले काम नलाग्ने भएकी थिएँ। त्यो बेला आफन्त भन्नेले आरोप लगाए ( साइतमा घर आइनन् भनेर) भने सहारा हजुरको मात्र पाएँ। र हजुरको त्यो सम्झाउने तरिका, हिम्मत दिने कला, सब एउटा कुशल परामर्शदाता भन्दा बढी ‘वर्क’ गर्‍यो र म बाँचे अनि फेरि उन्मुनाउन थाल्यो ती सपनाहरु। मैँले काम गर्न खोज्दा पनि तपाईँले ‘तिमी टेन्सन नलेउ। नानीलाई म राखी रा‘ छु। तिमी ढुक्क भएर जाऊ’ भन्नुहुन्थ्यो। यही हिम्मत र सहाराको परिणाम हो कि मैले २ महिनाको नानीलाई घरमा छोडेर, आमाको जिम्मा लगाएर घरबाट निस्केँ। केही ठूल्ठूला ‘इभेन्ट’मा ‘पार्टिसिपेट’ गर्न सकेँ। इभेन्टको तयारी गर्न घरबाट निस्कनेबेला भख्खर भख्खरकी सुत्केरीलाई शारीरिक पीडाले बाहिर जान अनुमति दिइरहेको थिएन। ढाडको दुखाइले ओछ्यान छोडेर उभिन दिइरहेको थिएन भने खुट्टाको दुखाइले एक पाइला चाल्न समेत गाह्रो थियो। कहिलेकाहिँ कार्यालयका लागि हिँड्दाहिँड्दै बाटोमा झन्डै लड्थेँ। अनि ढिलो पुग्दा कहिलेकाहिँ सहकर्मी साथीहरुबाट गाली पनि खान्थेँ।

सुत्केरीपछिको त्यो पीडाले मेरो ‘प्रोफेसनालिज्म’ हराउँदै थियो, तर ममाथि जिम्मेवारी थियो र साथीहरुको माया पनि। समय समयमा मलाई मेरो शरीरको दुखाइ र नानीको मायाले त बाहिर नजा भनेपनि त्यो पीडालाई आफ्नो साथी बनाउँदै म हिँड्न शुरु गरेँ र सँगसँगै ‘इन्टरटेन’ पनि गरेँ। पछि त सब पीडा हरायो। म एकदम कुल भएँ। जे होस्- आमाको छायाँमा बाँच्नु भनेको स्वर्ग नै हुँदो रहेछ भन्ने आभास भयो।

कामको कारण राति घर आउन ढिलो हुन्थ्यो। नानीको साह्रै याद आउँथ्यो तर आमा तपाईँलाई मेरो हरेक कुराको खबर थियो। साँझ पर्नेबित्तिकै ‘कल’ गरेर भन्नुहुन्थ्यो। ‘घर आउन ‘टाइम’ लाग्छ हो?’ अनि मैले हो भन्दा हजुरले सरल जवाफ दिनुहुन्थ्यो- ‘हुन्छ, टेन्सन नलिनु, नानी सुति रा‘ छ। जे होस्- म ढुक्क हुन्थेँ र एकदम खुसी पनि।

सामान्यतया: मिथिला मधेशमा केटी घरबाट बाहिर बस्नु अथवा अबेर राति घर फर्कनु भनेको कसैको हत्या गरेको जस्तै अपराध ठानिन्छ। छोरी मान्छे एफएम अथवा सञ्चारक्षेत्रमा काम गर्नु जहाँ अपराध मानिन्छ त्यस ठाउँमा आमा तपाईँ मेरो र समाजको अगाडि सकारात्मक सोचको पर्खाल बन्नुभयो। र म हजुरसँग सबै कुराहरु, बितेका कुराहरु, वर्तमानका कुराहरु, दुःखको कुरा खुसीको क्षण लगभग सबथोक सेयर गर्न थालेकी थिएँ । यहाँ सम्मकि, केटाकेटीसाथी सबैको बारेमा भन्न थालेँ। र, किन नहोस्? हामी बस्ने हाम्रो घरको कोठामा म, हजुर र नानीबाहेर त्यही चार वटा पर्खाल र छानोमात्र थियो।

हामी कति खुसी थियौँ नि आमा….. । तर यो खुसीमा ग्रहण लाग्यो कोरोनाको रुपमा। कोभिड १९ यो अरुको लागि रोगको रुपमा परिचित भए पनि मेरो लागि मेरो र हजुरको बीचको ग्रहण बनेर नै आयो।

आमा, तपाईँकी यी छोरी ‘क्वारेन्टिन’ बस्न एकदम डराउँछिन्। तपाईँ यो कुरा किन बुझ्नु हुन्न? म तपाईँको सामु यो सब भन्न सक्दिन, रिसाउनु हुन्छ कि भन्ने डरले, फोनमा भन्दिन, रिसले फोन काट्नु हुन्छ भन्ने डरले। तर आमा म साँच्चिकै ‘क्वारेन्टिन’ मा छु। जहाँ खाना दिन्छ, पानी दिन्छ, केही कुरा जो मेरो अति आवश्यकताको कुरा छ.. र जो उहाँहरुको हितमा छ त्यो गर्न आजादी पनि छ। तर त्यही ४ वटा पर्खालभित्र मात्रै। मैले मेरो मनको, इच्छ्याएको केही गर्न सक्दिन आमा। जस्तो म छु, त्यस्तो यहाँ छैन आमा।

हो आमा। यो कोभिड १९ ले मेरो ७ सालपछि पाएको ‘गोल्डेन टाइम’ हजुरसँग बिताउने समयमा ग्रहण लगायो। म मेरो ‘क्रिएटिभ जब’ बाट बञ्चित भएँ। धेरै कुराको अभाव सिर्जना हुन पुग्यो जुन मैले हजुरलाई भन्न सकिरहेको थिइन। मनमा निराशाले घर बनाउन थाल्यो र पछि सबथोक भयो ‘लक डाउन।’

‘लक डाउन’ परिवारको, ‘लक डाउन’ घरको, ‘लक डाउन’ समाजको, ‘लक डाउन’ शहरको, ‘लक डाउन’ देशको हुँदाहुँदै ‘लक डाउन’ भयो पूरा संसारको । कोभिड १९ को महामारीले मजस्तै आफ्नो खुट्टमा अलिअलि उभिन सिकिरहेका मस्तिष्क र मुटुहरु तथा ‘अनलक’ हुन खोजिरहेका पाइलाहरुलाई ‘लक’ गर्‍यो। उसको सपनाको ‘लक डाउन’ लक्ष्यको ‘लक डाउन’ भयो। अन्ततः समाजमा कतिको पेट नै ‘लक डाउन’ भयो।

कहिले पनि नदेखेको, नसुनेको यो रोग, नभोगेको यो ‘लक डाउन’ ले सबै कुरा बेहाल बनायो। हो आमा, यो ‘लक डाउन’ले उज्यालो खोज्न लागेको यी आँखा र मस्तिष्कलाई अँध्यारोतर्फ धकेल्यो। आमा, कसैले भनेको म ‘एम्बिसियस’ हो।’ त्यो सत्य पनि हो। हो आमा म एकदमै महत्वाकांक्षी हुँ। यसको लागि कयौँ प्रकारका काँडाले भरेको बाटो मैले पार गर्नुपर्छ। यसमा हजुरले मेरो हाथ समाउनु, मेरो सहारा बन्नु अति आवश्यक छ अन्यको तुलनामा। तर खै यो कोरोनाकालले होला, हजुरको छोरी अपांग हुन थालेकी छिन्।

चाहेको कुरा गर्न नपाउँदा, भविष्यलाई अन्योलपूर्ण रुपमा हेर्दा मनमा मात्र नकारात्मक विचार आइ रा‘ थियो र छ पनि। म झर्किन थालेकी थिएँ। तर पनि हजुरले मलाई बरदास्त गर्नुभयो। तर यो कोभिड १९ ले बढाएको सामाजिक दूरी र पारिवारिक एकतामा मैले पनि सहभागी हुनैपर्‍यो। र, परिवार भनेपछि मेरो लागि मेरो ‘सो कल्ड’ परिवार मात्रै आउँछ। जन्मेको, हुर्केको, सहारा पाएको घरको कुनै ‘भ्याल्यू’ हुँदैन। म विवाहित जो हुँ। जहाँ जन्मेकी हुँ त्यो त मेरो घर नै होइन। प्रश्न गर्न मन लागि रा’ छ। आमा, मेरो घर कहाँ छ? हजुरले जति ‘सपोर्ट’ गरे पनि मलाई यो तिम्रो घर हैन भनी आभास दिलाइराख्नु हुन्छ। अनि जहाँ मलाई अरुको घरबाट आएकी भनेर हेर्ने दृष्टिले घोचिरहेको हुन्छ, त्यो ठाउँलाई म मेरो घर कसरी भनुँ आमा? योभन्दा क‌यौँ गुणा राम्रो म भाडामा बस्ने डेरा नै थियो जस्तो लाग्छ अब।

‘लक डाउन’ संसारमा आज भा‘ छ तर छोरी मान्छेको लागि यो सदियौँदेखि रहँदै आएको छ। आफन्तको घर उसको घर हुँदैन नि त। केही गर्नलाई, जीवनलाई अँगाल्न उसले यो ‘लक डाउन’ को उल्लंघन गर्नु नै परेको छ अहिलेसम्म। आमा, सायद मान्छेले अब थाह पाउलान् कि ‘लक डाउन’ को अर्थ। ‘लक डाउन’ मा बस्न कति गाह्रो छ भनेर। हो, आमा छोरी मान्छेको लागी सदियौँदेखि ‘२४×७ लक डाउन’ भए पनि म चाहिँ अपवादमै थिएँ। धेरै ‘लक डाउन’ नझेलेकी केटी। तर अरुलाई चाहिँ ‘लक डाउन’ मै बस्नु परेको छ। त्यो त हजुरलाई पनि थाहा होला नै। तर पनि ‘लक डाउन’ उल्लंघन गर्नेले उल्लंघन गरेर हिँडेका छन्, आफ्नो पखेटा फिँजाएर उडेका छन्, आफ्नो लक्ष्यतिर दौडेका छन् । हो आमा, यस्तै त हो हाम्रो समाज।

तैपनि आमा सामान्य अर्थमा भनुँ भने मलाई यो ‘लक डाउन’ ले पनि समस्या छैन। तर समस्या छ भने ‘क्वारेन्टिन’ ले, ‘आइसोलेसन’ ले। हो मेरी आमा मलाई ‘क्वारेन्टिन’ले एकदम डर लाग्छ। ममाथिको समाजरुपी ‘लक डाउन’ भन्दा ‘क्वारेन्टिन’ मा कैद हुने मेरो आफ्नो भन्ने घरको डर लाग्छ। ममाथि अहिले शारिरीक रुपमा अत्याचार त भा’को छैन अरुको तुलनामा, खाने लाउने समस्या त छैन मलाई तर पनि… । पहिला सानी थिएँ- १८/१९ वर्ष कि जब बिहे भयो। धेरै बुझ्दैन थिएँ। बिहेको एकदिन पहिलासम्म कलेज, ट्युसन र एफएम धाउने केटी म। सिउँदोमा सिन्दुर पर्नेबितिकै म बुद्धिमान हुने कुरा त थिएन। सिन्दुरले जादु गरेर ममा ज्ञान भरेको भए हुन्थ्यो नि। जस्तो कि हाम्रो समाजमा भनिन्छ- ए अब त घरव्यवहार सम्हाल तिम्रो बिहे भइसक्यो। र तिमी तब मात्रै यो समाजका लागि राम्रो कहलिन्छौ श्रीमान्‌को सम्पूर्ण सेवामा तिमी समर्पित हुन्छौ। यसमा उमेरले केही फरक पर्दैन ।

तिमी १५ वर्षकि छौ कि २५- त्यो हाम्रो मुद्दा हैन। हो यस्तै हो नि यहाँको चलन। म पनि अलिअलि त्यस्तै रंगमा रंगिन थालेकी थिएँ। जसले मलाई चितदुखाइ बाहेक केही दिएन। म अब ठुली भएँ मलाई चुप्प लागेर बस्न मन लाग्दैन अब तर पनि केही हदसम्म आफ्नो कुरा राख्दा….. समस्या हुन्छ यहाँ। हो अनि अझै अरु कुराको पनि डर लाग्छ।

हो आमा, तपाईँकी यी छोरी ‘क्वारेन्टिन’ बस्न एकदम डराउँछिन्। तपाईँ यो कुरा किन बुझ्नु हुन्न? म तपाईँको सामु यो सब भन्न सक्दिन, रिसाउनु हुन्छ कि भन्ने डरले, फोनमा भन्दिन, रिसले फोन काट्नु हुन्छ भन्ने डरले। तर आमा म साँच्चिकै ‘क्वारेन्टिन’ मा छु। जहाँ खाना दिन्छ, पानी दिन्छ, केही कुरा जो मेरो अति आवश्यकताको कुरा छ.. र जो उहाँहरुको हितमा छ त्यो गर्न आजादी पनि छ। तर त्यही ४ वटा पर्खालभित्र मात्रै। मैले मेरो मनको, इच्छ्याएको केही गर्न सक्दिन आमा। जस्तो म छु, त्यस्तो यहाँ छैन आमा। अब हजुर नै भन्नुस्- ‘क्वारेन्टिन’ मा मान्छे कति दिनसम्म बाँच्न सक्छ? कोभिड १९ संक्रमितको शंका लागेमा मान्छे १४ दिनसम्म ‘क्वारेन्टिन’ झेल्नुपर्दा त ऊ दिक्क हुन्छ। मैले यो जीवनभरि कसरी झेल्नु? आमा म सकिरहेको छैन। आमा मसँग हुँदै हुँदैन। आइ एम सरी आमा। म, अभिमानको, स्वाभिमानको, महत्वाकांक्षाको, संस्कारहीन, चरित्रहीन, घमण्डी चरित्रको स्वभावबाट परिचित कोरोना संक्रमित भएर समाजले बनाउने ‘आइसोलेसन’ मा जान तयार छु। तर यो ‘क्वारेन्टिन’ बस्न सक्दिन। सक्दिन आमा… सक्दिन।

आमा हुन सक्छ तपाईँलाई मेरो यो चिठ्टीले चित दुख्ला। तर आमा एउटा कुरा विचार गर्नुहोला। मैले माया र सकारात्मक सहयोगको बाटो पाएको भए म आफैँ हजुरकहाँ आउने, यो ‘क्वारेन्टिन’ बाट निस्कने जिद्दी गर्दैनथेँ तपाईँसामु। धेरै नभए पनि, सबैको नजरमा नआए पनि यो समाजको दायरालाई मैले पनि स्वीकारेकी छु, अँगालेकी र अझैसम्म यसमै बाँचेकी पनि छु। नियम तोडेकी छैन। बस देखावटीबाट अलिक टाढा छु। मलाई विवश नबनाई दिनुस्।

मेरी प्यारी आमा संसार २१ औँ शताब्दीमा छ। अब पनि त्यो नकारात्मक सोच राखेका (हामीप्रति) कोरोना सहितको यो समाजबाट बाहिर निस्किनु भएन भने हामीजस्ता हजुरको यो छोरी ‘क्वारेन्टिनमा’ निस्सासिएर ज्यान दिन्छन्। मेरी आमाले कुरा बुझ्ने छिन् भने आशा र विश्वास छ।

हजुरको आशिर्वाद र माया रह्यो भने तपाईँकी यी छोरीले नकारात्मक सोच राखेका कयौँ संक्रमितलाई ठीक गर्न सक्छिन् भने पीडित आत्मालाई यो ‘क्वारेन्टिन’ बाट निकाल्न सक्छिन्। लव यु आमा!

असोज २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्